जग हालेपछि मात्र एकीकृत बस्तीको पूर्जा वितरण «

जग हालेपछि मात्र एकीकृत बस्तीको पूर्जा वितरण

दोलखाको भिमेश्वर नगरपालिका १ स्थित सुष्पाक्षमावतीमा पानीपोखरीमा निर्माणाधीन एकीकृत नमूना बस्तीतमा लाभग्राहीहरुले घर बनाएपछि मात्र पूर्जा पाउने भएका छन् । पुनर्निर्माण प्राधिकरणको कार्यकारी समितिले क्षेमावतिस्थित पानीपोखरीमा रहेको सार्वजनिक जग्गामा पीडितलाई सार्न निर्देशन दिएसँगै जिल्लास्थित जग्गा दर्ता समितिले बस्ती निर्माणको प्रकृया टुंग्याएको हो ।
२०७२ को भूकम्प र त्यसपछि आएको पहिरोले सुष्पाक्षमावतिका २ वटा गाउँहरु बोसिम्पा र बुमा बस्ती बसाउन नमिल्ने गरि क्षतिग्रस्त भएपछि प्राधिकरणले ति गाउँका स्थानीयलाई नजिकैको सरकारी जग्गा रहेको पानीपोखरीमा एकीकृत बस्तीका रुपमा स्थानान्तरण गर्ने प्रकृया सुरु गरेको थियो । कार्यकारी समितिको निर्णयसँगै प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जग्गा दर्ता समितिले पीडितका नाममा जग्गाधनी पूर्जा उपलब्ध गराएर बस्ती निर्माणको बाटो खुला गरेको जनाएको छ ।
समितिका सदस्य समेत रहेका मालपोत कार्यालय दोलखाका वरिष्ठ मालपोत अधिकृत खड्गबहादुर कार्कीले सबै प्रक्रिया पूरा भएपछि जग्गाको पूर्जा वितरणमा समस्या नभएको बताए । तर पूर्जा लिएर लाभग्राहीले घर नबनाए सरकारी जग्गाको दुरुपयोग हुने भएकाले घर निर्माणपछि मात्र पूर्जा वितरण गर्ने उनले बताए ।
सरकारीस्तरबाट निर्माण हुन लागेको एकीकृत बस्तीमा सकभर सबै घर बनेपछि एकमुष्ट रुपमा स्थानीयलाई हस्तान्तरण गर्नु पर्ने सुझाव समेत आएका जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेले बताए । एकीकृत बस्ती निर्माणमा अन्यौलता आएपछि संवाद समुहले मालपोत, नापी, जिल्ला आयोजना इकाइ भवन, स्थानीयसँग छलफल गरेको थियो ।
नापी कार्यालय दोलखाका प्रमुख राजु पुरीले समितिको निर्णयसँगै पीडितका नाममा जग्गा कित्ताकाट भइसकेको जानकारी दिए । मालपोत प्रमुख कार्कीका अनुसार पीडितहरुले जग्गाधनी पूर्जा प्राप्त गरिसकेपछि कार्यविधिले तोके अनुसार १० वर्षसम्म हक हस्तान्तरण गर्न पाउने छैनन् । पूर्जा वितरण गर्दा जग्गाधनीका रुपमा श्रीमान श्रीमती दुवै जनाको नाममा संयुक्त हक रहने गरी भोगाधिकार हुने व्यवस्था मिलाइएको छ ।

घडेरी निर्माणको काम पूरा
प्राधिकरणले पानीपोखरी क्षेत्रमा एकीकृत बस्ती निर्माणका लागि घडेरी निर्माणको काम पूरा गरेको छ । एकीकृत बस्ती निर्माणका लागि पानीपोखरी स्थित भिरालो अवस्थामा रहेको सार्वजनिक जग्गामा सडकको पहुँच पुग्ने गरी घडेरी तयार गरिएको छ । प्राधिकरणको जिल्लास्थित आयोजना कार्यान्वयन इकाई भवनका भिषण राईले भिरालो जग्गालाई बस्ती बसाउन योग्य हुने गरी काम गरिएको बताए ।
उनका अनुसार करबाहेक झण्डै २ करोड ४५ लाखको लागतमा मेसिनरी पर्खाल सहितको संरचना तयार भइसकेको छ । थप पूर्वाधार निर्माणका लागि प्राधिकरणबाट थप ३ करोड ५० लाख बजेट विनियोजन भएको र सोही अनुसारको डीपीआर बनाउने काम भइरहेको कार्यालयले जनाएको छ ।

७८ बाट घटेर ५७ लाभग्राही
पानीपोखरीमा ५७ वटा घरहरु निर्माण हुनेछन् । एउटै मोडालिटीका हुने घरहरु सकेसम्म पुरातत्व झल्किने किसिमका हुने इन्जिनियर राईको भनाई छ । एकीकृत बस्ती निर्माणका लागि दुई वटा डिजाइन तयार भइसकेको छ । तर कुन प्रयोग गर्ने भन्नेबारे भीमेश्वर नगरपालिकासँग छलफलपछि उसले स्वीकृत गरेको नक्सा अनुसार घर बन्ने छ ।
यसअघि नै तयार भएको डीपीआर अनुसार बस्तीमा ऐतिहासिक पानीपोखरी, प्रवेशद्वार, प्राथमिक तहको विद्यालय र चिल्ड्रेन पार्क समेत निर्माण हुनेछ । बस्तीमा खानेपानी, विद्युत लगायतका अन्य कामका लागि मातहतका कार्यालयहरुसँग समन्वय भइरहेको प्राधिकरण अन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान वितरण कार्यालयका प्रमुख गणेश अर्यालले जानकारी दिए । अर्यालले उक्त बस्तीमा निजी आवास निर्माण गर्ने धेरैजसो पीडितहरुले पहिलो किस्ता बापतको ५० हजार लगिसकेको र घर निर्माण सुरु भएपछि दोस्रो किस्ता बापतको रकम वितरण गरिने जानकारी दिएका छन् ।
एकीकृत बस्ती भित्र सुरुमा ७८ लाभग्राही थिए । त्यसमध्ये कतिपयको मृत्यु भइसकेको छ । सदरमुकाममा जग्गा हुनेले उतै घर बनाए । तर अन्यत्र सर्न नसक्नेहरु ५७ लाभग्राही मात्र छन् । जिल्लाभर ८० प्रतिशत बढीले घर नाएर पक्की घरमा सरीसक्दा पनि सरकारी निकाय बीचको समन्व अभाव र ढिला सुस्तीले यहाँका एउटा घर पनि बन्न भने सकेको छैन । स्थानीय भीमबहादुर थामीले जग्गा पाउने पक्का भएपछि नक्सा तयार गरेसबैले ३ महिनाभित्र घर बनाइसक्ने बताए ।
एकीकृत बस्ती भित्रको संरचना बनेपनि बस्तीसम्म पुग्ने सडकको अवस्था भने नाजुक छ ।

 

प्रतिक्रिया दिनुहोस्