Logo

१ खर्ब ६५ अर्बका २८६ उद्योग दर्ता

काठमाडौं– चालु आर्थिक वर्षको चैतसम्म १ खर्ब ६५ अर्ब रुपैयाँ लगानी प्रतिवद्धतासहित २ सय ८६ उद्योग दर्ता भएका छन् । नौ महिनामा स्वदेशी र विदेशी गरी यो संख्यामा उद्योग दर्ता भएका हुन् ।

उद्योग विभागका अनुसार यो अवधिमा ३० अर्ब १० करोड रुपैयाँबराबरको विदेशी लगानी स्वीकृत भएकोमा १ खर्ब ३५ अर्ब रुपैयाँ स्वदेशी लगानी स्वीकृत भएको छ । चैत मसान्तसम्म ३६ ठूलासहित २७ मझौला र २ सय २३ साना उद्योग दर्ता भएका छन् । चालु आवमा ८० वटा ठूला उद्योग दर्ता गर्ने लक्ष्य रहे पनि नौ महिनासम्म ३६ वटामात्र दर्ता भएकाले बाँकी तीन महिनामा लक्ष्य पूरा हुन असम्भव देखिएको छ । मझौला उद्योगतर्फ पनि चालु आवमा ८५ उद्योग दर्ताको लक्ष्य छ, तर अहिलेसम्म २७ वटामात्र दर्ता भएका छन् । यद्यपि, साना लगानीका उद्योग भने अघिल्लो महिना नै वार्षिक लक्ष्यभन्दा बढी दर्ता भइसकेका छन् । चैत मसान्तसम्म २ सय २३ साना उद्योग दर्ता भएका छन् । चालु वर्षमा २ सय साना उद्योग दर्ताको लक्ष्य राखिएको थियो ।

विभागले गत चैतमा मात्र २८ उद्योगका निमित्त १० अर्ब ५९ करोड रुपैयाँ लगानी स्वीकृत गरेको निर्देशक अर्जुन सेन ओलीले जानकारी दिए । उनका अनुसार चैतमा पनि प्रत्यक्ष विदेशी लगानीभन्दा स्वदेशी लगानी नै बढी छ । चैतमा प्रत्यक्ष विदेशी लगानी ९६ करोड ६५ लाख रुपैयाँमा सीमित छ । यी उद्योग सञ्चालनमा आए १ हजार ९ सय ८४ रोजगारी सिर्जना हुनेछ । चालु आवमा दर्ता भएका २८६ उद्योग सञ्चालनमा आएको अवस्थामा भने २० हजार १३७ जनाले रोजगारी पाउने जनाइएको छ । विदेशी लगानीका उद्योगबाट मात्र १३ हजार ८३४ को संख्यामा रोजगारी सिर्जना हुन सक्नेछ ।

विभागका अनुसार यसअघि फागुन मसान्तसम्म १ खर्ब ५५ अर्ब रुपैयाँ लगानी प्रस्तावसहित २ सय ५८ उद्योग दर्ता भएका थिए । सानो लगानीमै खोल्ने सकिने उद्योगमा तुलनात्मक रुपमा कम जोखिम हुन्छ र लगानी जुटाउन पनि सहज हुन्छ भने ठूलो लगानीमा जोखिम बढी हुनाले लगानीकर्ताले वातावरण नबुझी लगानी नगर्ने नेपाल चेम्बर अफ कमर्शका निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल बताउँछन् । उनका अनुसार सरकारले लगानीमैत्री वातावरण बनाउन नसक्दा ठूला लगानीका उद्योग स्थापना हुने सकेको छैन । नौ महिनामै लक्ष्यभन्दा बढी साना उद्योग दर्ता भइसके पनि मध्यम र ठूला उद्योग दर्ताको अवस्था नाजुक रहेको विभागको तथ्यांक छ ।

औद्योगिक व्यवसाय ऐन २०७६ को परिभाषाअनुसार ५० करोड रुपैयाँभन्दा बढी स्थिर पुँजी भएको उद्योगलाई ठूलो उद्योगको सूचीमा राखिएको छ । यस्तै, १५ करोड रुपैयाँभन्दा बढी तथा ५० करोड रुपैयाँसम्म स्थिर पुँजी भएको उद्योगलाई मझौला उद्योगका रुपमा ऐनले वर्गीकरण गरेको छ । लघु उद्यम र घरेलु उद्योगलाई भने साना उद्योगको सूचीमा समावेश गरिएको छ ।

जसमा घरजग्गा बाहेक बढीमा २० लाख रुपैयाँसम्मको स्थिर पुँजी रहेको, उद्यमी स्वयं उद्योगको सञ्चालन र व्यवस्थापनमा संलग्न रहेको तथा उद्यमीसहित बढीमा नौ जनासम्म कामदार रहेको हुनुपर्ने शर्त तोकिएको छ । यस्ता उद्योगको वार्षिक कारोबार एक करोड रुपैयाँभन्दा कम रहेको, इञ्जिन, उपकरण वा मेसिनको प्रयोग गरेको भएमा त्यसमा खपत हुने विद्युतीय ऊर्जा, इन्धन वा अन्य तेल इञ्जिनको क्षमता बीस किलोवाट वा सोभन्दा कम रहेको हुनुपर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्