बजेटमा समेटिएनन् तयारी आठ योजना
धनगढी– सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालयले आर्थिक वर्ष २०८०/०८१ मा कार्यान्वयन गर्न तयारी गरिसकेको आठ ठूला योजना बजेटमै परेनन् । तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले स–साना योजनामा बजेट विनियोजन नगर्ने नीति बनाए पनि त्यसविपरीत कार्यान्वयन गर्ने तयारी भइसकेको योजनामा बजेट विनियोजन नगरेको हो ।
प्रदेश सरकारले टुक्रे योजनामा बजेट विनियोजन गर्ने कार्यलाई निरुत्साहन गर्ने उद्देश्यले विशेष अनुदानसम्बन्धी कार्यविधि २०७९ मा विशेष अनुदानबाट सञ्चालित हुने योजना कम्तीमा २५ लाख र समपूरक अनुदानसम्बन्धी कार्यविधि २०७९ मा समपूरक अनुदानबाट सञ्चालन हुने योजनाको बजेट कम्तीमा ५० लाख रुपैयाँको हुनुपर्ने व्यवस्था गरिएको छ ।
ती कार्यविधिमा पूर्वतयारी नपुगेका योजनासमेत नसमेट्ने नीति लिइएको छ । तर, स–साना र फेभरका सांसद् तथा कार्यकर्ताको क्षेत्रका योजना समेट्ने क्रममा पूर्वतयारी भइसकेको ठूला योजना छुट्याइएको छ । कैलाली जिल्लाको सुपारीआमदेखि भादा जाने गौरीगंगा नदीमा सडक पुल, भैंसासुर कटनी नदीमा पुल, शिवपुर पुल, कान्तिपुर परेनी खोलामा सडक पुल, सरैया नारायणपुर सडक पुल, चिसापानी सोल्टा सडकमा पर्ने साउदे खोलामा सडक पुल, गुडधोपी खोलामा पक्की पुल गोदावरी र साँडेपानीबाट उत्तर जाने सडकको तयारी भइसकेको भए पनि प्रदेश सरकारले ती योजनालाई अलपत्र छाडेको हो ।
यी योजनामा आर्थिक वर्ष २०७९/०८० मा प्रतियोजना ८० लाखदेखि दुई करोडसम्म बजेट विनियोजन भएको थियो । सो रकम विनियोजन भएपछि पूर्वाधार विकास कार्यालयले योजनाको डिजाइन र सम्भाव्यता अध्ययन विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेको थियो । पूर्वतयारी गरी योजनालाई बहुवर्षीय ठेक्कामा लैजाने तयारी गर्दागर्दै आर्थिक वर्ष सकिएको पूर्वाधार विकास कार्यालय इन्जिनियर विनोद खड्काले बताए । ‘पूर्वतयारी सकेर बहुवर्षीय ठेक्का लगाउन स्रोत सुनिश्चितता लिँदालिँदै असार लाग्यो,’ उनले भने, ‘अर्को वर्ष पुनः बजेट विनियोजन गरी ठेक्का लगाउने कुरा भएको थियो तर बजेट नै परेन ।’
पूर्वाधार विकास कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७९/०८० मा सुपारीआमदेखि भादा जाने गौरीगंगा नदीमा सडक पुलमा दुई करोड, भैंसासुर कटनी नदीमा पुलमा एक करोड ५० लाख, शिवपुर पुलमा ८० लाख, कान्तिपुर परेनी खोला पुलमा ९० लाख, सरैया नारायणपुर सडक पुलमा १ करोड बजेट विनियोजन भएको थियो ।
यसैगरी चिसापानी सोल्टा सडकमा पर्ने साउदे खोलामा सडक पुलमा एक करोड, गोदावरीको गुडधोपी खोलामा पक्की पुल एक करोड र साँडेपानीबाट उत्तर जाने सडकमा दुई करोड रुपैयाँ विनियोजन भएको थियो । यी योजना एक करोडदेखि ६ करोडसम्म लागत अनुमान गरी डीपीआर तयार भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । स्थानीय नागरिकलाई प्रत्यक्ष सुविधा पुग्ने यी योजनामा बजेट नपरेपछि भैंसासुर कटनी नदीमा पुलका लागि चालु आर्थिक वर्षमा बजेट नपरेपछि भैंसापुरबासीले आफैले रकम उठाएर काठेपुल बनाएका छन् ।
कटनी नदीमा पुल नभएकै कारण वर्षामा भैंसापुरको सडक सञ्जालबाट टुट्ने गरेको छ भने सो गाउँका बासिन्दाले वर्षामा स्वास्थ्य, शिक्षालगायतका सुविधा लिन निकै जोखिमपूर्ण यात्रा गर्न बाध्य हुने गरेका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सुरतकुमार बमले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटका तयारी भएका सबै योजना समेट्ने बताए । उनले पूर्वतयारी गरिएका योजनामात्रै बजेटमा समावेश गर्ने उद्देश्यले नै यस वर्षदेखि योजना बैंक सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए ।