Logo

बुद्धजयन्ती मनाउन लुम्बिनीमा परेन बजेट

बुटवल– संघीय सरकारले बुद्धजयन्ती मनाउन लुम्बिनीमा बजेट विनियोजन गरेको छैन । सरकारले प्रत्येक वर्ष बजेट विनियोजन गर्ने गथ्र्यो । वार्षिक रूपमा १ देखि ४ करोड रुपैयाँसम्म बुद्धजयन्तीका लागि बजेट छुट्याउने गरिएको भए पनि चालु आर्थिक वर्षमा बजेट परेको छैन । बजेट कटौती भएपछि बुद्धजयन्तीको तयारीमा समेत ढिलाइ भएको छ ।

वैशाख शुक्ल पूर्णिमाको दिन मनाइने बुद्धजयन्ती तथा लुम्बिनी दिवस आगामी जेठ १० गते परेको छ । बजेट अभावका कारण २५६८ औं बुद्धजयन्तीको तयारी समेत अगाडि बढ्न सकेको छैन । विगतमा बुद्धजयन्तीलाई उत्सवका साथ भव्य तरिकाले मनाउने गरिए पनि यो वर्ष संघीय सरकारले बजेट कटौती गर्दा भव्य रूपमा मनाउने चुनौती देखिएको लुम्बिनी विकास कोषका योजना प्रमुख स्मिता भट्टले बताइन् ।

कोषका तर्फबाट बुद्धजयन्ती मनाउने तयारी सुरु भएको तर भव्य बनाउन कठिन हुने उनको भनाइ छ । कोषले प्रशासनिक र अन्य विकासका कामहरू समेत पर्यटकहरूको दान एवं प्रवेश शुल्कको टिकटबाट प्राप्त हुने आम्दानीबाट गर्दै आएको छ । २०७९ सालमा २५६६ औं बुद्धजयन्ती भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा मनाइएको थियो । त्यतिखेर संघीय सरकारले ३ करोड बढी बजेट छुट्याएको थियो । अघिल्लो वर्ष राम्रै कार्यक्रम आयोजना भएको थियो । यो वर्ष बजेट अभावमा लुम्बिनीमा तयारी देखिँदैन ।

लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले बुद्धजयन्तीलाई सरकारले राष्ट्रिय पर्वका रुपमा मनाउनुपर्नेमा त्यसो हुन नसकेको बताए । बुद्धजयन्ती एक दिनका लागि मात्र नभइ एक हप्तासम्म कार्यक्रम गरेर मनाउनुपर्छ । लुम्बिनीमा बुद्ध जन्मेको हो भनेर छाप छोड्ने गरी मनाउनुपर्नेमा त्यस्तो हुन नसकेको उनको भनाइ छ । विश्वभरका बौद्धधर्मालम्बीहरूलाई बुद्धजयन्तीमा लुम्बिनी आउने वातावरणका लागि पनि पर्याप्त बजेट छुट्याएर लुम्बिनीमा भव्य कार्यक्रम गर्नुपर्ने ज्ञवालीको भनाइ छ ।

बुद्धजयन्तीमा विदेशी पाहुनाहरू आउँदा त्यसले स्थानीय होटल व्यवसायीहरूलाई पनि चलायमान बनाउने उनको भनाइ छ । बुद्धजन्मस्थल लुम्बिनी आएका तीर्थालुहरूले समेत बुद्धजयन्ती तथा लुम्बिनी दिवसको कुनै तयारी नदेखेको बताएका छन् । पक्लिहवा कृषि क्याम्पस भैरहवामा अध्ययनरत दाङका नरेश उपाध्यायले बुद्ध जन्मजयन्तीमा विश्वभरका बौद्धमार्गीहरूलाई लुम्बिनी आउने वातावरण बनाउनुपर्ने सुझाव दिए ।

‘केही वर्षअघि भारतका प्रधानमन्त्री मोदी आएर बुद्धजयन्ती मनाइएको थियो । अब पनि त्यस्तै अन्तर्राष्ट्रिय उच्च ओहादाका व्यक्ति, विदेशी कूटनीतिक निकायका प्रतिनिधि एवं विश्वभरका बुद्धिष्टहरूलाई ल्याउन सके त्यसले लुम्बिनीलाई थप उचाइमा पुर्‍याउने छ,’ उनले भने । जेठ १० गतेको बुद्धजयन्तीका लागि कोषले बजेट अभावकै कारण मूल आयोजक समिति गठन गर्ने वाहेक अन्य तयारी गरेको छैन । कोषले बुद्धजयन्तीका लागि ५६८ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ ।

बुद्धपूर्णिमालाई नेपालसहित बौद्ध राष्ट्रहरू भुटान, थाइल्याण्ड, म्यानमार, मंगोलिया, कम्बोडिया, श्रीलंका र लाओसमा राजकीय सम्मानका साथ मनाइने गरिएको छ । यस्तै नेपालसहित चीन भारत युरोपलगायतका देशमा सम्मानको साथ मनाउने गरिएको छ । गौतम बुद्धको जन्मभूमि नेपाल रहेकाले यहाँ बुद्धजयन्तीलाई विशेष उत्सव र नेपालको पर्वका रूपमा मनाउनुपर्ने सारोकारवालाहरूको माग छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिका–३ का वडाअध्यक्ष अकरामुद्दिन नाउ मुसलमानले सरकारले बुद्धजयन्तीमा स्थानीयहरूलाई समेत जोडेर राष्ट्रिय उत्सवका रूपमा मनाउनुपर्ने बताए । उनले बुद्धजयन्तीलाई बुद्धका सन्देशहरू र दर्शन बुझ्ने र लुम्बिनीको प्रचार विश्वव्यापी बनाउने गरी मनाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्