Logo

प्याराग्लाइडिङ स्थगित हुँदा पर्यटन क्षेत्र प्रभावित

पोखरा– विगत डेढ वर्षदेखि प्याराग्लाइडिङको सोलो (एकल) उडान स्थगित हुँदा पर्यटन क्षेत्र प्रभावित भएको छ । २०७९ असोज ३० गते नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्याराग्लाइडिङ उडानमा त्रिभुवन आर्मी क्लबका खेलाडी निसिम थापाको मृत्यु भएसँगै उक्त खेल स्थगित भएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले स्थगित उडान सञ्चालनमा अनुमति नदिँदा पर्यटन क्षेत्रमा ठूलो असर परेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । पोखराको निश्चित स्थानमा निश्चित समयमा उडान गर्न दिनुपर्छ भन्ने मागसहित आफूहरूले क्यानदेखि प्रधानमन्त्री समक्ष सोलो उडानलाई पुनः सुचारु गर्न अनुरोध गरेको उनको भनाइ छ । तर, हालसम्म उक्त माग सम्बोधन नभएको पनि श्रेष्ठले बताए ।

प्याराग्लाइडिङ दुर्घटनामा परी खेलाडीको मुत्यु भए पश्चात प्राधिकरणको बैठकले देशैभरी प्याराग्लाइडिङ उडान केही समय बन्द गराएको थियो । यात्रुसहित वा व्यावसायिक उडानको लागि भने क्यानले केही समयपछि खुल्ला गरेको थियो । विश्वकै उत्कृष्ट १० मध्ये एकमा पर्ने पोखरामा सोलो प्याराग्लाइडिङ उडान रोक्नुले पोखरा क्षेत्रको पर्यटनसँगै राजस्व संकलनमा समेत असर परेको नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनिस भट्टराईले बताए ।

पोखरामा पर्यटनको सिजन तथा अफ् सिजनमा समेत सोलो प्याराग्लाइडिङ उडानले पर्यटकलाई आकषर्ण गर्दै आएको थियो । विना अध्ययन र अनुसन्धान दुर्घटनाको विषयलाई लिएर उडान बन्द गर्नु उचित निर्णय नभएको उनको भनाइ छ । पोखरा र यस क्षेत्रमा प्याराग्लाइडिङको सोलो उडानबाट सुरु भई यस खेलको प्रि वल्र्ड कप र वल्र्ड कप नै सम्पन्न भएकोले यसलाई विश्वका सोलो प्याराग्लाइडिङ गर्न चाहने खेलाडीहरूको लागि निश्चित मापदण्ड बनाएर खुला गर्नु पर्ने अध्यक्ष भट्टराईको माग छ ।

विगत २ दशकदेखि सञ्चालन हुँदै आएको खुला नेपाल प्याराग्लाइडिङ प्रतियोगिता समेत सोलो उडान स्थगित हुँदा हुन नसकेको उनले बताए । पोखरामा प्याराग्लाइडिङ व्यवसाय प्रवर्द्धन गर्न केही वर्षअघि तत्कालिन अवस्थामा ७ देखि १२ हजारको प्याराग्लाइडिङ प्याकेज रहेको थियो । पोखरामा अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै अघिल्लो वर्ष २०७९ पुष १७ देखि पोखरा १८ को सराङकोट तथा तोरीपानीबाट स्थान्तरण भई पोखरा २४ को मान्द्रेढुंगामा सरेको थियो ।

केही महिनाअघि देखि सराङकोटको तोरीपानी बहाकोटबाट पुनः प्याराग्लाइडिङ सुरु भएको प्याराग्लाइडिङ पाइलट शर्मिला शर्माले बताइन् । मान्द्रेढुंगासहित तोरीपानीबाट समेत प्याराग्लाइडिङ गर्न पाउँदा यसले पछिल्लो समयमा थोरै मात्रमा पर्यटक प्रवद्र्धन हुन थालेको उनको भनाइ छ । पोखरामा करिब ४ सय जना व्यावसायिक प्याराग्लाइडिङ पाइलट २ सयभन्दा बढी सोलो पाइलट र ५८ कम्पनीहरू रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्