Logo

पत्रकारलाई जीवन निर्वाह भत्ताको व्यवस्था

सार्वजनिक संस्थाहरु नाफामा गएका छन्ः प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल आयल निगम, नेपाल वायुसेवा निगम, नेपाल विद्युत प्राधिकरणलगायतका सार्वजनिक संस्थाहरु नाफामा गएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा नेपाल पत्रकार महासंघको २७औँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले नेपालमा पर्यटक आगमनको उल्लेख्य वृद्धि भएको बताए । उनले हालै सम्पन्न लगानी सम्मेलनमा उत्साहवर्द्धक रुपमा विदेशी लगानीकर्ताहरुको सहभागिताले फेरि नेपाललाई विकासको गति दिने आधार तय भएको उल्लेख गरे ।

उनले आफूले नेतृत्व सम्हाल्दै गर्दा देशको आर्थिक स्थिति र अहिलेको देशको आर्थिक स्थितिमा धेरै सुधार भएको जिकिर गरे । उनले शोधनान्तर स्थिति, वैदेशिक मुद्राको सञ्चिति, विप्रेषण, आय, राजश्व संकलनमा सुधार जस्ता कारणले अर्थतन्त्रका सूचकहरु बिस्तारै सकारात्मक दिशातिर अघि बढेको बताए ।

उनले वित्तीय नीति र मौद्रिक नीतिमा एकरुपता ल्याइ लगानीको वातावरण सिर्जना गरिएको, बैंकको ब्याजदर घटाइएको र लघुवित्त र सहकारीका समस्या समाधानको पहल गरिएको बताए । उनले सार्वजनिक संस्था र संस्थान व्यवस्थापना सुधार सुरु गरिएको बताए । प्रधानमन्त्री दाहालले मिडिया सम्बन्धी कानून निर्माणको प्रक्रियालाई सरकारले प्राथमिकतामा राखेको बताए ।

उनले सरकारले सञ्चार क्षेत्रको व्यवसायिक र संस्थागत विकासका लागि मिडियालाई राष्ट्रिय सेवामुलक उद्योग सरह मान्यता प्रदान गरी संरक्षण र सम्वर्द्धन गर्ने नीति लिएको बताए । यस्तै, उनले ज्येष्ठ पत्रकार, अपाङ्गता भएका पत्रकारलाई जीवन निर्वाह भत्ताको व्यवस्था गर्न लागेको जानकारी दिए । उनले प्रेस स्वतन्त्रतामाथि कुनैपनि किसिमको नियन्त्रण वा अंकुश हुन नदिने प्रतिवद्धता पनि जनाए ।

प्रधानमन्त्री दाहालले नेपालको प्रेस जगत सधैँ परिवर्तनको पक्षमा उभिने गरेको उल्लेख गर्दै कतिपय आन्दोलनमा प्रत्यक्ष सरिक र कतिपय एजेण्डामा प्रेस जगतले ऐक्यवद्धता व्यक्त गर्दै आएको बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना एवं समाजको रुपान्तरण र जनताको अधिकार प्राप्तिका निम्ति नेपाली प्रेस जगतले महत्वपूर्ण योगदान गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्