Logo

मुख्य सडककै पुल अलपत्र

रुकुम पश्चिम– राप्ती लोकमार्गअन्तर्गत पर्ने सल्यान–रुकुम खण्डको पिथिवाङ खोलामा सडक पुगेको डेढ दशकसम्म पनि मोटरेबल पुल बन्न सकेको छैन । सडक निर्माण भएको मात्र होइन पुल निर्माणकै ठेक्का परेको चार वर्ष बित्दा पनि पुल बन्न नसकेको हो ।

रुकुम, सल्यान, दाङ, नेपालगन्ज तथा काठमाडाैं जोड्ने प्रमुख यस सडकको पुल नबन्दा यहाँका स्थानीयका साथै आवातजावत गर्ने यात्रुले समस्या भोग्दै आएको स्थानीय भरत केसीले बताए । उनका फेरी वर्षायामको समय आउन लागेको हुँदा छिटोभन्दा छिटो पुल निर्माणको काम थाल्न स्थानीय तथा यात्रुले माग गर्दै आएका छन् ।

पुल लामो समयसम्म नबन्दा रुकुममा बेलाबेला स्थानीय तथा सरोकारवाला निकायले दबाब र धर्नाको काम गर्दै आएका छन् । त्यस्तै जिल्लास्थित अन्य राजनीतिक दलका प्रतिनिधि तथा प्रदेशसभा संसद्मा नै पुल निर्माण गर्नुपर्ने आवाज उठिरहेको छ । कर्णाली प्रदेशसभा सांसद महेन्द्र केसी पुलको विषयमा संसद्मा आधारणा राख्दै संघीय सरकारको कमजोरीका कारण अहिलेसम्म पुल निर्माण हुन नसकेको बताए ।

‘समयमै पुल निर्माण गर्न नसक्ने निर्माण व्यवसायीलाई किन म्याद थप भइसकेको छ, संघीय सरकार र मातहतका कार्यालयले किन आवश्यक निर्णय लिन सकिरहेका छैनन् गम्भीर प्रश्न हो ।’ संरक्षण निर्माण सेवा प्रालि र सडक डिभिजन कार्यालय चौरजहारीबीच २०७६ असारमा चार करोड १२ लाख रकममा निर्माण सम्झौता भए पनि हालसम्म पनि निर्माणकार्य अलपत्र अवस्थामा छ ।

विभिन्न सरोकारवाला निकायले दबाब दिएपछि सडक डिभिजन कार्यालयले उक्त निर्माण व्यवसायीसग ठेक्का तोड्ने तयारीसमेत गरेको छ । सडक डिभिजन चौरजहारी रुकुम पश्चिमका प्रमुख तेजश्वी शर्माका अनुसार तपाईंको ठेक्का किन नतोड्ने भनेर सूचना प्रकाशित भइसकेको र सबै पक्षसँग समन्वयपछि आवश्यक निर्णय लिने बताए ।

निर्माण कम्पनीले इमेलमार्फत् काम गर्ने प्रतिबद्धता जनाएको भए पनि निर्माणस्थलमा गएर कुनै पनि काम सुरु नगरेका कारण यसपटक ठेक्का तोड्ने कार्यालयले बताएको छ । जिल्ला सदरमुकामकै मुसिकोट नगरपालिका–११ र १२ मा पितिवाङ खोला पर्छ ।

प्रतिक्रिया दिनुहोस्