राष्ट्र बैंकको अनुमतिबिना कारोबार गर्ने ८ पक्राउ

नेपाल राष्ट्र बैंक र सहकारी विभागबाट वित्तीय कारोबारको स्वीकृति नलिई सर्वसाधारणबाट बचतका नाममा रकम असुली गर्ने ८ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईवी)ले मोरङ र सुनसरीका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ओपन इन्भेष्टमेन्ट प्रालि इटहरीका ४० वर्षीय भीमप्रसाद चौधरी र ५० वर्षीय श्याम पेशकार थारु छन् । उनीहरुले स्थानीयबाट अनधिकृत रुपमा स्थानीय जनताबाट अवैधानिक रुपमा संकलन गरेको बचत रकम २ करोड ३९ लाख ४७ हजार ६ सय ६० रुपैयाँ संकलन गरेका थिए । त्यसैगरी हलेसी इन्भेष्टमेन्ट प्रालिको नाममा रकम असुल्ने संखुवासभा बाला गाउँपालिकाका ३१ वर्षीय चन्द्रबहादुर विक र २८ वर्षीया अनिता विक रहेका छन् । उनीहरुले ६ करोड ९९ लाख ८० हजार ७ सय ३७ रुपैयाँ असुलेका थिए । त्यस्तै मन्सुन इन्भेष्टमेन्ट प्रालि इटहरीका सञ्चालक ३४ वर्षीय सुनिल गुरागाईंलाई पनि व्यूरोले पक्राउ गरेको छ । इन्भेस्टमेन्टको उक्त शाखाबाट सर्वसाधारणको ५० लाख रुपैयाँ संकलन गरिएको थियो । यसैगरी छिन्ताङ इन्भेष्टमेन्ट प्रालि इटहरीबाटै सुनसरी इटहरीका २८ वर्षीय डिल्लीप्रसाद आचार्य र ३५ वर्षीय प्रकाश आचार्य पक्राउ परेका छन् । उक्त प्रालिबाट रकम संकलन नभएको व्यूरोले जनाएको छ । त्यस्तै चौतारी इन्भेष्टमेन्ट प्रालि विराटनगरका २७ वर्षीय राजु साह पक्राउ परेका छन् । साहसँगै जनताबाट अवैधानिक रुपमा ८ लाख ६१ हजार २ सय ७४ रुपैयाँ संकलन गरिएको खुलेको छ । पक्राउ परेका अभियुक्तहरुले कम्पनीमार्फत अवैधानिक रुपमा वचत संकलन तथा ऋण प्रवाह गर्ने गरेको, बढी ब्याज दिने प्रलोभन देखाई बचत संकल्न गरेको र बचतलाई २४ प्रतिशत भन्दा बढी ब्याज असुल गरी ऋण प्रवाह गरेको पनि खुलेको छ । यो गिरोहले कार्यालय नै स्थापना नगरी झोलाबाट कार्यालय सञ्चालन गरेको पनि व्यूरोले जनाएाके छ । अहिलेसम्म यो संस्थाको आवरणमा पक्राउ परेका व्यक्तिले ९ करोड ९७ लाख ७९ हजार ६ सय ७१ रुपैयाँ संकलन गरेको देखिएपनि अझै बढ्न सक्ने व्यूरोले जनाएको छ । आरोपित सबैलाई बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ विपरितको अभियोगमा मुद्दा दर्ता गरिने व्यूरोले जनाएको छ ।