बेनीमा सडकको मापदण्ड तोकियो «

बेनीमा सडकको मापदण्ड तोकियो

म्याग्दीको बेनी नगरपालिकाले सडकको मापदण्ड तोकेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार नगरपालिकाका क्षेत्रका सडकलाई चार श्रेणीमा विभाजन गरी क्षेत्राधिकार कायम गरेको हो ।
नगर कार्यपालिकाको बैठकले नगर क्षेत्रभित्रका सडकलाई चार समूहमा वर्गीकरण र मापदण्ड कायम गरेको नगरपालिकाका इन्जिनियर विमलरञ्जन कार्कीले जानकारी दिए । राष्ट्रिय तथा प्रदेशस्तरीय वर्गमा राखिएको बेनी–रत्नेचौर–बागलुङ र मालढुंगा–बेनी–जोमसोम सडकको क्षेत्राधिकार ३० मिटर र छ मिटर सेटब्याक हुने निर्णय भएको छ ।
नगरपालीकाको (ए) वर्गमा सूचीकृत बेनी सिंगा हुदै मंगाल गाउँपालिका जोड्ने सडकको सेटब्याकसहितको क्षेत्राधिकार २० मिटर तोकिएको छ । (बी) वर्गमा राखिएको नगरको र गाउँपालिकाको वडा तथा नगर क्षेत्रका ठूला बस्ती जोड्ने सडक १२ मिटर फराकिलो हुने र दायाँ बाँया घर, भवनलगायत पूर्वाधार बनाउन दुईदुई मिटर खाली छोड्नुपर्ने इन्जिनियर कार्कीले बताए । बी वर्गमा बेनी पुलाचौर डडुवा, बेनी पात्लेखेत, महारानी छाप ठूलोखोला, गलेश्वर पात्लेखेत, बेनी थामडाँडा, दूधेखोला भकिम्ली, बेनी भकुण्डे गौस्वारा, नेप्टेचौर गिठीनी पात्लेखेत, बगरफाँट बाँगेरा भकुण्डे, आनन्दबगर हुदै ढोडेनीखोला र नगर चक्रपथको रुपमा परिकल्पना गरिएको रत्नेचौर अर्जम ज्यामरुककोट भकिम्ली सिंगा पुलाचौर तोरीपानी गलेश्वर सडकलाई राखिएको छ ।
ए र बी वर्गका सडक र नगरपालिकाको वडा कार्यालयसँग ग्रामीण बस्ती जोड्ने ३३ वटा सडकलाई (सी) श्रेणीमा वर्गीकरण गरिएको छ । सी वर्गको सडकको चौडाइ १० मिटर र सेटब्याक दुई मिटर रहेको छ ।
डी श्रेणीमा वर्गीकरण भएका नगरपालिकाको हालको बजारभित्रका र बस्ती विकास भई शहरीकरण हुनसक्ने क्षेत्रका सडकमा बस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत मापदण्ड २०७२ लागू गरिने भएको छ ।
यी सडक पनि छ मिटर फराकिलो र दायाँ-बायाँ दुई-दुई मिटर सेटब्याक राख्नुपर्ने मापदण्ड तोकिएको छ । नगर कार्यपालिकाको बैठकले पारित गरेको मापदण्डअनुसार सडक छेउछाउमा नक्सा पास गर्दा नयाँ नियम लागू गरिने इन्जिनियर कार्कीले बताए । भौतिक पूर्वाधार निर्माण र सडकलाई व्यवस्थित गर्नका लागि सडकको वर्गीकरण र क्षेत्राधिकार तोकिएको नगरप्रमुख हरिकुमार श्रेष्ठले बताए ।

सन्तोष गौतम

प्रतिक्रिया दिनुहोस्