भूकम्पपछि गाउँमा घर बढे, मान्छे घटे
दोलखा– कुनै बेला चर्चित गाउँ हो कालिञ्चोक गाउँपालिका–४ हिलेपानीको बाहुनगाउँ । बाक्लो बस्ती, घिमिरेको बाहुल्य रहेको यो बस्तीकै कारण हिलेपानी संस्कृत विद्यालय पनि खुलेको हो । तर आजभोलि यो गाउँमा न त मान्छे भेटिन्छन्, न त खेती गरेको ठाउँ जग्गा नै ।
नौ वर्ष अघिको भूकम्पले अन्यत्रजस्तै खण्डहर यो बस्ती पुनर्निर्माण भएर घर त बनेका छन् । तर यहाँका अधिकाँशका वरपर सिस्नो उम्रेका छन् । घरमा सिस्नु उम्रिनु राम्रो मानिन्न । तर यहाँ पुनर्निर्माणपछि ३६ घर बनेका छन् तर २१ घर खाली छन् । खाली घर भएकै कारण घर वरपर सिस्नु र वनमारा उम्रेका हुन् । पुरानो घर वरपर पहिला लगाएका फलफूलका बगैंचा अहिले नाममात्र भएका छन् । गाउँका केही घरमा बसोबास छ । त्यसमा पनि बुढाबूढीमात्र बसेका छन् । बारीमा खेतीपाती गर्न छाडिएको छ ।
युवा भने सहरतिरै बसाइँ सरेका छन् । खानेपानी र सिंँचाइका कारण बसाइँ सर्न थालेपछि भूकम्पपछि घर बने पनि बसाइँ भने सहरतिर सरेका स्थानीय सीता सुवेदी बताउँछिन् । २०७२ वैशाख १२ गते र २९ गतेको विनासकारी भूकम्पले नराम्ररी प्रभावित भएको १४ जिल्लामध्ये एक हो दोलखा । वैशाख १२ गतेको केन्द्रविन्दु गोरखामा भए तापनि २९ गतेको केन्द्रविन्दु दोलखाको सुनखानी हो । वैशाख १२ गते हल्लिएका घरहरू २९ गतेको ठूलो पराकम्पले सबैभन्दा धेरै क्षति पुग्यो ।
भूकम्पले घरबारविहीन भएकालाई सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन गरेर प्राधिकरणमार्फत निजी आवास पुनर्निर्माण सुरु भयो । हिलेपानीका सबै घर बने । गाउँमा रोजगारी नभएको र खेतीले खान नपुग्ने भएपछि गाउँ छाड्ने बढेको स्थानीयको भनाइ छ । भूकम्पपछि बनेका घरमा ताला लागेको हिलेपानी एउटा उदाहरणमात्र हो । हिलेपानी जस्तै दोलखाका अधिकाँश गाउँ छाड्ने धेरै छन् । पुनर्निर्माणका क्रममा गाउँमा पुराना क्षति भएका भन्दा बढी घर बने । एउटै घरमा चुल्हो छुटिएर बसेकाको पनि अहिले छुट्टै घर बनेको छ ।
कालिञ्चोक गाउँपालिका–४ का वडाध्यक्ष दिपक खुलालले हिलेपानीमा पानीको समस्या धेरै वर्षदेखि भएको बताए । ‘आफू निर्वाचित भएदेखि नै पानीको समस्या समाधानका लागि कोसिस गर्दैछु,’ उनले भने, ‘नजिकमा पानीका मुहान छैनन्, अहिले वडा नं. १ को जंगलदेखि पानी ल्याउने गरी काम जारी छ । यो वर्ष गाउँका हरेक घरमा पानीको धारा बन्छ, पानी पाएपछि हिलेपानीका केही मान्छे सहरबाट गाउँ फर्कने उनले आशा गरेका छन् ।’
२० अर्ब खर्चेर ७० हजार घर निर्माण
निजीआवास पुनर्निर्माणका लागि सरकारले प्रतिघर तीन लाख अनुदान दियो । अति विपन्नका लागि विभिन्न सहयोगी निकाय र स्थानीय सरकारले थप अनुदानको समेत व्यवस्था गरेको छ । पुनर्निर्माण प्राधिकरणमार्फत ७० हजार बढी निजी आवास बनेका छन् । त्यसका लागि मात्र २० अर्ब बढी अनुदानमा खर्च भएको छ । तर घर बनाएपछि धेरैले घर छाडेका छन् ।
तीन लाखका लागि बनाउन सुरु गरेका कतिपय घरको खर्च बढी आउँदा गाउँभरि ऋणी थपिएका छन् । ऋण तिर्नकै लागि पनि रोजगारीका लागि युवा विदेश र सहरतिर छिरेका छन् । युवा विदेश छिर्दा गाउँमा घर खाली भएका छन् भने बुढाबूढीले मात्र घर कुरेर बसेको शैलुङ गाउँपालिका काटाकुटीका कुबेरराज बस्नेतले बताए । पुनर्निर्माणपछि घर निर्माणले घरका संख्या विगतमा भन्दा बढेको छ । गाउँमा अधिकाँशले दुई कोठेमात्र घर बनेको छ । त्यही घरमा कतिले तलासमेत थप गरेका छन् ।
परिवार बस्न कोठा नपुग्ने भएपछि थपअर्को घर पनि बनाउनु पर्ने हुँदा घर बनाउन जमित धेरै ओगटेको छ । लामो समय गाउँबाहिर बसेका पनि पुनर्निर्माणको बेला गाउँ फर्केर घर बनाए । घरका परिवारै गाउँ छाडेर हिडेपछि बुढाबूढी पनि सँगै सहर छिरेका छन् । देशमा भरपर्दो रोजगारी नभएपछि वैदेशिक रोजगारी गएका परिवार पनि सहर पसेका छन् । बुढाबूढी एक्लै घरमा बस्नुभन्दा घरमा ताला लगाएर सहर छिर्दा पनि गाउँ खाली भएको हो ।
गाउँगाउँमा पछिल्लो समय सडक, विद्यालयका अत्याधुनिक भवन, विद्युत, खानेपानी, अस्पताल निर्माण भएका छन् । तर जसका लागि सरकारले पूर्वाधार निर्माण गरिरहेको छ । विकास गाउँ आउँदा गाउँले भने सहर छिर्ने क्रम बढेको छ । गाउँ छाड्नेहरू भूकम्पले घर भत्केपछि यो क्रम ह्वात्तै बढेको छ । सरकारले पुनर्निर्माणका लागि गरेको अर्बौं रकम लगाएर बनाएका घर बन्द हुँदा खर्च व्यर्थजस्तै भएको छ ।