११ वटा ट्राभल एजेन्सी कारबाहीमा
भैरहवा– बिना अनुमति पर्यटन सेवा सम्बन्धि सेवा दिँदै आएको रुपन्देहीका ११ वटा ट्राभल एजेन्सी कारबाहीमा परेका छन् । जिल्ला अनुगमन समिति भैरहवाको अनुगमन टोलीले रुपन्देहीको बुटवलमा सञ्चालित ११ वटा ट्राभल एजेन्सीलाई नगद जरिवानासहित कारवाही गरेको हो ।
ती संस्थाले दर्ता, नविकरण र शाखा सञ्चालन अनुमति नलिएको अनुगमनका क्रममा पाइएपछि कारबाही गरिएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी तथा अनुगमन समिति संयोजक रामचन्द्र अर्यालले बताए । बिहीबार समितिले बुटवल उपमहानगरपालिका–९ मा रहेका १४ वटा ट्राभल एजेन्सी अनुगमन गरेको थियो । जसमध्ये ३ वटाले संस्था सञ्चालनको प्रक्रिया पूरा गरेपनि बाँकी ११ वटा भने मापदण्डअनुसार नपाइएपछि जरिवानासहित कारबाही गरिएको अर्यालले बताए ।
कारबाहीमा परेका ट्राभल एजेन्सीहरु दर्ता बिनै सञ्चालन गरिएको, कपिलवस्तु र रुपन्देहीका विभिन्न ठाउँमा प्रधान कार्यालय खोलेर शाखा सञ्चालन गरिए पनि अनुमति नलिएको, नविकरण नगरी सञ्चालन गरिएको अनुगमन समितिको दावी छ । समितिले सरकारी निकायबाट लिनुपर्ने इजाजतपत्र नलिई सञ्चालनमा रहेका ११ वटै ट्राभल एजेन्सीलाई कारवाहीस्वरुप जनही २० हजारका दरले दुई लाख २० हजार जरिवाना तिराएको पर्यटन डिभिजन कार्यालय रुपन्देही प्रमुख गीता आचार्यले बताइन् ।
अधिकांश एजेन्सीले भारतका विभिन्न स्थानमा बस सेवा सञ्चालन गर्ने गरेका छन् । ‘प्रदेश पर्यटन ऐन, २०७६ तथा नियमावली, २०७९ को परिच्छेद ३ को दफा ११ मा ट्राभल एजेन्सी वा ट्रेकिङ एजेन्सी खोल्नुपूर्व अनुमति लिनपर्ने व्यवस्था छ । अनुमति बिनै सञ्चालनमा ल्याए २० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था छ । यही व्यवस्थाका आधारमा दर्ताबिनै सञ्चालनमा रहेका र नविकरण नगरेका ट्राभल एजेन्सीलाई जरिवानासहित कारवाही गरिएको हो’ आचार्यले भनिन् ।
उपभोक्ता हित संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड (ट) ले जिल्ला प्रशासनलाई ५० हजार रुपैयाँसम्म जरिवाना गर्नसक्ने व्यवस्था छ । तर, अहिले बजारको सुस्ताएको आर्थिक अवस्था हेरेर प्रदेश पर्यटन ऐन अनुसार कारबाही गरिएको हो । अनुगमन गरिएका ट्राभललाई तत्काल बन्द गर्न लगाई सबै निकायबाट इजाजत लिएपछि मात्रै सञ्चालन गर्न निर्देशन गरिएको छ । कारबाहीमा परेका ट्राभलको पुनः अनुगमन गरिने आचार्यले बताइन् ।
उनका अनुसार मापदण्ड पूरा नगरी सञ्चालनमा रहेको भन्दै कार्यालयमा ट्राभलबारे जनमानसबाट गुनासो आउने गरेका छन् । त्यस्ता गुनासा कार्यालयले सम्बोधन गरी मापदण्ड पालना नगर्ने व्यवसायीलाई कारबाही गर्दै आएको छ । अनुगमनका क्रममा धेरै शाखा सञ्चालनको अनुमतीबिना र केही ट्राभल नविकरणबिनै सञ्चालन गरेको पाइएपछि त्यस्ता ट्राभल एजेन्सीलाई एक महिनाभित्र आवश्यक सबै निकायमा दर्ता र नविकरण गरी जिल्ला प्रशासन वा पर्यटन डिभिजन कार्यालयमा जानकारी गराउन निर्देशन दिइएको छ ।
समितिले गत चैतमा भैरहवाका १६ वटा ट्राभलको अनुगमन गरी ३ वटालाई कारबाही गरेको थियो । खासगरी दर्ताविनै सञ्चालित ट्राभलले सर्वसाधरणलाई ठग्ने गरेको गुनासा आउने गरेका छन् । यसबारे कानुन अनुसार सञ्चालित ट्राभलले पनि गुनासो गर्दै आएका छन् । पछिल्लो समय अनुगमन समितिले ट्राभललाई कडाई गर्दै आएको छ । जिल्लामा दर्तावाला ट्राभल २५० को हाराहारीमा छन् । तर, त्यसमध्ये एक सयको हाराहारीमा रहेका ट्राभलले नविकरण नै गरेका छैनन् ।