चिया निर्यात खुल्यो

बिर्तामोड– भारतले परीक्षणको बहाना झिकेर बन्द गरेको नेपाली चियाको निर्यात खुलेको छ । भारतीय भन्सारले गत वैशाख ७ गतेदेखि पूर्वीनाका काँकडभिट्टाबाट जाँच पासपछि नेपाली तयारी चिया बोकेर भारतीय सीमावर्ती पानीट्यांकी नाका पुगेका १७ वटा नेपाली ट्रकलाई रोकेको हो । तर, अहिले चिया बोकेका ती सबै ट्रक पश्चिम बंगालको पानीट्यांकीस्थित भारतीय भन्सार कार्यालयबाट जाँचपास भई सकुशल छुटेको मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताए ।
पश्चिम बंगालको पानीट्यांकीस्थित भारतीय भन्सार कार्यालयले ‘नमुना परीक्षण गराउन’ भन्दै भारत र तेस्रो मुलुक पठाइने तयारी चिया बोकेका गाडी रोकेर राखेकोमा केन्द्रीयस्तरबाट नै चिया निर्यात गर्न खुल्ला गरेको पानीट्यांकीस्थित भारतीय भन्सार कार्यालयका अधिकारीहरुले बताएका छन् । पूर्वीनाका काँकडभिट्टाबाट जाँचपासपछि चिया बोकेर भारतीय सीमावर्ती पानीट्यांकी पुगेका १७ वटा नेपाली ट्रक रोक्दा भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू भएको भन्दै नेपाली ट्रक रोकेको थियो ।
उक्त ट्रक रोकिएपछि चिया उद्योगीले उक्त समस्या समाधान गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरेकै दिन केन्द्रको निर्देशन भन्दै चिया निर्यात खुला गरेको मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रेग्मीले बताए । नेपाली पक्षले चिया निर्यातमा भारतीय अवरोध भएको विषयमा आपत्ति जनाउँदै भारतीय पक्षलाई पुरानै नियमअनुसार व्यापार सहजीकरण गर्न दबाब सिर्जना गरेको थियो । भारतीय पक्ष पहिलेकै गुणस्तर जाँचको नियमानुसार चियाको निर्यात खुलाउन सहमत भएको नेपाली व्यवसायीहरुले बताएका छन् ।
चियाको एउटा नमूनाको गुणस्तर जाँचपास गराएको रिपोर्टले १५ दिनसम्म निर्यात गर्दा मान्यता पाउने पुरानो प्रचलनलाई कायम गर्दै भारतीय भन्सारले पुरानै जाँच नियमानुसार नेपाली ट्रकहरुलाई छाडिदिएको उनले बताए । कोलकाता र तेस्रो मुलुकसम्म पुर्याउन पानीट्यांकी पुर्याइएको भएपनि ‘कोलकातास्थित सेन्ट्रल फुड ल्याबमा नमूना परीक्षण गराएर मात्र चिया आयात गर्न दिने भारतीय अडानले चिया भरिएका ट्रक सातादेखि रोकिएर राखे पनि अहिले छोडी दिएका छन् ।’
यसअघिसम्म एक पटक नमुना परीक्षणको रिपोर्ट आएपछि ६ महिनासम्म चिया पठाउन पाइने सुविधा भए पनि भारतले अहिले भन्सारमा पुगेका प्रत्येक ट्रकको चियाको नमुना पानीट्यांकीबाट कोलकाता पठाएर त्यसको रिपोर्ट आएपछि मात्र चिया पठाउन पाइने झन्झटिलो प्रावधान ल्याएपछि चिया उद्योगीले त्यसको विरोध गर्दै आएका छन् । पछिल्लो समय नेपाली तयारी चियाको लोगो लागू हुनु र तेस्रो मुलुकमा नेपाली चियाको माग बढेपछि निर्यातमा भारतीय अवरोध हुनुले आफूहरूलाई निरास बनाएको चिया व्यवसायी बताउँछन् ।
विश्वबजारमा नेपाली चियाको सम्भावना उच्च भए पनि भारतले पटक–पटक गरिरहेको नेपाली कृषिजन्य वस्तुको भन्सार अवरोधले आफूहरुलाई झनै निराश बनाएको उनीहरुले बताए । नेपाली चियाको ९० प्रतिशत बजार भारत भएको र तेस्रो मुलुक पुग्ने नेपाली चिया पनि भारतकै बाटो भएर जाने भएकाले भारतले चिया रोक्दा आफूहरुको व्यवसायमा असर पुगेको उनीहरुको भनाइ छ ।