उपचुनाव: दिउँसो १ बजेसम्म ४० प्रतिशत मतदान
इलाम- इलाम-२ को उपचिर्वाचनमा ४० प्रतिशत मत खसेको छ । दिउँसो १ बजेसम्म ४० प्रतिशत मतदान खसेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिएका हुन् । इलामको ६ वटा पालिकाको ४२ वटा वडामा १४९ मतदान केन्द्र छन् ।
उपचुनाव भैरहेको इलाम र बझाङमा उत्साहजनक र शान्तिपूर्ण रूपमा मतदान भैरहेको छ । इलामको प्रतिनिधिसभा क्षेत्र–२ तथा बझाङको प्रदेशसभा एक (क) मा मतदान भैरहेको छ । त्यहाँ प्रमुख दलका र मुख्य प्रतिस्पर्धी मानिएका उम्मेदवारले मतदान गरिसकेका छन् ।
एमालेका उम्मेदवार सुहाङ नेम्वाङले महेन्द्ररत्न बहुमुखी क्याम्पसको ‘ग’ केन्द्रबाट, नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले महेन्द्ररत्न बहुमुखी क्याम्पसकै ‘क’ केन्द्रबाट, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले माङसेबुङ–२ दहगाउँको जनता कल्याण आधारभुत विद्यालयको ‘ख’ केन्द्रबाट मतदान गरिसकेका छन् ।
स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुम गाउँपालिका–३ को सिंहदेबी मावि शुक्रबारे ‘क’ केन्द्रमा मतदान गरेका हुन् । इलाम- २ बाट प्रतिनिधि सभामा निर्वाचित सुवासचन्द्र नेम्वाङको निधन भएकाले त्यहाँ शनिबार उपचुनाव भएको हो ।
यस्तै बझाङ प्रदेशसभा एक (क) मा पनि मतदाता उत्साहजनक रुपमा लामबद्ध भएर मतदान गरिरहेका छन् । सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भैरहेको छ । बझाङ–१ (क) मा प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि शनिबार उपचुनाव भएको हो । बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ५ बजेसम्म चल्नेछ ।