Logo

जुम्लाबाट साढे दुई करोडको दाँते ओखरका बिरुवा निर्यात

जुम्ला– यस वर्ष जुम्लाबाट ठूलो मात्रामा दाँते ओखरका बिरुवा निर्यात भएको छ । जुम्लामा उत्पादित कलमी गरेका उन्नत दाँते ओखरका बिरुवा देशका विभिन्न ठूलो मात्रामा जिल्लामा निर्यात भएको हो । जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्यांकअनुसार जुम्लाबाट हालसम्मकै धेरै दाँते ओखरका उन्नत जातका मात्रै ६० हजारबढी बिरुवा निर्यात भएको छ ।

विगतका वर्षको तुलनामा यस वर्ष जुम्लाबाट दाँते ओखरको बिरुवा उत्पादन र निर्यातको अवस्था सन्तोषजनक रहेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले बताए । बिरुवा निर्यातबाट नर्सरी धनीले लाखौं आम्दानी गरेका छन् । उनले भने, ‘६० हजार बिरुवा निर्यात भएको हालसम्मकै धेरै हो । फुजी स्याउको विस्तारपछि उन्नत जातको स्याउको बिरुवा संकटमा परेको अवस्थामा ठूलो मात्रामा निर्यात हुनु जुम्लाको लागि सुखद पक्ष हो ।’ जुम्लामा ९० वटा नर्सरी रहेकोमा ४० वटा नर्सरीमा उत्पादित ६० हजार बिरुवा निर्यात भएको हो ।

प्रतिबिरुवा सरदर चार सय रुपैयाँका दरले बिक्री भएको पाइएको छ । ६० हजार बिरुवा निर्यातबाट जुम्लाका ४० वटा नर्सरी धनीले दुई करोड ४० लाखभन्दा बढी आम्दानी गरेको कार्यालय प्रमुख देवकोटाले बताए । ४० वटा नर्सरीबाट उत्पादित ६० हजार बिरुवा निर्यातबाट साढे दुई करोड भित्रिँदा सरदर एकजना नर्सरी धनीले नौदेखि १० लाखसम्म आम्दानी गरेका छन् । जुम्लाको बिरुवा मनाङ, मुस्ताङ, शंखुवासभा, ताप्लेजुङ, रामेछाप, बाजुरा, बझाङ, डोल्पा र जाजरकोट लगायतका जिल्लामा निर्यात भएको छ ।

पातारासी गाउँपालिका–६ का सिंहबहादुर कठायतले विगतका वर्षमा फुजी स्याउको विस्तारसँगै उत्पादन भए पनि उन्नत स्याउका बिरुवा बिक्री हुन नसकेको बताए । उनले भने, ‘यस वर्ष माग पनि ह्वात्तै माग बढ्यो, उत्पादन पनि सोहीअनुसार गर्‍यौं र निर्यात पनि राम्रै भयो । अझै बाहिरी जिल्लामा कलमी गरेका बिरुवाको माग बढ्दो छ । पुर्‍याउन सकिएको छैन । स्याउ खेतीभन्दा ओखरमा जोखिम नहुने भएकोले ओखर खेतीमा आकर्षण बढेको छ ।’

लामो समयदेखि नर्सरीखेती गर्दै आएका सिंहबहादुर स्याउभन्दा ओखरखेती जोखिम रहित, कम मेहनत लाग्ने र आम्दानी धेरै हुने भएकाले ओखर खेती आर्थिक समृद्धिको आधार हुने बताउँछन् । तर अपेक्षित रूपमा अझै ओखरखेतीमा किसान आर्कषित हुन नसकेको उनको भनाइ छ । यता कृषि विकास कार्यालय जुम्लाले आगामी वर्ष अहिलेको भन्दा बिरुवा निर्यात बढाउने लक्ष्य लिएको छ । जुम्लाको पातारासी गाउँपालिका–६ र ७ तथा चन्दननाथ नगरपालिका–८ र ९ मा नर्सरीखेती धेरै हुने गरेको छ ।

फाटफुट अन्य पालिकामा भइरहेको नर्सरी खेतीलाई व्यावसायिक बनाउन कृषि विकास कार्यालयले वार्षिक लक्ष्य र विनियोजित कार्यक्रमअनुसार उपयुक्त सीप प्रविधि तथा घेराबार प्रदान गर्दै आएको छ । ओखरका बिरुवा निर्यातबाट मात्रै लाखाैंको आम्दानी भएपछि जुम्लाका नर्सरी किसान उत्साहित भएका छन् भने बिरुवा उत्पादनमा अझै हौसिएका छन् । कृषि विकास कार्यालयबाहेक स्थानीय तहले उन्नत जातका बिरुवा उत्पादन तथा बजारीकरणमा सहजीकरण गर्ने नीति लिन नसकेको नर्सरी किसानको गुनासो छ ।

जुम्लाको आर्थिक समृद्धि, रोजगारी सृजना तथा जीविकोपार्जनको मुख्य स्रोत नै स्याउ र ओखर भए पनि उचित भण्डारण तथा मुख्यको अभावले स्याउमा जोखिम बढिरहेको छ । तर ओखरमा कुनै जोखिम नरहेकोले लगानीअनुसार भन्दा दोब्बर आम्दानी हुने भए पनि किसान ओखरखेतीमा आकर्षित हुन नसकेको किसान शंखु खत्रीले बताए । दुई दशकदेखि स्याउ र ओखरखेती गर्दै आएका खत्रीले स्थानीय तह र कृषि विकास कार्यालयले किसानलाई ओखरखेतीमा आकर्षित गर्ने खालका कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्