कुश्मा बजारमा खानेपानी अभाव

पर्वत– खडेरीका कारण पानीका स्रोतहरूमै पानीको सतह घट्दा पर्वत सदरमुकाम कुश्मा बजारमा पानीको अभाव सुरू भएको छ । शिवालय खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामार्फत् पानी वितरणका लागि प्रयोगमा रहेका ट्यांकीमा अहिले प्रतिसेकेन्ड ३३ लिटरका दरले पानी खसिरहेको छ ।
जबकि मागअनुसार पानीको आपूर्ति दिने हो भने कुश्मा बजारमा जडान भएका करिब दुई हजार ६ सय धारामार्फत् पानी बाँड्न संस्थाको ट्यांकीमा प्रतिसेकेन्ड ६० लिटरका दरले पानी खस्नुपर्छ । खडेरी परेपछि अहिले कुश्माका लागि प्रति २४ घण्टामा भएको २८ लाख ५१ हजार दुई सय लिटर पानीको आपूर्ति भइरहेको छ ।
तर बजारको मागअनुसार पानी छाड्ने हो भने प्रत्येक २४ घण्टामा ५१ लाख ८४ हजार लिटर पानी संस्थाको ट्यांकीमा खसेको हुनुपर्ने संस्थाका अध्यक्ष रविकुमार श्रेष्ठले बताए । आकाशे वर्षा भएको भए तरकारी खेतीका लागि पानी नचाहिँदा संस्थाले अहिलेकै आपूर्तिबाट पनि सकेसम्म मिलाएर बाँड्न सक्ने उनको भनाइ छ ।
‘यो बेलामा आकाशे वर्षा भएको भए तरकारी वा अन्य घर बाहिरको प्रयोजनका लागि चाहिने पानीको आपूर्ति हामीले गर्नुपर्ने थिएन । घरभित्रको लागि मात्रै त संस्थाले दिने पानीले जसोतसो हुन्थ्यो होला,’ उनले भने, ‘घरभित्रका लागि नै पानी नपुगेको बेलामा केहीले यही पानीलाई तरकारीमा लगाउनुभएको छ । कोहीले वितरित धारामा मोटर जोडेर अरूको आवश्यकतामा ध्यान नदिएको पाइएको छ ।’
अहिले कुश्मामा मोदी गाउँपालिकाको पाती खोलाबाट १६ लिटर, कुश्मा नगरपालिकास्थित खुर्कोटको क्यादी खोलाबाट सात लिटर, फाप्रे खोला लिफ्टिङबाट पाँच लिटर र डिप बोरिङबाट पाँच लिटर प्रति सेकेन्डका दरमा पानी आइरहेको छ । लिफ्टीङ र बोरिङको आपूर्ति सधैँ एकैनास हुने भए पनि क्यादी खोलाको मुहानबाट भने सधैँ एकैनासको पानी आउँदैन ।
अब बर्खा लागेपछि प्रतिसेकेन्ड ३५ लिटरसम्म पानी आउने क्यादी खोला अहिले सात लिटरमा पुगेको छ । पानीको आपूर्तिमा नै समस्या भएपछि मंगलबारदेखि लागू हुने गरेर संस्थाले बजारका विभिन्न क्षेत्रमा पालोअनुसार पानीको वितरण गर्न पानीको अभाव सुरू गरेको छ । कुश्मा बजारका विभिन्न भागलाई ६ भागमा बाँडेर तीमध्येका तीन वटामा बिहानको समय र तीन वटामा बेलुकाको समयमा मात्रै आपूर्ति व्यवस्था मिलाइएको अध्यक्ष श्रेष्ठले बताए ।
गर्मी तथा खडेरीकै बेलामा पानीको आपूर्ति माग बढी हुने भए पनि यही बेलामा पानीको समस्या झेल्नुपर्दा बजारको बसाइ कठिन रहेको बजारबासी बताउँछन् । दैनिक उपभोग्य तथा नियमित क्रियाकलापको लागि नै पानीको अभाव भइरहेको बेलामा स–साना क्षेत्र तथा कौसी खेतीका रूपमा लगाइएका तरकारी बालीसमेत सुक्न थालेका छन् । केही समय पहिले सामान्य वर्षा भएको भए पनि पछिल्ला दिनमा बढिरहेको तापक्रमका कारण जनजीवन कष्टपूर्ण बनेकै बेला पानी अभावले अवस्था झनै कठिन बनेको उपभोक्ताको दुःखेसो छ ।