पूर्वाधार अभावले गिडिदह ओझलमा

जुम्ला– कर्णालीको नयाँ पर्यटकीय गन्तव्यका रुपमा रहेको जुम्लाको गिडिदह पूर्वाधार अभावमा ओझलमा परेको छ । नयाँ गन्तव्य भएकोले धेरै आन्तरिक तथा बाह्य पर्यटकले आउने चाहना व्यक्त गरे पनि पूर्वाधार निर्माण नहुँदा पर्यटकहरु आउन सकेका छैनन् ।
कर्णाली राजमार्गअन्तर्गत एैरेनीबाट २९ किलोमिटर दुरीमा रहेको उक्त दहमा पुग्न भौगोलिक कठिनाइ छ । यद्यपि, पालिकाको लगानीमा हाल गिडिदह जाने २७ सय मिटर पदमार्ग निर्माण गरिएको छ । ठाउँ–ठाउँमा आउन–जान लाग्ने समयसहितको बोर्ड समेत राखिएको छ । यत्तिले मात्रै पर्यटक आकार्षित हुने अवस्था नरहेको स्थानीयले बताएका छन् ।
पर्यटक भित्र्याउन हाँकु पक्की पुल निर्माण, पाण्डवाडा गिडिखोला नदीमा बेलिब्रिज निर्माण, एैरेनीेदेखि भलखोला, फूलचौले, लामाचौरसम्म सडक निर्माण, गिडिदह निकासी क्षेत्रमा पूल निर्माण, पाटन क्षेत्रमा स्वच्छ खानेपानीको व्यवस्थापन, प्रतीक्षालय, सुविधायुक्त धर्मशाला निर्माण, सहज फोन तथा इन्टरनेटको व्यवस्था गर्न टावर निर्माण तथा गिडिदह भ्युटावर निर्माणलगायतका पर्यटन पूर्वाधार निर्माण गर्न आवश्यक रहेको तातोपानी गाउँपालिका–४ का वडाध्यक्ष अमरबहादुर रोकायाले बताए ।
उनले नापजाँच सार्वजानिक गरी व्यापक प्रचार– प्रसार गरेर प्रर्वद्धन गरे पनि पर्यटक भित्र्याउन पूर्वाधार चाहिने भएकोले जुम्लाका सबै निकाय लगानी जुटाउनेतर्फ लाग्नु पर्नेमा उनले जोड दिए । पूर्व पशुपन्छी राज्यमन्त्री गोमा कुँवरले गिडिदह कर्णालीकै उत्कृष्ट पर्यटन गन्तव्य भएकोले पूर्वाधार विकासमा सबैले सहकार्य गर्नुपर्ने उल्लेख गरिन् । आगामी आवको बजेटमा संघ प्रदेशबाट बजेट ल्याउने गरी साँझा पहल गर्नुपर्ने उनको भनाइ छ ।
पूर्वाधार अभावकै कारण जुम्लाका थुप्रै पर्यटन गन्तव्य ओझेलमा परेकोले गिडिदहको प्रर्वद्धनका लागि साँझा पहल कदमी गर्नुपर्नेमा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले जोड दिए । तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले गुमनाम गिडिदहलाई विश्व सामु चिनाउन, जिल्लाको आर्थिक समृद्धिमा टेवा पुर्याउन आवश्यक पूर्वाधार निर्माण आवश्यक रहेको बताए । उनका अनुसार हाल गाउँपालिकाले लगानीमा सडक निर्माण, पदमार्ग निर्माण, सूचना बोर्ड राख्नेलगायतका काम भइरहेको छ ।
गिडिदह तातोपानीको मात्र नभइ जिल्लाकै सम्पत्ति र आर्थिक समृद्दिको आधार भएकोले गिडिदहको संरक्षण र प्रर्वद्धनमा हातेमालो गर्न आह्वान गरे । प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले विश्वका धनी राष्ट्रहरूको आम्दानीको मुख्य स्रोतनै पर्यटन क्षेत्र भएकोले नेपालको आर्थिक विकासका लागि पर्यटन क्षेत्रमा पर्याप्त लगानी जरुरी रहेको बताए । गिडिदहसँगै त्यस क्षेत्रमा जडीबुटी, वन्यजन्तु, पाटन क्षेत्रलगायतको सम्भावना राम्रो भएकोले जुम्लाका आठै पालिकाले प्रचार प्रसारसँगै पर्यटन प्रर्वद्धनमा लगानी गर्नुपर्नेमा जोड दिए ।
गिडिदहको क्षेत्रफल सार्वजनिक
कर्णालीको नयाँ पर्यटकीय गन्तव्य गिडिदहको नापजाँच अध्यायन प्रतिवेदन सार्वजानिक गरिएको छ । जुम्लाको तातोपानी गाउँपालिका–४ गिडिखोला गाँउको सिरानमा अवस्थित नयाँ पर्यटन गन्तव्य गिडिदहको नापजाँच तथा अध्यायन प्रतिवेदन हालै सार्वजानिक गरिएको हो । काठमाडौं विश्वविद्यालयका उपप्रध्यापक रामदेवी तचामो शाहले अध्ययन प्रतिवेदन सार्वजानिक गरेकी हुन् ।
विश्वविद्यालयको टोलीले ९ दिन दिन लगाएर गिडिदहको लम्बाइ, चौडाइ, गहिराइ, जीव जनावर, रुखविरुवा, क्षेत्रफललगायतका पक्षको अध्ययन गरेको थियो । अध्ययन प्रतिवेदन अनुसार गिडिदहको सानो र ठूलो दहको गरी कुल लम्बाई १५१० मिटर रहेको छ । जसमा ठूलो दहको लम्बाई १०६० मिटर, चौडाइ ३१० मिटर, गहिराई ४३.३ मिटर रहेको काठमाडौं विश्वविद्यालयका उपप्रध्यापक शाहले जानकारी दिइन् । त्यस्तै गिडिदहकै सानो दहको लम्बाइ ४५० मिटर, चौडाइ २१० मिटर र गहिराइ २१.३ मिटर रहेको छ ।
समग्र गिडिदह क्षेत्र २९.११ हेक्टर क्षेत्रफलमा फैलिएको छ । राष्ट्रिय महत्व बोकेका १८ प्रकारका चरा, ७ वटा स्तनधारी जनावर, ७४ वटा चराचुरुगी रहेका छन् । गिडिदह उचाइका हिसाबले कर्णालीको दोस्रो तालको रूपमा रहेको छ । पहिलो से–फोक्सुडो र तेस्रो रारा ताल पर्छन् । गिडिदहमा जानु हुन्न,अझ महिला गएपछि फर्किदैनन् भन्ने अन्धविश्वास कम हुँदै गएको छ ।
तातोपानी–४ को आयोजनामा पहिलो पटक २०७९ साल असार ४ देखि ६ गतेसम्म ८४ जनाको सरकारी टोली गिडिदह पुगेको तातोपानी–४ का वडाध्यक्ष अम्मरबहादुर रोकायाले बताए । उनका अनुसार समुद्री सतहदेखि ३४८५ मिटर उचाइमा अवस्थित गिडिदहको छेउमै गिडिदह सम्मेलन गरी गिडिदह घोषणापत्र समेत सार्वजनिक गरिएको हो । कर्णाली राजमार्ग हाँकुबाट गिडिदहसम्मको दुरी २९ किमी रहेको छ ।
यो दुरीमा फूलचौल्या, बाइस पाटनलगायतका पर्यटन क्षेत्र पर्छ । गिडिदह सम्मेलनको घोषणापत्रमा दहको नापजाँचलाई प्राथमिकता दिने उल्लेख भए अनुसार कुल १५ लाख लगानीमा नापजाँच गरी प्रतिवेदन सार्वजनिक गरिएको तातोपानीका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले बताए । राष्ट्रिय ताल संरक्षण समितिको पाँच लाख र गाउँपालिकाको १० लाख गरी १५ लाख लगानीमा नापजाँच गरिएको उनको भनाइ छ ।