Logo

निर्जीवन बीमाको व्यवसाय वृद्धि शून्यबराबर

काठमाडौं– चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बीमा कम्पनीहरूको व्यवसायमा समेत अर्थतन्त्रमा आएको शिथिलताको असर देखिएको छ । जीवन बीमातर्फ ५ प्रतिशत बढीले व्यवसाय बढ्दा निर्जीवन बीमा व्यवसाय भने १ प्रतिशतले पनि बढ्न सकेको छैन ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरुले १ खर्ब १० अर्ब रुपैयाँको व्यापार गर्दा निर्जीवन बीमा कम्पनीहरुले करिब ३० अर्ब रुपैयाँको व्यापार गरेका छन् । बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा जीवन बीमा कम्पनीले ९ महिनामा १ खर्ब १० अर्ब बीमाशुल्क आर्जन गरेका छन् । गत आवको सोही समयमा जीवन बीमा कम्पनीहरूले १ खर्ब ४ अर्ब रुपैयाँ संकलन गरेकोमा चालु आवमा भने ५.१८ प्रतिशतले बढेको हो ।

यस्तै, यही समयमा निर्जीवन बीमा कम्पनीहरूले ३० अर्ब १५ करोड बीमाशुल्क संकलन गरेका छन् । गत आवको सोही समयमा ३० अर्ब १ करोड बीमाशुल्क संकलन गरेकोमा अहिले ०.४६ प्रतिशतले बढेको हो । अर्थतन्त्रमा आएको शिथिलता हट्न नसक्दा यसको प्रत्यक्ष असर बीमा क्षेत्रमा परेको जानकारहरू बताउँछन् । व्यवसाय वृद्धि गर्नका लागि विभिन्न चुनौती सामना गरिरहेका कम्पनीहरूलाई अर्थतन्त्रमा आएको सुस्तताका कारण झनै असर गरेको तथ्यांकले देखाएको छ ।

कुन कम्पनीको व्यापार कति ?
जीवन बीमातर्फ चालु आवको ९ महिनासम्ममा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २९ अर्ब ४५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्सले १२ अर्ब ८९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । तेस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेसनले ९ महिनामा १२ अर्ब ८३ करोड बीमाशुल्क आर्जन गरेको छ ।

हिमालयन लाइफले १२ अर्ब ३३ करोड, सूर्यज्योति लाइफले ६ अर्ब ५२ करोड, एशियन लाइफले ५ अर्ब ७८ करोड र राष्ट्रिय जीवन बीमा कम्पनीले ५ अर्ब ४६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । त्यसैगरी सानिमा रिलायन्स लाइफले ४ अर्ब २७ करोड, सिटिजन लाइफले ४ अर्ब २४ करोड, मेटलाइफले ४ अर्ब १३ करोड, आइएमई लाइफले ३ अर्ब २९ करोड, प्रभु महालक्ष्मी लाइफले ३ अर्ब ६ करोड, रिलायबल नेपाल लाइफले २ अर्ब ९८ करोड र सन नेपाल लाइफले २ अर्ब ७८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।

निर्जीवनतर्फका १४ वटा कम्पनीले चैतसम्म २१ लाख ९३ हजार ५४७ वटा बीमा पोलिसी बिक्री गरी कुल २९ अर्ब ९९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । यो अवधिमा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले ४ अर्ब २२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यस्तै सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३ अर्ब ५३ करोड, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २ अर्ब ८९ करोड, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले २ अर्ब ६४ करोड, हिमालयन एभरेष्ट इन्स्योरेन्सले २ अर्ब ५४ करोड र नेको इन्स्योरेन्सले २ अर्ब २९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

युनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ९७ करोड, एनएलजी इन्स्योरेन्सले १ अर्ब ८३ करोड, सानिमा जीआईसी इन्स्योरेन्सले १ अर्ब ७८ करोड, ओरिएन्टल इन्स्योरेन्सले १ अर्ब ५१ करोड, प्रभु इन्स्योरेन्सले १ अर्ब ३२ करोड, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ३० करोड, नेपाल इन्स्योरेन्सले १ अर्ब १४ करोड र नेशनल इन्स्योरेन्सले ८७ करोड ४१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा सञ्चालनमा रहेका तीन लघु जीवन बीमकहरूले ७ करोड ८८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

सबैभन्दा बढी क्रेष्ट माइक्रो लाइफले ९ महिनाको अवधिमा ४ करोड ८१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । त्यसैगरी गार्डियन माइक्रो लाइफले २ करोड ४ लाख र लिबर्टी माइक्रो लाइफले १ करोड २ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यस अवधिसम्ममा सञ्चालनमा रहेका चार वटा लघु निर्जीवन बीमकले ६८ हजार ७ सय ७९ वटा बीमालेख जारी गर्दै १५ करोड ५३ लाख रुपैयाँको बीमाशुल्क आर्जन गरेका छन् । सबैभन्दा बढी व्यवसाय गर्नेमा नेपाल माइक्रो इन्स्योरेन्स छ । यो कम्पनीले ३३ हजार ७ सय ४ वटा बीमालेख जारी गरेर ६ करोड ६२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

त्यसैगरी प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले १५ हजार ६ सय २३ वटा बीमालेख जारी गरेर ४ करोड ९८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै स्टार माइक्रो इन्स्योरेन्सले १६ हजार ६ सय ८६ वटा बीमालेख जारी गरी ३ करोड २८ लाख रुपैयाँ र ट्रस्ट माइक्रो इन्स्योरेन्सले २ हजार ७६६ बीमालेख जारी गरेर ६३ लाख ५४ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्