Logo

६ सय घरपरिवारलाई विद्युतीय चुल्हो वितरण

पर्वत– पर्वतको फलेवास नगरपालिका–२ थापाठानाका ६ सय घरपरिवारलाई विद्युतीय चुल्हो (इन्डक्सन) वितरण गरिएको छ । प्रदुषणरहित भान्छा, र धुवाँरहित गाउँघरको विकासका लागि रोटरी क्लब अफ पोखरा फिस्टेलको सहयोगमा वडाका सबै घरधुरीलाई विद्युतीय चुल्हो वितरण गरिएको हो । थापाठानामा सात सय घरधुरी छन् ।

तीमध्ये झण्डै एक सय घरधुरी बसाइँसराइ लगायतका कारणले खाली छन् । मानिसको नियमित बसोबास रहेका सबै घरपरिवारलाई एक/एक थान इन्डक्सन चुल्हो वितरण गरिएको फलेवास नगरपालिका–२ थापाठानाका वडाध्यक्ष गंगानारायण श्रेष्ठले जानकारी दिए । ग्रामीण सामुदायिक विद्युतीकरण उपभोक्ता समितिको आयोजनामा भएको कार्यक्रमका बीच रोटरी क्लब अफ पोखरा फिस्टेललगायतका संस्थाको सहयोगमा विद्युतीय चुल्हो वितरण गरिएको हो ।

सबै घरधुरीलाई विद्युतीय चुल्हो वितरण गरिएसँगै वडा नं. २ लाई प्रदूषणमुक्त भान्छासहितको वडा घोषणा गरिएको छ । सामाजिक सेवामा सक्रिय रोटरी क्लबले विविध शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा काम गर्ने सिलसिलामा पर्वतको थापाठाना गाउँमा विद्युतीय चुल्हो वितरण गरेको रोटरी क्लब अफ पोखरा फिस्टेलका डिष्ट्रिक गभर्नर नोमिनी विनोद कोइरालाले जानकारी दिए । विभिन्न पाँच चरणमा विद्युतीय चुलो वितरण गरेको उनले बताए ।

चुल्होसँगै यसमा प्रयोग गर्न मिल्ने भाँडा पनि वितरण गरिएको हो । चुल्होसहित अन्य भान्छामा प्रयोग हुने सामग्रीसहित प्रतिपरिवारलाई १० हजार बराबरको सामान वितरण गरिएको कोइरालाले बताए । झण्डै ६० लाख मूल्य बराबरको लागतमा चुल्होसहितका सामग्री वितरण गरिएको हो । यो वडामा रहेका सात सय घर परिवारमध्ये त्यहाँ निरन्तर बसोबास गर्ने ६ सय जनालाई प्राथमिकतामा पारेर चुलो वितरण गरिएको उनको भनाइ छ ।

यो चुल्होको प्रयोगले गृहिणीको स्वास्थ्य अवस्थामा सुधार आउनुका साथै गाउँ पनि पूर्णरूपमा स्वच्छ हुने अपेक्षा गरिएको छ । त्यसैगरी बढ्दो वन विनास रोकिनुका साथै विद्युतको खपतसमेत बढ्ने भएको छ । चुल्हो वितरण कार्यक्रमसँगै वडा नं. २ लाई प्रदूषणमुक्त घोषणा गर्दै फलेवास नगरपालिकाका नगरप्रमुख गंगाधर तिवारीले वडालाई प्रदूषणमुक्त वडा घोषणा गर्न सहयोग गरेकोमा रोटरी क्लब अफ पोखरा फिस्टेललगायतका दाताको प्रशंसा गरे ।

उनले चुल्हो वितरण भएपछि अब गाउँ प्रदूषणमुक्त हुने र खासगरी भान्छाको काम गर्ने महिलाको स्वास्थ्य राम्रो हुँदै जाने विश्वास व्यक्त गरे । आफूले पाएको चुल्होलाई भरपुर रूपमा प्रयोग गर्नसमेत उनको आग्रह छ । ग्रामीण सामुदायिक विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष रामहरि श्रेष्ठले प्रदूषणमुक्त समाजको स्थापना गर्नका लागि रोटरी क्लबले थालेको अभियानमा सहयोग गर्न आग्रह गरे ।

उनले विद्युतीय चुल्होको भरपुर उपभोग गर्न आग्रह गरे । प्रसिद्ध धार्मिक एवम् पर्यटकीयस्थल डहरेदेउरालीको काखमा रहेको थापाठानामा सञ्चालित होमस्टे सेवासमेत प्रभावकारी बन्दै गएको छ । स्वच्छ र हराभरा वातावरणले होमस्टेमा आउने पाहुनाको आकर्षणसमेत बढ्ने भएकाले विद्युतीय चुल्होले थप टेवा पुग्ने फलेवास नगरपालिकाका उपप्रमुख शोभाकुमारी क्षेत्रीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्