Logo

बुद्ध जयन्तीमा याङ्जाकोटमा मेला

पोखरा– कास्कीको मादी गाउँपालिका–३ याङ्जाकोटमा बुद्ध जयन्ती मेला लाग्ने भएको छ । याङ्जाकोट मिलन युवा क्लबको आयोजनामा जेठको दोस्रो हप्तामा मेला गर्न लागिएको आयोजकले जनाएको छ ।

२५६८औं बुद्ध जयन्तीको अवसरमा जेठ ८ देखि १० गतेसम्म मेला आयोजना गर्न लागिएको क्लबका अध्यक्ष योगेन्द्र गुरुङले जानकारी दिए । याङ्जाकोटको पर्यटन प्रवर्द्धन, संस्कृति संरक्षण र युवालाई खेलकुदमार्फत रचनात्मक कार्यमा लगाउने उद्देश्यले मेला आयोजना गर्न लागिएको उनले बताए । मेलामा विभिन्न खेलकुद गतिविधिसहित सांस्कृतिक कार्यक्रम समावेश गरिएको उनले सुनाए ।

‘२५६८औं बुद्ध जयन्तीको अवसरमा वैशाख पूर्णिमा मेला आयोजना गर्न लागेका हौं’ उनले भने, ‘मेलाले मादी गाउँपालिका र याङ्जाकोटको पर्यटन क्षेत्रमा सहयोग पुग्ने आशा राखेका छौं ।’ उनका अनुसार मेलामा सांस्कृतिक कार्यक्रम, ठेलो, भलिबल, कुर्सी खेललगायत प्रतियोगिता हुनेछ । प्रतियोगिताका विजयी खेलाडीलाई नगद पुरस्कार दिने आयोजकले जनाएको छ ।

मेलामा हेर्न जाने पाहुनालाई खान बस्नका लागि याङ्जाकोटको होमस्टे र होटलमा सहजै व्यवस्थापन गर्न सकिने अध्यक्ष गुरुङले बताए । उनले भने, ‘हाम्रा ११ वटा होमस्टे र २ होटल छन् । महोत्सवभर अझ बढी पाहुना आएपनि हामी व्यवस्थापन गर्छौं ।’

प्रतिक्रिया दिनुहोस्