Logo

बुटवल–जोर्ते नयाँ बाटोको अवधारणामा छलफल

वेलहिया–कोरलाको दूरी घटाउने

बुटवल– भारतसँगको सीमानाका वेलहिया र चीनसँगको सीमा कोरला बीचको दूरी छोट्याउने गरी वैकल्पिक सडकको अवधारणा अगाडि सारिएको छ । बुटवलदेखि पाल्पाको जोर्तेसम्म छोटो वैकल्पिक मोटरबाटोको अवधारणाका बारेमा छलफल भएको छ । यो सडकले उत्तरी नाका मुस्ताङको कोरला र दक्षिणमा रुपन्देहीको बेलहियाबीचको दूरीलाई छोटो बनाउने बुटवल–भैरवस्थान द्रुत व्यावसायिक मार्ग अभियानका संयोजक नवराज श्रेष्ठले बताए ।

‘अहिले बुटवलबाट पाल्पाको जोर्ते ७४ किलोमिटर छ । हाम्रो अवधारणा अनुसारको बाटो बनाउने हो भने ३६/३७ किलोमिटर कमि हुन आउँछ । उनले भने यो हाम्रा पुर्खाले प्रयोग गरेको ऐतिहासिक बाटो पनि हो ।’ बुटवल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष समेत रहेका श्रेष्ठले बाटोलाई छोटो र सजिलो बनाउने हो भने व्यापारको अनुपात पनि बढाउन सकिने उल्लेख गरे । यो बाटोलाई व्यापारिक मार्गका रूपमा अगाडि बढाइएको उनको भनाइ छ ।

रुपन्देहीको बुटवलबाट दोभान, बर्तुङ, तानसेन हुँदै भैरवस्थानको दूरी अहिले झण्डै ५० किलोमिटर छ । वैकल्पिक सडक बनेमा बुटवलदेखि दोभान, मरेक, मस्याम, भैसीकट्टा (घोर्लीघाट) हुँदै भैरवस्थानसम्मको दूरी ३० किलोमिटर कायम हुने श्रेष्ठले बताए । भैरवस्थानदेखि जोर्ते ६ किलोमिटरमा पुग्न सकिन्छ । बुटवलदेखि जोर्तेसम्मको दूरी अहिले भइरकेको भन्दा आधा घाटाउन सकिने भएकाले यसतर्फ सबैले ध्यान दिनुपर्ने उनले बताए । यसबाट बुटवलदेखि रिढी २ घण्टामा पुग्न सकिन्छ ।

प्रस्तावित उक्त सडकको अवधारणाका विषयमा बुटवलमा गोष्ठी आयोजना गरिएको थियो । गोष्ठीमा अवधारणापत्र प्रस्तुत गर्दै संयोजक श्रेष्ठले प्रस्तावित बाटो निर्माण भएमा बुटवलदेखि ऐतिहासिक भैरवस्थान मन्दिरसम्म पौनेघण्टा भित्रै पुग्न सकिने उल्लेख गरे । त्यस्तै उच्च पहाडी तथा हिमाली जिल्लालाई मधेशसँंग जोडने ट्रान्जिट प्वाइन्टको रूपमा रहेको पाल्पा, गुल्मी र स्याङ्जाको संगम रिढीबाट मुख्यरूपमा कालिगण्डकी करिडोर र रिडी–बुर्तिबाङ सडक सञ्जालले जोडिने कोरला नाकासम्मका स्थानका लागि आवतजावतमा सहज हुनेछ ।

त्यस्तै बुर्तीबाङदेखि पश्चिममा पर्ने पूर्वी रुकुम, पश्चिम रुकुम, जाजरकोट तथा त्यस बाटोबाट सहायक मार्गले जोडिने रोल्पा, सल्यान, तथा डोल्पा जिल्लामा आवतजावतको सहजताले यी क्षेत्रका व्यवसायीले समेत लाभ लिने सकिने गोष्ठीमा सहभागीले बताएका थिए । गोष्ठिमा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले यो अभियान आवश्यकतामा आधारित अभियान भएकाले आफ्नो पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । उनले ग्रामीण उत्पादनलाई बजारीकरणमा सहज हुने र त्यसले जनतको जीनस्तरमा सुधार ल्याउन सकिने भएकाले यो अभियानलाई पूर्ण गर्नका लागि सरकारको समेत ध्यानाकर्षण गराए ।

नेपाल सरकारका पूर्वमुख्य सचिव लीलामणि पौडेलले प्रस्तावित उक्त सडकको उपयोगिताको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । प्रदेश सरकारका उपसचिव भिमार्जुन पाण्डेले प्राविधिक पक्षका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्यहरू भोजप्रसाद श्रेष्ठ, विष्णु पन्थी, जमुना ढकाल, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा, बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्याललगायतले धारणा राखेका थिए ।

बेलबास–बेथरी सडक विस्तार छिटो सक्न माग
रुपन्देहीको बेलबास–बेथरी सडक विस्तार छिटो सक्न माग गर्दै स्थानीयले संघर्ष समिति गठन गरेका छन् । सडक निर्माण अलपत्र परेपछि छिटो पूरा गराउन दबाब दिन उनीहरूले संघर्ष समिति गठन गरेका हुन् । स्थानीय राजनीतिक दल, संघसंस्थाका प्रतिनिधिको भेला तथा बैठकले विजय ढकालको संयोजकत्वमा संघर्ष समिति गठन गरेको हो । समितिमा श्याम विक, लेखनाथ गैरे, मनक श्रेष्ठ, गोपाल गुरुङ, रुजेन्द्र गुरुङलगायत छन् ।

स्थानीयले सडक निर्माण पूरा नगरेसम्म नहरपुर–बेताहानी खण्डमा टिप्पर चल्न नदिने निर्णय गरेका छन् । संघर्ष समितिले सडक किनारका नाली र कुलाको काम पूरा गर्न, सडक बीचमा रहेका बिजुलीका पोल तत्काल हटाउन माग गरेको छ । बुटवलको बेलबासबाट मोतिपुर, शुद्धोधन गाउँपालिकाको बेतानी, सियारी गाउँपालिकाको अमुवा हुँदै मायादेवी गाउँपालिकाको बेथरी जोड्ने सडक २१ किलोमिटर दूरीको छ ।

सडकअन्तर्गत बेताहानीदेखि दक्षिणतर्फको खण्ड तीन वर्षअघि नै निर्माण सम्पन्न भएको थियो । तर बेताहानीदेखि नहरपुरसम्मको खण्डको काम पूरा नहुँदा दुर्घटनाको जोखिम बढेको तथा धुलो र हिलोले सवारीसाधन चलाउन कठीन भएपछि संघर्ष समिति बनाइएको संयोजक विजय ढकालले बताए । यो सडक खण्डमा अर्घाखाँची सिमेन्ट उद्योगमा चुनढुंगा पुर्‍याउने ट्रिपर बढी मात्रामा चल्छन् । बेलबास–बेथरी सडक विस्तारका लागि २०७३ सालबाट ठेक्का सम्झौता भई काम सुरु भए पनि अझै सम्पन्न हुन सकेको छैन ।

चार लेन सडक निर्माणका लागि तीन प्याकेजमा गरी एक अर्ब ६७ करोडमा ठेक्का सम्झौता भएको हो । दक्षिणतर्फका दुई वटा प्याकेजको काम सम्पन्न भइसकेको छ । तर, उत्तरतर्फको खण्ड अझै पूरा हुन सकेको छैन । २०७६ असार मसान्तसम्म सम्पन्न गर्ने गरी बुटवल–बेतानी साढे आठ किलोमिटर प्याकेजको निर्माण गर्ने ठेक्का बज्रगुरु कान्छाराम जेभीले लिएको थियो । तर उसले अझैसम्म काम सम्पन्न गरेको छैन । बुटवल बेतानी सडक खण्डमा साढे आठ किलोमिटरमध्ये तीन किलोमिटर लामो समयदेखि कालोपत्रे हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्