Logo

बेमौसमी मकै खेतीबाट आम्दानी लिँदै कृषक

दाङ– पछिल्लो समयमा जिल्लाका किसानले बेमौसमी मकै खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् । मकै खेतीका लागि किसानलाई तालिमसँगै बीउ र यान्त्रिकीकरणमा प्रधानमन्त्री कृषि परियोजनाले सहयोग गर्न थालेपछि पछिल्लो समय धेरै किसान बेमौसमी मकै खेतीतर्फ आकर्षित भएका हुन् ।

सुक्खा समयमा पनि मकै खेतीबाट आम्दानी लिन सकिने भएपछि अन्य काम छोडेर मकै खेतीमा लागेको लमही नगरपालिका–४ सेमरहवा निवासी किसान राजबहादुर चौधरी बताउँछन् । पहिले घरमा खानका लागि मात्रै मकैखेती गर्दै आएका चौधरीले पछिल्लो समय करिब एक बिघा क्षेत्रफलमा व्यावसायिक रूपमा मकैखेती गर्न थालेका छन् ।

पहिले परम्परागत रूपमा घरमा खानका लागि मात्रै मकैखेती गर्ने गरे पनि विगत चार वर्षदेखि व्यावसायिक रूपमा लागेको उनले बताए । ‘हरियो मकै पनि बिक्री हुने र अन्य बालीको तुलनामा आम्दानी पनि बढी हुने भएकाले व्यावसायिक मकैखेती गर्दै आएको छु,’ उनले भने । वर्षमा दुई बाली मकैखेती गर्न सकिने र जसले गर्दा आम्दानी राम्रो हुने उनको भनाइ छ । उनले मकै खेतीबाट वार्षिक दुई लाखसम्म आम्दानी गर्ने गरेको बताउँछन् ।

उनका अनुसार हरियो मकैको प्रतिघोगा पाँचदेखि १० रुपैयाँका दरले बिक्री हुने गर्दछ भने सुकेको मकै प्रतिक्विन्टल ३५ हजार रुपैयाँका दरले बिक्री गर्ने गर्दछन् । त्यससँगै बोटसमेत घाँसका रूपमा बिक्री हुने गर्दछ । एक बाली मकैखेती हुने जमिनबाट दुई बाली खेती गर्न सकिने र आम्दानीसमेत बढी लिन सकिने भएकाले मकै खेतीतर्फ लागेको लमही नगरपालिका–३ निवासी किसान टुनुराम चौधरी बताउँछन् ।

लालीगुराँस जैविक विविधता कृषक समूहका अध्यक्षसमेत रहेका चौधरीले ३६ कट्ठा जमिनमा व्यावसायिक मकैखेती गर्दै आएका छन् । मकै खेतीबाट वर्षमा पाँच लाख बढी आम्दानी गर्ने गरेको उनको भनाइ छ । उनका अनुसार लमही, भालुबाङ, घोराहीलगायतका बजारमा मकै पोलेर बिक्री गर्नेसँगै घरमै आएर लग्ने भएकाले बिक्रीमा समेत समस्या नभएको उनको भनाइ छ ।

परियोजनाले सहयोग गरेपछि लमही नगरपालिकासँगै गढवा गाउँपालिका र राप्ती गाउँपालिकाका विभिन्न क्षेत्रमा मकैखेती गर्ने किसान थपिएका छन् । बेमौसमी मकै खेतीबाट आकर्षक आम्दानीसँगै खेती गर्नका लागि किसानलाई प्रविधिसँगै बीउबिजन सहयोग गरेपछि धेरै किसान मकै खेतीमा जोडिएको प्रधानमन्त्री कृषि परियोजना कार्यान्वयन एकाइ दाङका कृषि अधिकृत हेमन्त पौडेलले बताए ।

कृषि अधिकृत पौडेलका अनुसार परियोजना सुरु भएपछि करिब १५/१६ प्रतिशतमा रहेको हिउँदे मकैखेती बढेर दुई सयदेखि तीन सय र १२/१३ प्रतिशतमा रहेको वसन्त मकैखेती बढेर अहिले १७/१८ सयदेखि दुई हजार हेक्टर क्षेत्रफलमा खेती हुने गरेको उनले बताए । परियोजनाले किसानलाई खेती गर्नेदेखि बजारीकरणसम्म सहयोग गर्न थालेपछि सुक्खा समयमा खाली हुने जमिन अहिले मकैखेतीले हरियाली भएको कृषि अधिकृत पौडेल बताउँछन् ।

‘जिल्लामा मकै खेतीको राम्रो सम्भावना भए पनि गर्ने तरिका बारेमा थाहा नहुँदा परम्परागत रूपमा किसानले खेती गर्दै आएका थिए तर परियोजना लागू भए पनि किसानलाई मकैखेती गर्ने तरिकासँगै यान्त्रिकीकरणमा सहयोग गरेपछि अहिले धेरै किसान जोडिएका छन्,’ उनले भने । जिल्लामा आर्थिक वर्ष २०७२/०७३ सालदेखि मकैखेती प्रवर्द्धनका लागि प्रधानमन्त्री कृषि परियोजना कार्यान्वयन एकाइ सञ्चालनमा आएको थियो । त्यसयता मकै खेतीगर्नेको संख्यामा वृद्धि हुँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्