शुक्लाफाँटा निकुञ्जमा बाघ संख्या वृद्धि
महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एक दशकमा दोब्बर बढि बाघको संख्या वृद्धि भएको छ । निकुञ्जमा १० वर्षको अवधिमा दोब्बर संख्याले बाघको वृद्धि भएको हो । २०२२ सम्ममा बाघको संख्या दोब्बर पुर्याउने सरकारको लक्ष्य अघि नै शुक्लाफाँटाले उपलब्धी हासिल गरेको छ ।
निकुञ्ज प्रशासनको तथ्यांकअनुसार १० वर्षअघि १७ बाघ रहेको निकुञ्जमा अहिले ४४ पुगेको छ । सन् २०१३ मा शुक्लाफाँटामा १७ बाघ थिए भने, पाँच वर्षपछि २०१८ मा १६ बाघ मात्रै रहे । त्यसैगरी ४ वर्षपछि २०२१ मा ३ बढेर १९ भए भने, २०२१ मा निकुञ्ज भित्र एक बाघ मृत समेत फेला परेको थियो । एक वर्षकै अवधिमा १७ बाघ बढेर २०२२ मा ३६ बाघ पुगेकक थिए भने एक वर्षको अवधिमा ३ घटेर २०२३ मा ३३ मा झरे ।
अहिले पाटे बाघको संख्या ४४ पुगेको छ । जस अनुसार २४ भाले, १७ पोथी र ३ को लिंग पहिचान भएको छैन । निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले क्यामेरा ट्रयापिङमा नपरेका तीन बाघको लिंग पहिचान नभएको बताए । ‘तीन बाघ हाम्रो क्यामेरामा नपरेका हुन, ‘उनले भने, ‘क्यामेरामा कोही बाघ नपर्न पनि सक्छन ।’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत भट्टराईले वयस्क बाघको संख्या बढि हुँदा प्रजनन् क्षमता वृद्धि हुने, प्रशस्तै आहारा र चोरी शिकारी पूर्ण नियन्त्रण हुँदा बाघको संख्या वृद्धि भएको बताए ।
चालु आर्थिक वर्षको गत पुस र माघमा बाघ गणना गरिएको थियो । निकुञ्जलाई २÷२ किलोमिटरका ९२ ग्रिड बनाएर हरेक ग्रिडमा एकजोडी स्वचालित क्यामेरा राखेर बाघको फोटो खिच्नका लागि स्वचालित क्यामेराबाट गणना गरिएको थियो । शुक्लाफाँटा निकुञ्जको चाँदमारी, बेलडाँडी, हिरापुर, डिभिजन वन कार्यालय कञ्चनपुर अन्र्तरत तिलकेनी, बेदकोट, दोम्मिल्ला, डाँगाजाई र डडेल्धुरा अन्र्तरगत आलिताल, नाउला र चिरकोटसहितका स्थानमा क्याम्प राखेर बाघ गणना गरिएको थियो ।
बाघ सर्वेक्षणका लागि हात्तीसहित मानविय जनशक्ति परिचालन गरेर स्वचालित क्यामेरा, सन्टो कम्पास, रेन्ज, फाइण्डर र जिपिएस उपकरणबाट रेकर्ड गरिएको थियो । बाघ बस्ने स्थानमा जोडीका हिसाबले क्यामेरा राखिएको र बाघ हिड्दा दुवै तर्फ क्यामेराले फोटो खिचेको थियो । यसरी निकुञ्जमा बाघको संख्या वृद्धि हुन थालेपछि संरक्षणकर्मीसमेत हर्षित भएका छन् ।
संरक्षणकर्मी एवम् सामुदायिक वन समन्वय समिति कञ्चनपुरका अध्यक्ष महेश दत्त जोशीले बाघको संख्या वृद्धिले समग्र जैविक विविधता क्षेत्रमा सुधार आएको बताए । ‘बाघ ईको सिस्टमको शीर्ष स्थानमा हुन्छ, ‘उनले भने, ‘बाघको संख्या वृद्धिमा पर्यावरण समेत संरक्षण भएको मानिन्छ, यसमा जनता र सरकार दुवैको भूमिका महत्वपूर्ण भएको पाइन्छ ।’
सरक्षणकर्मी जोशीले लालझाडी जैविक मार्ग क्षेत्रमा सुधारले पनि शुक्लाफाँटा निकुञ्जमा बाघको मुभमेन्ट वृद्धिमा मदत पुगेको बताए । वि.स. २०२६ मा शिकार आरक्षको रुपमा स्थापना गरिएको शुक्लाफाँटा २०३२ सालमा वन्यजन्तु आरक्ष र २०७३ सालदेखि राष्ट्रिय निकुञ्जमा घोषणा गरिएको थियो । ३०५ वर्गमिटर क्षेत्रफलमा फैलिएको निकुञ्ज संरक्षणको जिम्मा नेपाली सेनाले पाएको छ । नियमित गस्तीदेखि चोरी, शिकारी एवम् तस्करीमा सुन्य सहनशिलता नीति अपनाएरले सेनाले काम गरिरहेको छ ।