Logo

अर्थतन्त्रको आकार ५७ खर्ब पुग्दै

उपभोक्ता मूल्यमा वार्षिक आर्थिक वृद्धिदर

काठमाडौं– चालु आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब ४ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ । यो उपभोक्ता मूल्यमा मापन गर्दा निस्केको अर्थतन्त्रको आकार हो । आधारभूत मूल्यमा अर्थतन्त्रको आकार ५० खर्ब ५० अर्ब रुपैयाँ पुग्ने देखिएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार प्रकाशित गरेको विवरणअनुसार गत आवमा अर्थतन्त्रको आकार ५३ खर्ब ४८ अर्ब रुपैयाँ रहने संशोधित अनुमान छ । यसैगरी आव २०७८–७९ मा अर्थतन्त्रको आकार ४९ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको छ । यो अन्तिम विवरण हो ।

तथ्यांक कार्यालयका अनुसार उपभोक्ता मूल्यबाट गणना गर्दा यो वर्ष अर्थतन्त्रको विस्तार ३.८७ प्रतिशतले हुने अनुमान गरिएको छ भने आधारभूत मूल्यमा यसको विस्तार ३.५४ प्रतिशतले हुने अनुमान छ । यस्तै, उपभोक्ता मूल्यमा आर्थिक वृद्धिदर गत वर्ष १.९५ प्रतिशत हुने संशोधित अनुमान छ भने त्यसअघिको आव २०७८–७९ मा ५.६३ प्रतिशत भएको देखिएको छ । यो अन्तिम अनुमान हो ।

यसैगरी आधारभूत मूल्यबाट अर्थतन्त्रको विस्तारलाई हेर्दा गत आवमा २.३१ प्रतिशत हुने संशोधित अनुमान छ । आव २०७८–७९ मा ५.२८ प्रतिशतले अर्थतन्त्र विस्तार भएको देखिएको छ । कार्यालयले आर्थिक वृद्धिदरको यो अनुमान आर्थिक वर्ष २०६७–६८ को आधारभूत मूल्यमा आधारित रहेर गरेको हो ।

नेपालमा पहिलो पटक आर्थिक वर्ष २०१८–१९ मा राष्ट्रिय लेखा अनुमान तयार गरिएको थियो । त्यसपछि यसलाई नियमित रूपमा अनुमान प्रकाशन गर्ने काम २०२१–२२ देखि हुँदै आएको छ । पछिल्लो समय तथ्यांक कार्यालयले तीन आर्थिक वर्षका तथ्यांकलाई समेटेर विवरण सार्वजनिक गर्दै आएको छ । यसअन्तर्गत पछिल्लो तीन वर्षे तथ्यांकको विवरण अन्तिम हुन्छ भने त्यसपछिको वर्षको संशोधित अनुमान र चालु वर्षको अनुमान हुने गर्छ ।

कार्यालयका अनुसार चालु आर्थिक वर्षको विवरण तयार गर्दा ६ देखि ९ महिनासम्मका वास्तविक आँकडा प्रयोग गरिएको छ । बाँकी अवधिका लागि कार्यालयले प्रयोग गर्ने विधि अपनाएर वार्षिक अनुमान तयार गरिएको हो । कार्यालयका अनुसार चालु आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धिदर ३.०५ प्रतिशत र गैरकृषि क्षेत्रको ३.७५ प्रतिशत हुने अनुमान छ । गत आवमा भने कृषि क्षेत्रको वृद्धिदर २.७६ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर २.१३ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ ।

यसैगरी आर्थिक वर्ष २०७८–७९ मा कृषि क्षेत्रको वृद्धिदर २.३५ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर ६.५४ प्रतिशत कायम भएको देखिएको छ । कार्यालयले समग्र औद्योगिक क्षेत्रलाई प्राथमिक क्षेत्र, द्वितीय क्षेत्र र सेवा क्षेत्र गरी प्रमुख तीन समूहमा विभाजन गरेर अध्ययन गर्दै आएको छ । त्यसअनुसार चालु आवमा प्राथमिक क्षेत्रको वृद्धिदर ३.०३ प्रतिशत हुने अनुमान छ भने द्वितीय क्षेत्रको वृद्धिदर १.२० प्रतिशतमा खुम्चिने अनुमान छ । यस्तै सेवा क्षेत्रको आकार भने ४.५० प्रतिशतले बढ्ने अनुमान कार्यालयको छ ।

गत आवको संशोधित विवरणअनुसार यी तीनै प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रको वृद्धिदर क्रमशः २.७२ प्रतिशत, १.४० प्रतिशत र २.३६ प्रतिशत रहने अनुमान छ । त्यसअघिको वर्षको अन्तिम विवरणअनुसार प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रको वृद्धिदर क्रमशः २.५० प्रतिशत, १०.७९ प्रतिशत र ५.३२ प्रतिशत कायम भएको छ ।

चालु आवमा प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा क्रमशः २४.६ प्रतिशत, १२.५ प्रतिशत र ६२.९ प्रतिशत योगदान दिने अनुमान छ । गत वर्ष यस्तो योगदान क्रमशः २४.४ प्रतिशत, १३.१ प्रतिशत र ६२.५ प्रतिशत हुने संशोधित अनुमान गरिएको छ ।

यसैगरी, आव २०७८–७९ मा प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रको योगदान क्रमशः २५.० प्रतिशत, १३.७ प्रतिशत र ६१.३ प्रतिशत रहेको छ । यो तथ्यांकअनुसार कुल गार्हस्थ्य उत्पादनमा प्राथमिक क्षेत्र र सेवा क्षेत्रको योगदान गत आवको तुलनामा केही बढेको देखिन्छ भने द्वितीय क्षेत्रको योगदानमा घटेको छ । कार्यालयले वस्तु तथा सेवा उत्पादनका क्रियाकलापलाई १८ मुख्य क्रियाकलापमा वर्गीकरण गरेर विवरण तयार पारेको छ ।

कृषि, वन तथा मत्स्य
चालु आवमा यो क्षेत्रको कुल मूल्य अभिवृद्धि वार्षिक वृद्धिदर ३.०५ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । धानलगायत वर्षे बालीको उत्पादनमा भएको वृद्धि, दलहन, तरकारी तथा नगदे बालीमा भएको वृद्धि तथा पशुपक्षीजन्य उत्पादन (दूध, अण्डा, माछा तथा मासु) मा भएको वृद्धिले यो क्षेत्रको मूल्य अभिवृद्धिमा सुधार हुने अनुमान गरिएको हो । गत आवमा यस क्षेत्रको वृद्धिदर २.७६ प्रतिशत रहने संशोधित अनुमान छ भने त्यसअघिको आवमा यस क्षेत्रको वृद्धिदर २.३५ प्रतिशत देखिएको छ ।

खानी तथा उत्खनन्
खानी तथा उत्खनन् क्षेत्रको चालु आवको कुल मूल्य अभिवृद्धि वृद्धिदर २.३१ प्रतिशत हुने अनुमान छ । निर्माण क्षेत्रमा सामान्य गिरावट भए पनि खानी तथा उत्खनन् क्षेत्रको रोयल्टी संकलनमा गत वर्षको तुलनामा सुधार भएको छ । यही कारण यस क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदरमा चालु आवमा सुधार हुने अनुमान गरिएको हो ।
आव २०७९–८० मा यस क्षेत्रको वृद्धिदर ०.९८ प्रतिशत रहने संशोधित अनुमान छ भने आव २०७८–७९ मा ८.८४ प्रतिशत भएको छ ।

उद्योग
चालु आवमा उद्योग क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर ऋणात्मक (–१.६०प्रतिशत) हुने प्रारम्भिक अनुमान छ । निर्माण तथा व्यापार क्षेत्रमा सुधार हुन नसक्दा वस्तु तथा सेवाको समग्र मागमा कमी आएका कारण उत्पादनमूलक उद्योग पूर्ण क्षमतामा चल्न सकेका छैनन् । यही कारण यो क्षेत्रको वृद्धिदर ऋणात्मक हुने अनुमान गरिएको हो ।

यसका साथै पछिल्लो समयमा अर्थतन्त्रमा सिर्जित विभिन्न प्रतिकूल कारणले विश्वव्यापी रूपमा अर्थतन्त्रमा सुधार आउन नसकेको अवस्थामा नेपाली उद्योगको उत्पादनमा समेत संकुचन देखा पर्ने अनुमान गरिएको हो । गत आवमा पनि यस क्षेत्रको वृद्धिदर ऋणात्मक (–१.९८ प्रतिशत) रहने संशोधित अनुमान छ । आव २०७८–७९ मा भने यस क्षेत्रको वृद्धिदर ६.७० प्रतिशत भएको छ ।

विद्युत, ग्यास, वाष्प तथा वातानुकूलित आपूर्ति सेवा
चालु आवमा यो क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर १७.४४ प्रतिशत हुने प्रारम्भिक अनुमान छ । केही विद्युत परियोजनाको उत्पादन थप भएसँगै चालु आर्थिक वर्षमा यस क्षेत्रको मूल्य अभिवृद्धि उल्लेख्य रूपमा वृद्धि हुने अनुमान गरिएको हो । गत आवमा यस क्षेत्रको वृद्धिदर १९.८९ प्रतिशत रहने संशोधित अनुमान छ भने आव २०७८–७९ मा यो क्षेत्रको वृद्धिदर ५२.६८ प्रतिशत देखिएको छ ।

पानी आपूर्ति, ढल, फोहोर व्यवस्थापन तथा पुनःउत्पादनका क्रियाकलाप
चालु आवमा यो क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर २.८० प्रतिशत हुने अनुमान छ । पानीको मागमा भएको क्रमिक वृद्धिसँगै पानी आपूर्ति गर्ने संस्थाहरूको उत्पादनमा भएको वृद्धि र सो सँगसँगै अन्य क्रियाकलापको उत्पादन समेत बढेका कारण यस क्षेत्रको मूल्य अभिवृद्धिमा सामान्य वृद्धि हुने अनुमान गरिएको हो । गत आवमा यो क्षेत्रको वृद्धिदर ३.२५ प्रतिशत रहने संशोधित अनुमान छ भने आव २०७८–७९ मा वृद्धिदर ३.०८ प्रतिशत भएको छ ।

निर्माण
चालु आवमा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर ऋणात्मक (–२.०७ प्रतिशत) हुने अनुमान छ । निर्माण सामग्रीको आयातमा आएको कमी, निर्माण सामग्रीको स्वदेशी उत्पादनमा भएको कमी जस्ता कारणले चालु आवमा यो क्षेत्रको मूल्य अभिवृद्धिमा संकुचन हुने अनुमान गरिएको हो । गत आवमा यो क्षेत्रको वृद्धिदर ऋणात्मक (–१.१० प्रतिशत) रहने संशोधित अनुमान छ भने आव २०७८–७९ मा वृद्धिदर ६.९३ प्रतिशत भएको छ ।

थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत सेवा
चालु आर्थिक वर्षमा यो क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर ०.१६ प्रतिशत हुने अनुमान छ । चालु आर्थिक वर्षमा व्यापारजन्य वस्तुको आयात तथा आन्तरिक उत्पादनमा आएको गिरावटले यो क्षेत्रको मूल्य अभिवृद्धि नगण्य रूपमा वृद्धि हुने अनुमान गरिएको हो । गत आवमा यो क्षेत्रको वृद्धिदर ऋणात्मक (–३.०२ प्रतिशत) रहने संशोधित अनुमान छ । आव २०७८–७९ मा भने यो क्षेत्रको वृद्धिदर ७.४२ प्रतिशत देखिएको छ ।

यातायात तथा भण्डारण
चालु आवमा यो क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर ११.८९ प्रतिशत हुने प्रारम्भिक अनुमान छ । गत आवको तुलनामा यो वर्ष सवारी साधनको आयातमा र पर्यटक आवागमनमा भएको वृद्धिले यस क्षेत्रको मूल्य अभिवृद्धिमा सुधार हुने अनुमान गरिएको हो । गत आवमा यो क्षेत्रको वृद्धिदर १.४५ प्रतिशत रहने संशोधित अनुमान छ भने आव २०७८–७९ मा वृद्धिदर ४.६० प्रतिशत देखिएको छ ।

आवास तथा भोजन सेवा
चालु वर्ष यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर २१.८४ प्रतिशत हुने प्रारम्भिक अनुमान छ । विदेशी पर्यटक बढेको, आन्तरिक पर्यटनमा भएको वृद्धि जस्ता कारणले यो क्षेत्रको मूल्य अभिवृद्धिमा सुधार हुने अनुमान गरिएको हो । गत आवमा यो क्षेत्रको वृद्धिदर १८.०३ प्रतिशत रहने संशोधित अनुमान छ । आव २०७८–७९ मा भने यस क्षेत्रको वृद्धिदर १२.५६ प्रतिशत देखिएको छ ।

सूचना तथा सञ्चार
यो वर्ष यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर ४.९१ प्रतिशत हुने प्रारम्भिक अनुमान छ । यो वर्ष कम्प्युटर प्रोगामिङ तथा इन्फर्मेसन सर्भिससम्बन्धी क्रियाकलापमा भएको वृद्धि, इन्टरनेट सेवा प्रदायकको कारोबार तथा ताररहित सञ्चार सेवामा भएको वृद्धिका कारण यो क्षेत्रको कुल मूल्य अभिवृद्धि बढ्ने अनुमान रहेको हो । गत आवमा यो क्षेत्रको वृद्धिदर ४.१५ प्रतिशत रहने अनुमान छ भने आव २०७८–७९ मा यो क्षेत्रको वृद्धिदर ४.१९ प्रतिशत भएको छ ।

वित्तीय तथा बीमा क्षेत्र
चालु आवमा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर ७.८० प्रतिशत हुने अनुमान छ । बैंकमा निक्षेप तथा ऋण प्रवाहमा भएको वृद्धि, बैंक र वित्तिय संस्थाको सेवा शुल्कको आम्दानीमा भएको बृद्धिले यो क्षेत्रको कुल मूल्य अभिवृद्धिमा बढोत्तरी हुने अनुमान गरिएको हो । गत आवमा यस क्षेत्रको वृद्धिदर ७.२७ प्रतिशत रहने संशोधित अनुमान छ भने आव २०७८–७९ मा वृद्धिदर ६.९१ प्रतिशत भएको छ ।

घरजग्गा कारोबार
यो वर्ष यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर २.९८ प्रतिशत हुने अनुमान छ । घरजग्गाको कारोबारमा तुलनात्मक रूपमा कमी आएको भए पनि निजी आवास तथा भाडाका क्रियाकलापमा भएको बढोत्तरीले यस क्षेत्रको कुल मूल्य अभिवृद्धि अघिल्लो वर्षको तुलनामा सामान्य रूपमा बढ्ने प्रारम्भिक अनुमान गरिएको हो । गत आवमा यो क्षेत्रको वृद्धिदर २.१८ प्रतिशत रहने संशोधित अनुमान छ भने आव २०७८–७९ मा वृद्धिदर १.७२ प्रतिशत देखिएको छ ।

कार्यालयका अनुसार यो वर्ष प्रतिव्यक्ति आय (जीएनआईका आधारमा) १,४५६ अमेरिकी डलर हुने प्रारम्भिक अनुमान गरिएको छ । गत वर्ष यस्तो आय १,४०५ डलर हुने संशोधित अनुमान छ भने आव २०७८–७९ मा यस्तो आय १,४१९ डलर थियो ।

प्रतिक्रिया दिनुहोस्