Logo

विदेश जानेलाई बचाऊ

स्वदेशमा रोजगारी नपाएर काम खोज्दै विदेश पुगेका नेपालीमध्ये प्रतिमहिना औसतमा एक सयको मृत्यु हुने गरेको तथ्यांकले सबैलाई झस्काएको छ । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति लिएर विदेश गएका श्रमिकले उतै ज्यान गुमाए तिनका आफन्तलाई आर्थिक सहायता प्रदान गर्छ । यो वर्षको अहिलेसम्म ९ सय ६२ जना श्रमिकका परिवारलाई सहायता दिइएको छ । सरकारले यही तथ्यांकका आधारमा विदेशमा कति जनाले ज्यान गुमाए भन्ने तथ्यांक राख्दै आएको छ ।

यो वर्षको तथ्यांक विगतका वर्षहरूका तुलनामा केही कम हो । तर, यो संख्या आफैंमा भने सानो होइन । प्रतिमहिना एक सय जनाका दरले विदेशमा नेपालीको मृत्यु हुनुलाई कुनै पनि कोणबाट सामान्य मान्न सकिँदैन । सरकारले विदेशमा ज्यान गुमाएका श्रमिकका परिवारलाई सात लाख रुपैयाँ सहयोग गर्दै आएको छ । यो वर्ष यस्तो सहयोग २८ करोड ९५ लाख वितरण गरिएको छ । विदेश जाँदा श्रमस्वीकृति नलिएको, भिजिट भिसामा गएर लुकेको लगायत सरकारले तोकेको मापदण्डमा नपरेकाहरूको मृत्युदर पनि ठूलो छ ।

आर्थिक सहायता नपाउनेको संख्या जोड्ने हो भने विदेशमा हुने मृत्युको आँकडा अझै बढी हुनेछ । वैदेशिक रोजगारीमा मृत्यु मात्र होइन, कामका क्रममा विभिन्न कारणले अंगभंग हुनेको संख्या पनि कम छैन । यो वर्ष अंगभंग भएर फर्केकाको संख्या ३ सय ८२ छ । सरकारले यस्ता श्रमिकलाई १२ करोड १ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको छ । वैदेशिक रोजगारीमा नेपाली श्रमिकको मृत्यु लामो समयदेखि घट्न सकेको छैन । गत वर्षमात्र १२ सय ८ जनाले विदेशमै ज्यान गुमाएका थिए ।

त्योभन्दा अघि यस्तो संख्या १४ सय ३३ थियो । पाँच वर्षअघिसम्म वर्षको ५–६ सय जनाले मात्र विदेशमा ज्यान गुमाएको अवस्था थियो । आर्थिक वर्ष २०७६–७७ मा ६ सय ५६ जनाको विदेशमा मृत्यु भएको थियो । तर, त्यसपछिका वर्षहरूमा ज्यान गुमाउनेको संख्या दोब्बर बन्दै आएको छ । पछिल्ला चार वर्षमा महिनाको एक सयभन्दा पनि बढीका दरले मृत्यु भइरहेको तथ्यांक छ । हुन त पछिल्ला वर्षहरूमा विदेश जाने कुल संख्या पनि बढ्दै गएको छ ।

गत वर्ष मात्र ७ लाखभन्दा धेरैको संख्यामा नेपाली काम गर्न बिदेसिएका थिए । यो वर्षका नौ महिनामा पनि ५ लाखभन्दा बढी गएको तथ्यांक छ । विदेशमा मुख्य गरी औद्योगिक र सडक दुर्घटना, आत्महत्या, कार्डियाक एरेस्टलगायतका कारणले धेरै नेपालीको मृत्यु भएको विवरण आउने गरेको छ । मृत्युको कारणबारे अध्ययन हुन सके त्यसको निराकरणका लागि पाइला चाल्न सकिन्थ्यो । नेपालीहरू बढी जाने खाडी मुलुकहरूमा चर्को गर्मी हुने र असुरक्षित काम गर्नुपर्ने भएकाले ज्यान जाने गरेको आरोप लाग्दै आएको छ ।

तर, यो वर्ष खाडीका मुलुकहरूको तुलनामा मलेसियामा बढीको ज्यान गएको देखिन्छ । यो वर्ष प्रमुख चार गन्तव्य साउदी अरब, कतार र युएईको तुलनामा मलेसियामा मृत्युदर धेरै छ । तीन वर्षयता अन्य श्रम गन्तव्यको तुलनामा मलेसियामा श्रमिक कम गएका छन् । तर पनि मृत्युदर भने बढी छ । पछिल्लो तीन वर्षमा युएईमा ३ सय ९९ जनाको ज्यान जाँदा मलेसियामा ६ सय ८५ को मृत्यु भएको छ । सरकारी तथ्यांकअनुसार युएईमा ०.२१ प्रतिशत, कतारमा ०.२४, साउदी अरबमा ०.३९ प्रतिशत र सबैभन्दा बढी मलेसियामा ०.८३ प्रतिशत मृत्युदर छ ।

विदेशमा हुने मृत्युको वास्तविक कारण थाहा छैन । तर, सबैभन्दा बढी बिरामीलाई देखाइने गरेको छ । यस्तै प्राकृतिक मृत्यु, सडक दुर्घटना, आत्महत्या, हृदयाघात, कार्यस्थल दुर्घटनालगायत छन् । साधारण रोग लागेर पनि समयमा उचित उपचार नपाउँदा मृत्यु हुने पनि धेरै छन् । मुख्य गरी अवैध रूपमा बसेका नेपालीले महँगो उपचार खर्च बेहोर्न नसक्दा सामान्य रोगमा पनि मृत्युवरण गर्नुपर्ने बाध्यता छ । अर्को काम गर्ने कम्पनीले समयमा उपचार गर्न लापरवाही गरेबाट पनि नेपालीको ज्यान गइरहेको छ ।

विदेश जानेहरूले स्वदेशमा विभिन्न चरणमा स्वास्थ्य जाँच गरेका हुन्छन् । विदेश जानेको उमेर समूह पनि करिब १८ देखि ४५ वर्ष छ । यस्तो युवा उमेर समूहका नेपालीको अचानक मृत्यु हुनु भनेको सामान्य विषय होइन । स्वास्थ्य परीक्षण पास गरेर गएका स्वस्थ नेपालीको किन विदेशमा मृत्यु भइरहेको छ भन्ने विषयमा अहिलेसम्म स्वदेशमा गहिरो छलफलसमेत भएको छैन । तिनै कामदारले पठाएको रेमिटेन्सले सरकार चलेको छ, तर तिनैलाई बचाउन सरकारी पहल फितलो छ ।

प्रतिक्रिया दिनुहोस्