Logo

ठोरी छोटी भन्सारबाट भारतीय सवारीलाई पास सुविधा

वीरगन्ज– पर्साको ठोरी–२ अमृतधारास्थित छोटी भन्सार कार्यालयबाट भारतीय सवारी साधनको लागि अस्थायी अनुमति सुविधा दिइने भएको छ । पर्साको पश्चिममा रहेको अन्तिम सीमाना ठोरीस्थित छोटी भन्सार कार्यालयमा कर्मचारी अभाव हुँदा सवारी पास उपलब्ध हुन सकेको थिएन् । करिब ६ वर्षअघि भवन निर्माण सम्पन्न भए पनि कर्मचारी नहुँदा छोटी भन्सार कार्यालय बन्द रहेको थियो ।

बुधबार भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले उद्घाटन गरेर पुनः सञ्चालनमा ल्याएकी हुन् । सञ्चालनमा आएसँगै भारतीय सवारी सधानको अस्थायी अनुमति पास पनि त्यहीबाट दिन लागिएको हो । भन्सार कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले भन्सार कार्यालयलाई महानगरका तर्फबाट गर्नुपर्ने सबैं सहयोग रहने प्रतिबद्धता व्यक्त गरिन् ।

बागमती प्रदेश सभा सदस्य ठाकुरप्रसाद ढकालले छोटी भन्सारको निरन्तरताको निमित्त ठोरीका जनप्रतिनिधि र स्थानीयको महत्वपूर्ण भूमिका रहने बताए । भन्सार विभाग प्रमुख ढुण्डिराज निरौलाले छोटी भन्सारको दिगोपनाको निमित्त स्थानीय जनप्रतिनिधि, स्थानीयवासीले साथ दिनुपर्ने धारणा राखे । उनले व्यापारिक प्रयोजनका लागि ल्याइने १० हजार रुपैयाँसम्मको सामानको भन्सार छोटी भन्सारबाट नै हुने र भारतीय सवारी साधनको अस्थायी अनुमति दिने सुविधा सुरु भएको बताए ।

हुलाकी सडक नबन्दा ठोरीसम्म पुग्ने यातायातको समस्या हुने गरेको थियो । अहिले हुलाकी सडक निर्माणपछि यातायातको सहज सुविधा भएको छ । ठोरी र चितवनको सीमानासँगै रहेको ठोरी छोटी भन्सार सञ्चालन नहुँदा सामान लैजान चितवनका व्यवसायीहरुले वीरगन्ज भन्सार कार्यालयमा आएर भन्सार काट्नुपर्ने बाध्यता थियो । भन्सार सञ्चालनको लामो समयदेखि ठोरी र चितवन क्षेत्रका व्यवसायीहरुले माग गर्दै आएका थिए ।

भारतबाट खाद्यान्न, लत्ताकपडालगायतका सामान ठोरी भएर आउने गरेको भए पनि भन्सार नहुँदा स्थानीयवासीलाई समस्या हुने गरेको थियो । भन्सार कार्यालय पुनः सञ्चालनमा आएपछि राजस्व चुहावट पनि रोकिने आशा गरिएको छ । ठोरी भएर प्रवेश गर्ने भारतीय सवारी साधनलाई भन्सार पास काट्न वीरगन्ज नै पुग्नुपर्ने बाध्यता पनि हटेको छ ।

प्रतिक्रिया दिनुहोस्