Logo

सैघामा बल्यो बिजुली

दाङ– घोराही उपमहानगरपालिका–१९ सैघा बोल्दी निवासी रामबहादुर खत्री अहिले घरमा विद्युतबाट बत्ती बाल्न पाउँदा खुसी छन् । केही समयअघि गाउँमा विद्युतको बत्ती पुगेपछि उनले घरमा बत्ती बाल्न पाएका हुन् । घरमा विद्युतबाट बत्ती बाल्न पाउँदा रातको समयमा काम गर्न समेत सहज भएको उनी बताउँछन् । ‘विद्युत वाट बत्ती बाल्न पाउँदा धेरै सहज भएको छ,’ उनले भने ।

विद्युतको लाइन नपुग्दा सोलार बाट बत्ती बाल्नु पर्ने बाध्यता रहेको थियो । घाम नलाग्दा बत्ती बाल्नसमेत समस्या हुने गरेको थियो । जसले गर्दा अध्यारोमा बस्नुपर्ने बाध्यता रहेको थियो । विद्युत लाइन नपुग्दा मोबाइल चार्ज गर्नसमेत समस्या हुने गरेको उनले बताए । अहिले बालबालिकालाई साँझको समयमा पढन, लेख्न सहज भएको खत्रीले बताए । ‘साँझको समयमा घरको काम गर्नसमेत सजिलो भएको छ,’ उनले भने ।

उपमहानगरपालिकाबासी हुँदासमेत विद्युतबाट वञ्चित हुँदा धेरै समस्या भोग्नु परेको पीडा उनले भुलिसकेका छैनन् । गाउँमा बत्ती बाल्न नपाउँदा घोराही बजारको उज्यालो हेरेर चित बुझाउनु पर्ने बाध्यता रहेको थियो । अहिले गाउँ नै उज्यालो भएको उनको भनाइ छ । सैघा ठुलीचौर निवासी टेकमान पुन घरमा विद्युतबाट बत्ती बाल्न पाउँदा सहज भएको बताउँछन् । बत्ती नपुग्दा समस्या भोगेर बस्नुपर्ने बाध्यता रहेको उनी बताउँछन् । ‘कहिले विद्युतबाट बत्ती बाल्न पाउँला भन्ने आशा थियो अहिले बल्ल पूरा भएको छ,’ उनले भने ।

सोलारबाट मोबाइल चार्ज गर्नसमेत समस्या भएका कारण गाउँसम्म पुगेर मोबाइल चार्ज गर्नुपर्ने बाध्यता रहेको उनले बताए । सोलार नहुनेहरू टुकी बालेर उज्यालोमा बस्ने गरेको उनी बताउँछन् । ‘घरमा सोलार नहुने अरुको घरमा पुगेर मोबाइल चार्ज गर्नुपर्ने बाध्यता थियो । अहिले समस्याको समाधान भएको छ,’ उनले भने । सानो क्षमताको सोलार राख्नेलाई समेत मोबाइल चार्ज गर्नसमेत समस्या हुने गरेको उनले बताए ।

अहिले विद्युतको बत्ती जडान भएपछि सहज रूपमा घरौ मोबाइल चार्ज गर्न पाइको उनको भनाइ छ । यी उदाहरणीय पात्रमात्र हुन् धेरै सैघावासी टुकी तथा सोलारको उज्यालोमा बस्नुपर्ने बाध्यताबाट मुक्त हुँदै जान थालेका छन् । पहाडी क्षेत्र भएकाले सहज यातायातको सुविधा पनि पुग्न सकेको छैन । उपमहानगरपालिकाको विकट क्षेत्र रहेको सैघामा प्राथमिकता दिएर विकास गर्नुपर्ने भए पनि त्यसअनुसारको कार्य हुन भने सकेको छैन ।

वडाको सबै स्थानमा विद्युत पुर्‍याएर बत्ती बाल्ने काम अन्तिम चरणमा पुगेको घोराही उपमहानगरपालिका–१९ का वडाध्यक्ष ज्ञानबहादुर रायमाझीले जानकारी दिए । ‘वडाका सबै नागरिकलाई विद्युतको सुविधा प्रदान गर्नका लागि हामी लागिपरेका छौं,’ अध्यक्ष रायमाझीले भने । अहिले करिब ७५ प्रतिशत घरमा बत्ती पुर्‍याइसकेको उनको भनाइ छ । ‘बाँकी रहेका घरधुरीमा छिट्टै विद्युत पुर्‍याइने छ,’ अध्यक्ष रायमाझीले भने । वडा नं १९ मा करिब १२ सय घरधुरी छन् ।

जसमा आठ सय घरधुरीमा विद्युतीय सेवा पुगिसकेको छ भने चार सय परिवारमा पुर्‍याउन बाँकी रहेको अध्यक्ष रायमाझी बताउँछन् । केही स्थानमा तार तानी सकिएको छ भने केही स्थानमा काम गर्नका लागि ठेकेदार सम्पर्कमा नआउँदा समस्या भएको अध्यक्ष रायमाझीको भनाइ छ । आफू निर्वाचित भएदेखि विद्युत सेवा पुर्‍याउनका लागि प्राथमिकता दिएर अगाडि बढेको उनी बताउँछन् । सैघामा विद्युत सेवा पुर्‍याउनका लागि २०७९ सालदेखि सुरु गरेको उनले बताए ।

यसका लागि तीन३ करोड ५० लाखको योजना निर्माण गरेर अगाडि बढेको उनको भनाइ छ । पाँच सयवटा पोल र सातवटा ट्रास्फर्मर राखेर विद्युत पुर्‍याउने काम भइरहेको छ । ‘मैले चुनावी घोषणापत्रमा समेत विद्युत पुर्‍याउने उल्लेख गरेको थिएँ त्यसैअनुसार अगाडि बढेको हुँ,’ उनले भने । यस आर्थिक वर्षभित्र वडाका सबै स्थानमा विद्युत पुर्‍याउने लक्ष्यका साथ काम भइरहेको उनले बताए । विद्युत सबै क्षेत्रमा पुगेपछि अरु कामलाई पनि अगाडि बढाइने उनी बताउँछन् । सबैको सहयोगमा नै काम गर्न सहज भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्