कालोबजारी गरेको आरोपमा मन्थलीको पसलमा लगाइएको ताला खुल्यो «

कालोबजारी गरेको आरोपमा मन्थलीको पसलमा लगाइएको ताला खुल्यो

रामेछापको मन्थलीमा कालोबजारी गरेको आरोपमा पक्राउ परेका दुई व्यवसायीहरूलाई जिल्ला प्रशासन कार्यालय रामेछपाले जरिवानासहित रिहा गरेको छ । जिल्लाको मन्थली विमान स्थलक नजिकै सञ्चालित एभरेस्ट गटवे मिनीमार्टका जयकृष्ण अधिकारी र ट्रेकर्स ट्रान्जिट क्याफेकी सञ्चालक पासाङ ल्हामु शेर्पा शनिबार जरिवानासहित कारबाहीपछि छुटेका हुन् ।
उनीहरूलाई कालोबजारी ऐन २०३२ अन्तर्गत कारबाही जरिवाना गरी छोडिएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ । पक्राउ परेका व्यवसायी छुटेसँगै एभरेस्ट गटवे मिनीमार्टमा लगाएको ताला पनि जिल्ला प्रशासन कार्यालयले खोलेको छ ।
घरेलु तथा साना उद्योग विकास समिति, रामेछाप उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ र रामेछाप होटल तथा पर्यटन व्यवसायी संघका प्रतिनिधिहरूको रोहवरमा ताला खोलिएको हो ।
मिनीमार्टलाई कालोबजारी ऐन २०३२ अन्तर्गत १ लाख ५ हजार रुपैयाँ र ट्रेकर्स ट्रान्जिट क्याफेलाई ७५ हजार गरी १५ दिनभित्र नियमअनुसार व्यवसाय दर्ता गरी तोकिएको मूल्यमा सामान बिक्री गर्न निर्देशन दिइएको रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद गौतमले जानकारी दिए ।
एभरेस्ट गेटवे मिनीमार्टले कम्पनीले दिएको खुद्रा मूल्य सूचीसहितको प्याकेटमा उल्लेख भएको मूल्य छोपेर आफू खुसी मूल्य १ सय प्रतिशत बढी मूल्य राखी स्टिकर टाँसेको फेला परेपछि जिल्ला प्रशासनले कालोबजारी गरेको भन्दै असोज ३० गते एभरेस्ट गटवे मिनीमार्टमा ताला लगाएको थियो ।
त्यसपछि कात्तिक ३ गते मंगलबार एभरेस्ट गटवे मिनीमार्टका जयकृष्ण अधिकारी र बढी मूल्यसूची राखेर सञ्चालन गरिएको टेकर्स ट्रान्जिट क्याफेकी सञ्चालक पासाङ ल्हामु शेर्पालाई जिल्ला प्रशासन कार्यालयको निर्देशनमा पक्राउ गरी सोही दिन थप अनुसन्धानका लागि जिल्ला प्रशासनबाट ५ दिनको म्याद थप गरी अनुसन्धान गरेको थियो ।
टेकर्स ट्रान्जिट क्याफेकी सञ्चालक पासाङ ल्हामु शेर्पालाई चियाको प्रतिकप १ सय रुपैयाँ, सादा खानाको ४ सय र १ बोतल मिनिरल वाटरको ८० रुपैयाँ लिइ कालोबजारी गरेको भन्दै कारबाही स्वरुप हिसारतमा लिइ अनुसन्धान थालेको थियो ।
अनुसन्धानका क्रममा उनीहरूले आफ्नो गल्ती स्वीकार गरेपछि आवश्यक कारबाही गरी ती व्यवसायीहरूलाई छाडिएको प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी पाण्डेले बताइन् ।

 

प्रतिक्रिया दिनुहोस्