निगालोका सामग्री बनाएरै आत्मनिर्भर
जुम्ला– जुम्ला तातोपानी गाउँपालिका–४ का दलित युवा निगालोका सामग्री बनाएर आत्मनिर्भर हुन थालेका छन् । सीप सिकेसँगै वन जंगलमा पाइने निगालोबाट बन्ने विभिन्न सामग्री बनाउन थालेका हुन् । विगतमा डोकोमात्रै बुन्ने तातोपानी–४ का खड्क सार्कीले सीप सिकेपछि थरिथरीका सामग्री बनाएर बिक्री गरी आम्दानी गर्न अग्रसर भएका छन् ।
‘पहिला डोकोबाहेक अरु बनाउन आउँथेन,’ उनी भन्छन्, ‘निगालोका सामग्री बनाउने तालिम लिएपछि अहिले स्याकुँ, सुपो, डालो, छाप्री रोटी राख्न प्रयोग हुने भाडोलगायतका सामग्री बनाउन सिकेका छौं । निगालोका सामग्रीको माग बढ्दो छ । अब आवश्यकता अनुसार बनाउँछौ । सीप सिकेपछि व्यावसायिक बन्ने चाहना छ । तर अर्थ अभावले रोकिनु परेको छ ।’ परम्परागत सीप आत्मनिर्भरको माध्यम बनेको छ ।
निगालोको सामग्री बनाउने सीप सिकेसँगै तातोपानी–४ कै पृथ्वी सार्की पनि उत्साहित छन् । काठ दाउरा बोक्ने समयमा डोको, जेठमा रोपाइँ गर्दा अत्यधिक माग हुने स्याकुँ, डालो छाप्रीलगायतका सामग्री बनाउने सीप सिक्दा अब आम्दानी बढ्ने भन्दै पृथ्वीले खुसी व्यक्त गरे । उनी भन्छन्, ‘सामाजिक विकास कार्यालयले सीप सिकाइ सक्यो । अब उद्योगकै रूपमा अघि बढाउन आर्थिक अभाव छ । थोरै हामी आफै लगानी गर्छौं, स्थानीय सरकारले पनि पुँजी सहयोग गरे व्यवसाय सञ्चालन गर्ने इच्छा छ । यो सीपमा आम्दानी गर्ने प्रशस्त सम्भावना छ ।’
निगालोका सामग्री बनाउने सीप सिकेसँगै खड्क र पृथ्वी सार्कीजस्तै तातोपानी–४ का १० जना युवा व्यावसायिक रूपमा अघि बढ्ने सोचमा छन् । सामाजिक विकास जुम्लाको दलित समुदायको परम्परागत सीपको प्रवद्र्धन कार्यक्रमअन्तर्गत निगालोको सामग्री बनाउने सीप सिकाइएको हो । तीन लाख लगानी गरेर जाजरकोटबाट प्रशिक्षक बोलाई जुम्लामा आवश्यक पर्ने सामग्री उत्पादन गर्न आवश्यक सीप सिकाइएको सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख तुलराज चौलागाईंले बताए ।
उनका अनुसार अझै एड्भान्स तालिम दिएर व्यावसायिक रुपमा अघि बढाउन आगामी आवमा थप सहयोग गरिने छ भने निगालोका सामग्री बनाउने नौ दिने तालिम सोमबार समापन गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले जंगलमा खेर गइरहेको निगालोको सदुपयोग पनि हुने, परम्परागत कला पनि बच्ने र आम्दानी पनि हुने भएकाले यस्ता तालिमको निरन्तरता दिनुपर्ने बताए ।
पुरानिदै गएको निगालो खेर जाने भएकाले सीपमूलक कार्यक्रम सञ्चालन गरी युवालाई उत्पादनसँग जोड्ने र स्रोतको प्रयोग हुने गरी नीति बनाउनसमेत जिसस प्रमुख आचार्यले पालिकालाई आग्रह गरे । तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले निगालोका सामग्री निर्माणले वनजंगलमा पाइने कच्चा पदार्थको सदुपयोग हुने र आयआर्जन पनि वृद्धि हुने बताए । निगालोबाट बन्ने सामग्रीको उत्पादन वृद्धि तथा व्यवसायीकरणका लागि पालिकाले ठोस नीति बनाएर लगानी गर्ने उल्लेख गरे ।