ढोरवाराहीको भेटी पारदर्शी बनाउन थालियो

तनहुँ– तनहुँको प्रसिद्ध धार्मिकस्थल ढोरवाराही मन्दिरमा भक्तजनले चढाएको पैसाको हिसाब सार्वजनिक गर्ने प्रचलन थिएन । शुक्लागण्डकी नगरपालिका–९ घारीमा अवस्थित मन्दिरमा भक्तजनले पैसा चढाउने गरेपनि कति पैसा जम्मा भयो भन्ने जानकारी नहुँदा भक्तजनको गुनासो बढ्दै गएको थियो ।
सोही गुनासोलाई सम्बोधन गर्न शुक्लागण्डकी नगरपालिकाले भेटीलाई पारदर्शी बनाउने प्रयास थालेको छ । मन्दिरको भेटी तथा दानका बारेमा नागरिकबाट गुनासो प्राप्त भएसँगै ढोरवाराही मन्दिर व्यवस्थापन समितिलाई सक्रिय बनाएर मन्दिरमा दर्शनका लागि आउने भक्तजनले प्रदान गर्ने भेटी तथा दानको रसिद जारी गर्ने र संकलित दान सहयोगलाई सार्वजनिक गर्न सुरु गरिएको नगरप्रमुख कृष्णराज पण्डितले जानकारी दिए ।
उनले भने, ‘दान दिने भक्तजनलाई रसिद दिन सुरु गरेसँगै मन्दिरको आम्दानी पारदर्शी हुनेमा आशावादी छाैं । जसकारण भेटी र दान प्राप्त हुने क्रम बढेको छ ।’ उनका अनुसार गत चैत महिनामा मात्रै मन्दिरमा तीन लाख भेटी संकलन भएको छ । मन्दिरमा संकलित भेटीको उचित तरिकाले मन्दिर क्षेत्रको विकासका लागि प्रयोगमा ल्याइने पण्डितले बताए । नगरपालिकाले ढोरवाराही मन्दिरसम्म पुग्ने बाटो स्तरोन्नति गरेको छ । सडकको आवश्यकता अनुसार कालोपत्र र ढलान गरिएको छ ।
यसले भक्तजनलाई सहज रूपमा मन्दिरसम्म पुग्न सहयोग पुग्ने विश्वास गरिएको छ । नगरपालिकाले ३१ लाख चार हजारको लागतमा उक्त सडक स्तरोन्नति गरेको हो । मनोकाङ्क्षा पूरा हुने जनविश्वासका साथ ढोरवाराही मन्दिरको दर्शनका लागि भक्तजन आउने गर्दछन् । मन्दिरमा तनहुँसँगै छिमेकी जिल्ला कास्की, स्याङ्जा, लमजुङ, पाल्पा, गोरखा, चितवन, नवलपरासी लगायत विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् ।
चारैतिर जंगलले घेरिएको पहाडको बीचमा मनोरम स्थानमा मन्दिर छ । मन्दिरसँगै रहेको पोखरी र पोखरीमा रहेको माछाले भक्तजनको मन रमाउँछ । ढोरवाराहीमा रहेको पोखरीमा बेला–बेला लहरी छुट्ने गर्दछ । रहस्यमयी लहरीलाई धार्मिक आस्थाको रूपमा लिइन्छ । ढोरवाराही मन्दिरलाई भगवान् विष्णुको तेस्रो अवतारका रूपमा लिने गरिन्छ । हिमवत्खण्ड पुराणमा समेत चर्चा गरिएको ढोरवाराही मन्दिरमा देवीको चतुर्वाहु मूर्तिसमेत पाइन्छ ।
यस मन्दिरमा विसं १९०४ सालदेखि चढाइएका घण्टसमेत रहेका छन् । ढोरवाराही माता प्रशन्न हुँदा लहरी छुट्ने किंवदन्ती छ । पोखरीको मूलबाट पानीको ठूलो भल आउने र एकैछिटमा फेरि स्वतः घट्दै जान्छ । यस पोखरीमा लहरी छुट्नुलाई धार्मिक आस्थासँग तुलना गरिन्छ । उक्त पोखरीमा हिउँदयाममा केही समय लहरी छुट्दैन । हिउँदको समयमा ढोरवाराही माता माइत जाने भएकाले लहरी नछुट्ने कथन छ । पोखरीको लहरी छुट्ने द्वारमा रजबाम बस्ने गर्दछ ।
रजबाम विशेषगरी लहरी छुट्ने बेला पोखरी बाहिर निस्कने र उक्त समयमा रजबामको दर्शन गर्दा शौभाग्य प्राप्त हुने विश्वास रहँदै आएको छ । मन्दिर जीर्णोद्धारका क्रममा फेला परेका घण्टामध्ये एउटा घण्टामा नेवारी भाषामा नेपाल संवत ९६७ लेखिएको पाइएको छ । मन्दिरमा नयाँ वर्षको दिन, वैशाख महीनाभर, बडादसैं, चैतेदसैंको नवदुर्गा अवधिभर, श्रीपञ्चमी र हिउँदयाममा विशेष पूजा अर्चनाका लागि दर्शनार्थीको अत्यधिक भीड लाग्ने गर्दछ । एकादशी, औंशी, सोह्रश्राद्ध, तीजको पञ्चमी तथा साउन महिनाभर मन्दिरमा पशुवली दिइँदैन ।