Logo

वैशाख तेस्रो साता रियल इस्टेट कन्फ्रेन्स

काठमाडौं– दुई दिने नेपाल रियल इस्टेट कन्फ्रेन्स वैशाख २३ देखि आयोजना हुने भएको छ । नेपाल जग्गा तथा आवास विकास महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै वैशाख २३ र २४ गते कन्फ्रेन्स आयोजना गर्न लागिएको जानकारी दिएको हो । नेपाल इन्स्टिच्युट अफ अर्बन एण्ड रिजनल स्टडिज (निअर्स)सँगको सहकार्यमा आयोजना हुने सो कन्फ्रेन्समा घरजग्गासँग सम्बन्धित विदेशी वक्तासहित करिब २ सय जना सहभागी रहने महासंघले जनाएको छ ।

सम्मेलनका संयोजक ओमराज भण्डारीले घरजग्गाको कारोबार शिथिल भएको अवस्थामा व्यवसायीहरूले अन्तर्राष्ट्रिय अनुभवहरू साटासाट गर्ने उद्देश्यसहित सम्मेलन गर्ने तयारी गरेको बताए । सम्मेलनमा ‘विश्व परिदृश्यमा रियल इस्टेटको अवस्था र नेपालले लिनुपर्ने कार्यदिशा’ बारेमा स्वदेशी तथा विदेशी विज्ञ तथा सहभागीबीच खुला छलफल हुने बताइएको छ । भण्डारीले भने,‘प्राप्त अवसरहरुलाई कसरी उपयोग गर्ने सकिन्छ भन्ने बारेमा रियल इस्टेट क्षेत्रमा ख्याति प्राप्त विदेशी विज्ञहरुको अनुभव र सुझाव प्राप्त हुने विश्वास छ ।’

साथै, सरकारका सम्बन्धित मन्त्रालय, विभाग, नेपाल राष्ट्र बैंक, वाणिज्य बैंकसँग पनि अन्तक्र्रिया हुने उनको भनाइ छ । जसबाट रियल इस्टेट क्षेत्रको विकासका लागि नीति निर्माता, प्रशासक र व्यवसायीको भूमिका, अन्तरसम्बन्ध र सहकार्यबारे प्रस्ट कार्यदिशा तयार गर्न सहयोग पुग्ने विश्वास आयोजकको छ । घरजग्गा कारोबार गरी अकुत सम्पत्ति कमाउने र सोको कतै अभिलेख नरहने अहिलेको परिपाटीले समाजमा भ्रष्टाचार र अनियमितता बढाइरहेको महासंघ अध्यक्ष भेषराज लोहनीले बताए ।

नेपालको सन्दर्भमा घरजग्गा व्यवसाय कति महत्वपूर्ण छ भन्ने कुरा घरजग्गाको कारोबार घट्ने वित्तिकै सरकारको राजस्व घटेको समग्र अर्थतन्त्रमा मन्दी आउने गरेकोबाट प्रमाणित भएको लोहनीको भनाइ छ । कन्फ्रेन्समा नेपालको घरजग्गा क्षेत्र र यसले आर्थिक वृद्धिमा पुर्‍याउन सक्ने रणनीतिसहित विभिन्न विषयहरुमा मन्थन हुनेछ । नेपालको घरजग्गा बजारमा विदेशी लगानीका लागि अपनाउनुपर्ने रणनीति, सफल रूपमा घरजग्गा एजेन्सी र एजेन्ट सञ्चालनसम्बन्धी सत्रमा छलफल हुने महासंघले जनाएको छ ।

कन्फ्रेन्समा सिंगापुरले सहरी विकासमा गरेको प्रगति र त्यसको मास्टर प्लानको विषयमा विदेशी वक्ताले सेसन सञ्चालन गर्ने कार्य तालिका छ । सम्पत्ति मूल्यांकन र घरजग्गा क्षेत्रमा लगानी विस्तारको सम्भावनाका विषयमा समेत छलफल हुने महासंघले जनाएको छ । महासंघले आयोजना गर्ने सम्मेलनले घरजग्गा क्षेत्रमा अहिले देखिएको संकटलाई समाधान उन्मुख दिशामा डोे¥याउन र लगानीका लागि आत्मबल बढाउन समेत सहयोग पुग्ने महासंघको अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस्