Logo

आगलागीबाट चार वर्षमा ६८ करोडको क्षति

सुर्खेत– कर्णाली प्रदेशमा विगत चार वर्षयता आगलागीबाट झण्डै ६८ करोडको क्षति भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयले दिएको तथ्यांक अनुसार विगत चार वर्षमा आगलागीबाट ६७ करोड ९७ लाख ३२ हजार बराबरको धनमालको क्षति भएको हो । प्रदेश प्रहरीको तथ्यांक अनुसार मुगुमा ३१ करोड २८ लाख ४४ हजार बराबरको क्षति भएको छ ।

यस्तै, जुम्लामा ११ करोड ६६ लाख ४७ हजारबराबरको धनमाल क्षति भएको छ । कर्णालीमा आर्थिक वर्ष २०७७/०७८, ०७८/०७९, ०७९/०८०, र चालु आ.व.को चैत मसान्त सम्म आगलागीका घटनामा ५५ जनाको मृत्य भएको छ भने ६७ जना घाइते भएका छन् । आगलागीका घटनामा परी सबैभन्दा बढी मानवीय क्षति कालिकोटमा भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक बीरबहादुर ओलीले जानकारी दिए ।

एसएसपी ओलीका अनुसार कालिकोटमा १३ जना, डोल्पामा ८ जना, सल्यानमा ७, सुर्खेत र जुम्लामा ६–६ जना, दैलेखमा ५, मुगुमा ४, जाजरकोट, रुकुमपश्चिम र हुम्लामा दुई–दुई जनाको मृत्यु भएको छ । दुई सय ७८ घर परिवार विस्थापित हुँदा ३५८ पशुचौपायाको क्षति भएको कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ । चार वर्षको अवधिमा सबै भन्दा बढी जुम्ला १२३ घर परिवार विस्थापित भएका छन् ।

सल्यानमा ४०, जाजरकोटमा ३३, कालिकोटमा ३१, रुकुम पश्चिममा २५, सुर्खेतमा २०, दैलेखमा ४, हुम्लामा २ घर परिवार विस्थापित भएका छन् । आगलागी तथा विभिन्न विपतका समयमा तत्काल उद्धारका लागि कर्णालीका १० वटै जिल्लामा प्रहरी निरीक्षकको नेतृत्वमा ३५ जनाको टोली २४सै घण्टा उद्दारका लागि तयारी अवस्थामा राखिएको प्रवक्ता ओलीले जानकारी दिए ।

आगलागी तथा वन डढेलो नियन्त्रणका लागि प्रहरी एक्लैले सम्भव नभएकाल स्थानीय सरकारहरु तथा समुदायका नागरिक स्वंय लाग्नुपर्ने उनले बताए । कर्णालीमा वनजंगल नजिकै रहेको बस्ती, खरको छानो भएका घर भएकाले आगलागीका घटना हुने गरेका छन् । वनजंगलमा लागेको डढेलोबाट बस्तीमा आगलागी हुने घटना पनि देखिएका छन् । चैत महिनामा मात्रै आगलागीमा परी कर्णालीमा सात जनाको मृत्यु भएको छ ।

प्रदेश प्रहरी कार्यालय दिएको जानकारी अनुसार गत चैत २ गते बाख्रा चराउन गएका बेला कालिकोटको खाडाचक्र–५ ढाडगाउँस्थित नवदुर्गा सामुदायिक वनमा लागेको डढेलोमा परी ५० वर्षका नन्दराम चौलागाईं र उनकी १२ वर्षीया छोरी हेमन्तीको मृत्यु भएको थियो । नन्दरामका ४५ वटा बाख्रा पनि जलेर मरेका थिए ।

यस्तै चैत ३० गते हुम्लाको सर्केगाड गाउँपालिका–८ रादेउको कुरिल्ला लेखको आफ्नै भेंडीगोठमा राति आगलागी हुँदा ५५ वर्षीय हर्के ऐडीको मृत्यु भएको थियो । भेंडीगोठको आगलागीबाट ६० वटा भेंडासमेत मरेका थिए । चैत मै ३० मा डोल्पामा आगलागीका कारण १० वर्षका सुलज बुढाको मृत्यु भयो । उनको उपचारका क्रममा जिल्ला अस्पताल डोल्पामा मृत्यु भएको हो ।

यस्तै, चैत २६ गते डोल्पाको ठूलीभेरी नगरपालिका–३ स्थित मष्टा भवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा गम्भीर घाइते भएका नेपाली सेनाको देवीदत्त गुल्मका तीन जना सिपाहीको मृत्यु भएको थियो । मृत्यु हुनेमा काभ्रे घर भएका ३८ वर्षका सेनाका जमदार केशवबहादुर जर्गा मगर र हुम्ला घर भएका २३ वर्षका सिपाही आशीष बुढा र जुम्लाको तातोपानी गाउँपालिका–४ का २४ वर्षीय हेमन्त रावत रहेका छन् ।

कर्णालीमा अझै पनि कतिपय घरमा टुकी, दियालो बाल्ने गरेको, चुरोट तमाखु खाँदा फालिएको आगोलगायत लापरबाहीले पनि आगलागीका घटना हुने गरेको प्रहरीको भनाइ छ । शहरी क्षेत्रमा भने विद्युत सर्ट भएर पनि आगलागीका घटना हुने गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्