उदाउँदो सूर्यलाई अर्घ दिएर सकियो छठ

उदाउँदो सूर्यलाई अर्घ दिई छठ सम्पन्न भएको छ । शनिबार अस्ताउँदो सूर्यलाई अर्घ दिएका व्रतालुहरुले आइतबार उदाउँदो सूर्यलाई जलसहित अर्घ अर्पण गरेका थिए ।
व्रतालुहरूले जलासयमा गएर दुवै हत्केलामा पिठार र सिन्दुर लगाई अक्षता, फूल लिई आफ्नो खेतबारीमा उपादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवान सूर्यलाई अर्घको रुपमा अर्पण गर्दछन् ।
अर्घको रुपमा ठकुवा, भुसवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी र विभिन्न वनस्पति, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैंटो सूर्यलाई अर्पण गर्ने चलन छ ।
भैरहवा क्षेत्रमा छठको बिदाइ
अस्ताउदो सूर्यलाई अर्घ दिई छठ मनाइएको छ । चार दिनसम्म मनाइने यो पर्व उदाउँदो सूर्यलाई अर्घ दिएपछि सकिन्छ ।
तराई मधेशका समुदायले मात्रै मनाउँदै आएको यो पर्वमा पछिल्लो केही वर्षदेखि पहाडी मूलका बासिन्दा पनि सहभागी भई सँगै पूजामा बस्ने, छठ पर्व मनाउने, तयारीमा जुट्ने गर्न थालेका छन् ।
रुपन्देहीको भैरहवा, बेलहिया, शान्तिनगर, बेथरी, मर्चवार, धकधई, बुटवल, लुम्बिनी लगायतका स्थानमा यो पर्व मनाइएको छ ।
पोखरामा पनि धुमधामका साथ मनाइयो
यस वर्षको छठ पर्व पोखरामा पनि धुमधामका साथ मनाइएको छ । पोखराको रिठ्ठाघाट, त्रिवेणी धाम, सेतीनदी दोभान, कालिखोला, फेवाताल किनार (केदारेश्वर महादेव मणि मन्दिर) परिसर र नारायणथान मन्दिरमा धुमधामका साथ यस वर्षको छठ पर्व मनाइएको छठ पूजा समितिहरुले जनाएका छन् ।
आइतबार उदाउँदो सूर्यलाई अर्घ दिएसँगै यस वर्षको छठ पर्वलाई बिदाई गरेका छन् । सूर्यका भक्तहरुलाई छठ पर्वको अवसरमा पोखरामै सहज ढंगबाट पूजा गर्ने वातावरण सृजना गर्न पोखराका मुख्य तीन ठाउँमा छठ पूजा समितिले सजिसजावट सहितको रातिको समयमा बस्न चाहाने भक्तजनहरुलाई समेत व्यवस्था मिलाएका थिए ।