Logo

रारामा पुगे ८ हजार पर्यटक

मुगु– कर्णाली प्रदेशको मुख्य पर्यटकीय गन्तव्यको रूपमा रहेको रारामा ८ हजारभन्दा बढी पर्यटक पुगेका छन् । वसन्त ऋतु सुरु भएपछि रारा घुम्ने आन्तरिक पर्यटक बढेर ८ हजार नाघेका हुन् । समुद्री सतहदेखि २ हजार ९ सय २९ मिटरको उचाइमा छायानाथ रारा नगरपालिका–९ मा रहेको यो तालमा प्रकृतिसँग रमाउनेको लागि आन्तरिक तथा बाह्य पर्यटक बढेका हुन् ।

राराको हिम दृश्य, विश्वमा दुर्लभ रहेको अन्य प्राकृतिक छटा हेर्नको लागि पर्यटकहरु आउने गरेको स्थानीयले बताएका छन् । पोखराको फेवा ताल जनसंख्या वृद्घिको कारण संकुचनमा परिसकेको छ । तर, रारा निकै सुन्दर र शुद्घ रहेको छ । यसलाई सबैले बचाउनुपर्ने खाँचो देखिएको छ । पछिल्लो समय सुर्खेतदेखि मुगुसम्म सडक सञ्जालमार्फत सुधार भएको छ ।

पछिल्लो समयमा घुम्नको लागी विदेशका विभिन्न देशमा जाने चलन बढ्दै गएको छ । विदेश घुम्नुभन्दा नेपालमा रहेको रारा तालमा एक पटक सबैले पुग्नु पर्नेमा स्थानीयले जोड दिएका छन् । यो पटक फागु पूर्णिमादेखि दैनिक रारामा घुम्न आउने पर्यटकको संख्या बढ्दो क्रममा रहेको छ । दैनिक ३० देखि बढी पर्यटकहरु रारा आउने गरेको हुँदा घोडा चालकहरूको दैनिक आम्दानीमा पनि सुधार आएको घोडाचालक प्रेम बहादुर बि.कले बताए ।

चैतसम्म रारा घुम्ने आन्तरिक नेपाली पर्यटक ८ हजार ३ सय, सार्क राष्ट्रबाट ३५, विदेशी १८३ गरी ८ हजार ५ सयले रारा घुमेको रेकर्डमा रहेको छ । गत वर्षभन्दा यो वर्ष रारा घुम्न आउने पर्यटक बढ्ने आँकलन गरिएको छ । पर्यटक र अन्य कार्यालयको विभिन्न स्रोतबाट २६ लाखभन्दा बढी राजस्व उठेको रारा राष्ट्रिय निकुञ्ज कार्यालय मुगुका निमित्त वरिष्ठ संरक्षण अधिकृत पराजु घिमिरेले जानकारी दिए ।

राज्यका तीन तहका सरकारले रारा तालसम्म पुग्ने सडक सञ्जालको स्तरोन्नतिमा सुधार गर्नुपर्ने, पर्यटकको बास बस्ने अवधि लम्ब्याउन सकेमा रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या वृद्धि हुनुको साथै मुगुलगायतका कर्णाली वासीको आय आर्जनमा सुधार आउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्