ब्रान्चलेस बैंकिङ : शाखा बढ्दै, सेवाग्राही घट्दै «

ब्रान्चलेस बैंकिङ : शाखा बढ्दै, सेवाग्राही घट्दै

बैंक तथा वित्तीय संस्थाहरुको शाखा रहित (ब्रान्चलेस) बैंकिङ सेवा बृद्धिको तुलनामा सेवाग्राही भने घट्न थालेका छन् । बैंकहरुले प्रतिस्पर्धी रुपमा सुरु गरेका शाखारहित बैंकिङ केन्द्रबाट सेवा लिनेबारे सर्वसाधारण आकर्षित नहुँदा यसबाट सेवा लिनेको संख्या बढ्न नसकेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार २०७३ सालमा प्रति शाखारहित बैंकिङ केन्द्रबाट प्रतिकेन्द्र २६२ जना ग्राहकहरुले सेवा लिएकोमा २०७६ सम्म आइपुग्दा सेवा लिनेको संख्या प्रतिकेन्द्र ११० जनामा झरेको छ । शाखारहित बैंकिङ सेवा केन्द्र विस्तारको तुलनामा ग्राहकको संख्या बढ्न नसकेको हो ।
२०७३ सालमा बैंकहरुले ८१२ वटा शाखारहित सेवा केन्द्र स्थापना गरेका थिए । २०७६ सम्म आइपुग्दा यस्तो केन्द्रको संख्या बढेर एक हजार ५३० वटा पुगिसकेको छ । २०७३ सालमै शाखारहित बैकिङबाट सेवा लिनेको संख्या २ लाख १३ हजार रहेकोमा हाल एक लाख ६७ हजारमा झरेको छ ।
राष्ट्र बैंकले २०६६ मा शाखारहित बैंकिङ सेवाको अवधारणा ल्याएपछि वाणिज्य बैंकहरुले ०६८ सालदेखि सेवा सुरु गरेका थिए । बैंकहरुबीच कसले धेरै ठाउँमा सेवा सुरु गर्ने भन्ने प्रतिस्पर्धाका कारण छोटो समयमै धेरै शाखारहित सेवा सुरु भए । तर, यसलाई दिगो रुपमा सञ्चालन गर्ने सम्बन्धित बैंक र राष्ट्र बैंकले चासो नलिदा यसप्रति सर्वसाधारणको चासो बढ्न नसकेको बताइएको छ ।
शाखारहित बैंकिङ सेवाको सुरुवाती दिनहरुमा बैंकहरुले आफुखुशी विस्तार गरेपनि पछिल्लो समयमा यसका लागि दातृ निकायको सहयोगका कारण यसको विस्तार ह्वात्तै बढीरहेको छ । बेलायती सहयोग नियोगको सहयोगमा सञ्चालित सक्षम परियोजनाले शाखारहित बैंकिङ सेवा विस्तारका लागि गत वर्षदेखि सहयोग गर्न थालेको छ ।
परियोजनाको सहयोगमा भूकम्प प्रभावित १४ जिल्ला र सुदुर र मध्यपश्चिमाञ्चलमा शाखारहित बैंकिङ सेवा विस्तार भइरहेको छ । पछिल्लो एक वर्षमा मात्र परियोजनाको आर्थिक सहयोगमा ४५५ वटा भन्दा बढी ठाउँमा शाखारहित बैंकिङ सेवा विस्तार भइसकेको छ । भूकम्प प्रभावित र दुर्गम ठाउँमा सेवा सञ्चालनका लागि हाल परियोजनाले बैंकको लागतमा ५० प्रतिशत सहयोग गर्दै आएको छ । उक्त सहयोग बन्द भएपछि शाखारहित बैंकिङ सेवा सञ्चालन गर्न समस्या हुने बैकरहरु नै बताउँछन् ।
यसैगरी पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाका शाखा नै विस्तार हुन थालेपनि शाखारहित बैंकिङ सेवामा आकर्षण घट्दै गएको हो । बैंकको शाखा नभएका स्थानमा सरल तथा सहजरुपमा वित्तीय पहुँच पु¥याउनका लागि राष्ट्र बैंकले शाखारहित बैंकिङ सेवा ल्याइएको थियो । यो सेवाअन्तर्गत बैंक सेवा नपुगेको स्थानमा बैंकका तर्फबाट स्थानीय व्यापारी वा सेवाग्राहीलाई अभिकर्ताको रूपमा सम्झौता गरिन्छ । अभिकर्ताले बैंकले उपलब्ध गराएको मेसिनमार्फत स्थानीयलाई खाता खोल्ने, रकम जम्मा गर्ने, झिक्ने, रेमिट्यान्स भुक्तानी र स–सानो ऋण लगानीलगायतका सेवा दिन्छन् ।
राष्ट्र बैंकको निर्देशन अनुसार ‘क’ वर्गका वाणिज्य बैंक र ‘ख’ वर्गका विकास बैंकले शाखारहित बैंकिङ सेवा सञ्चालन गर्न पाउछन् । तर, हालसम्म बाणिज्य बैंकहरुले मात्र यस्तो सेवा दिइरहेका छन् । बैंक÷वित्तीय संस्थाले महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाबाहेक शाखा नभएका क्षेत्रमा शाखारहित सेवा विस्तार गर्न पाउने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्