उच्च प्रभाव सामुदायिक विकास परियोजना निर्माण

काठमाडौं– नेपाल–भारत विकास सहकार्यअन्तर्गत भारतले ३.६७४ करोड रुपैयाँ आर्थिक सहयोगमा चितवनको खैरहनी नगरपालिकामा निर्माण गरेको उच्च प्रभाव सामुदायिक विकास परियोजनाको उद्घाटन गरिएको छ । उक्त परियोजनाको खैरहनी नगरपालिकाका मेयर शशीकुमार खनिया र भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव अविनाश कुमार सिंहले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
यो सहकार्यअन्तर्गत भारतको अनुदान सहयोगमा स्थानीय समुदायका मानिसहरुका लागि भनेर चितवनको खैरहनी नगरपालिकामा पर्ने ढुङ्ग्रो खोलामा तटबन्ध र खोलाको बहावलार्ई नियमन गर्न एवं नियन्त्रणमा राख्न खोला किनारा वरपर बनाइने संरचनाको निर्माणमा उपयोग गरिएको थियो । सम्झौताअन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको हो ।
यो परियोजना चितवनको खैरहनी नगरपालिकामार्फत कार्यान्वयन गरिएको थियो । यो परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एक महत्वपूर्ण दृष्टान्तको रुपमा रहेको दाबी गरिएको छ । कार्यक्रममा खैरहनी नगरपालिकाका मेयर र परियोजना उपभोक्ता समितिका प्रतिनिधिले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पुर्याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे ।
सन् २००३ यता भारतले नेपालका विभिन्न क्षेत्रमा ५५१ वटाभन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाअघि बढाएको छ भने ४८९ परियोजना सम्पन्न गरिसकेको छ । यीमध्ये बागमती प्रदेशका विभिन्न क्षेत्रमा १०६ वटा परियोजना रहेका छन् जसमा ९ वटा परियोजना चितवनमा छन् ।