Logo

मिलनचोक–धाइरिङ सडक कालोपत्रे अन्तिम चरणमा

पर्वत– गण्डकी प्रदेश सरकारको गौरबको योजनाको रूपमा रहेको पर्वतको जलजला गाउँपालिका अन्तर्गत मिलनचोक–सल्यान–धाईरिङ्ग सडक कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ । जलजला गाउँपालिका–७ को मिलनचोकदेखि सल्यान खण्डमा सडक कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको हो ।

मिलनचोक–सल्यान–घाहाखेत–धारापानी–ठोट्नेरी सडक आयोजनाको मिलनचोक–सल्यान खण्डमा कालोपत्रे गर्ने कामले पूर्णता पाउन लागेको पूर्वाधार कार्यालय पर्वतले जनाएको छ । सडक फराकिलो बनाउने, ग्रेड मिलाउने, घुम्ती सुधार गर्ने, पर्खाल लगाउने, सबबेस, बेस, प्राइम कोट, फस्ट कोट राखिसकेको मिलनचोक–सल्यान खण्डको ३.५ किलोमिटर दूरीमा दोस्रो कोट राख्न थालिएको पूर्वाधार विकास कार्यालय पर्वतका इन्जिनियर जिता गिरिले बताए ।

गिरिका अनुसार मिलनचोक–सल्यान खण्डमा दोस्रो कोट राखेपछि कालोपत्रे गर्ने कामले पूर्णता पाउने भएको छ । सल्यानको किराखोर क्षेत्रमा दुई किलोमिटर सडक पहिरोग्रस्त छ । पहिरोभन्दा माथि पनि थप दुई किलोमिटर कालोपत्रे गर्ने तयारी भइरहेको उनले बताए । निर्माण कम्पनी हिमदुङ एण्ड थोकरले धाइरिङको पहिरोभन्दा माथिदेखि घाखेत–ठोट्नेरी तर्फ पनि संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको र चालु आर्थिक वर्षभित्र नै कालोपत्रे गर्ने तयारी गरेको जनाएको छ ।

मिलनचोकदेखि ठोड्नेरी जोड्ने १० किलोमिटर दूरीको सडक स्तरोन्नति र कालोपत्रे गर्न विसं २०७६ मंसिर ६ गते २८ करोड १३ लाखमा हिमदुङ एण्ड थोकर प्रालिले ठेक्का सम्झौता गरेको थियो । गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयमार्फत सञ्चालित यो सडक २०७८ मंसिर ५ गते सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि तीन वर्षपछि कालोपत्रे भएको हो ।

निर्माण कम्पनीलाई धरौटी जफत गरी ठेक्का तोड्ने र कालोसूचिीमा राखेर कारबाही गर्ने तयारी भएपछि दुई वर्षदेखि अलपत्र योजनाको कामले तीव्रता पाएको पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख गुरुदत्त अधिकारीले बताए । पाँच मिटर २५ सेन्टिमिटर चौडाइमा डिबिएसटी कालोपत्रे हुने सडक सात मिटर फराकिलो र नाली निर्माण गर्ने कामले गत मंसिर महिनादेखि तीव्रता पाएको थियो ।

जलजला गाउँपालिका–७ का वडाध्यक्ष टुङ्गनाथ आचार्यले सडक कालोपत्रे हुन थालेपछि स्थानीयबासी उत्साही भएका बताए । स्थानीयबासी र जनप्रतिनिधिले सडक निर्माणमा भएको ढिलाइप्रति खबरदारी र दबाब दिएका थिए । निर्माण कम्पनीका प्रतिनिधिसमेत रहेका जलजला गाउँपालिकाका पूर्वअध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले कोरोना महामारी, कमजोर भूगोल, पहिरो, नदीजन्य निर्माण सामग्री अभाव र सामाजिक समस्याका बाबजुद नोक्सान बेहोरेर भए पनि सडक निर्माणको जिम्मेवारी पूरा गर्न लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्