इन्टरनेट बन्द हुन सक्ने आइस्पानको चेतावनी
काठमाडौं– इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान)ले जतिबेला पनि इन्टरनेट सेवा काटिन सक्ने चेतावनी दिएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आइस्पानले इन्टरनेट अवरुद्ध हुन सक्ने चेतावनी दिएको हो ।
करिब १ वर्षको ३ अर्ब रुपैयाँ भारतीय कम्पनी एयरटेललाई इन्टरनेट ब्याण्डविथको पैसा पठाउन सरकारले अवरोध गरेको भन्दै इन्टरनेट जतिबेला पनि बन्द हुनसक्ने आइएसपानका अध्यक्ष सुधीर पराजुलीले बताए ।
उनले भने, ‘अहिले इन्टरनेट ब्याण्डविथको करिब १२ महिनाको ३ अर्ब रुपैयाँ भारतीय कम्पनी एयरटेललाई पठाउन सकिएको छैन । उताबाट पैसा किन नपठाएको भन्दै पत्र आइसकेको छ । ब्याण्डविथको खरिद गर्दा तिर्नुपर्ने पैसाको सिफारिस नदिँदा जतिबेला पनि इन्टरनेट बन्द हुन सक्छ ।’
अब हुने इन्टरनेट बन्दको जिम्मा सरकारले लिनुपर्ने आइस्पानको भनाइ छ । अध्यक्ष पराजुलीले भने,‘हामीलाई आयकर, रोयल्टीलगायत करमाथि कर थोपर्ने अनि पैसा पठाउन विदेशी मुद्राको पनि सिफारिस नगर्दा दोधारमा छौं । यसको जिम्मा अब सरकारले लिनुपर्छ ।’