Logo

कानुनी सुधारप्रति महासंघको स्वागत

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघले लगानी सम्मेलन अगाडि अध्यादेशमार्फत कानुन र नियमावलीमा गरिएको संशोधनलाई स्वागत गरेको छ ।

सरकारले सोमबार लगानी प्रवद्र्धनका लागि भन्दै १२ कानुन र नियमावली अध्यादेशमार्फत संशोधन गरेको थियो । महासंघले मंगलबार विज्ञप्ति निकालेर यसको स्वागत गरेको हो । ‘कुल गार्हस्थ्य उत्पादनको ०.२ प्रतिशतमात्र विदेशी लगानी आइरहेको सन्दर्भमा महासंघको आग्रहमा गरिएको सुधारले लगानीको वातावरण बन्ने विश्वास छ,’ महासंघले भनेको छ ।

लगानी सम्मेलन यही वैशाख १६ र १७ मा आयोजना हुँदैछ । सरकारले सम्मेलनलाई लक्षित गरी विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५, औद्योगिक व्यवसाय ऐन २०७६, वन ऐन, भूमि सम्बन्धि ऐनलगायतमा संशोधन गरेको छ । नयाँ व्यवस्थाले वातावरणीय प्रभाव मूल्यांकन, हदवन्दी लगायतका विषयलाई सम्बोधन गरेको महासंघको धारणा छ ।

महासंघको पहलमा नियमावली बनाई स्टार्टअपको परिभाषा दिने विषय पनि यस पटकको केही नेपाल ऐन संशोधनमा परेकोमा महासंघले स्वागत गरेको छ । यसअघि परिभाषाको अभावमा स्टार्टअपलाई सुविधा दिन सकिएको थिएन । महासंघले नियमावलीमार्फत परिभाषा खोजे पनि यसपटक सिधै ऐनबाट सम्बोधन हुनु सकारात्मक रहेको बताएको छ ।

प्रधानमन्त्री कार्यालयका तत्कालीन सचिव एकनारायण अर्यालको संयोकत्वमा गठित नीतिगत सुधार कार्यदलको सुझावअनुरुप ऐनमा संशोधन भएको हो, जसमा महासंघको सक्रिय सहभागिता थियो । अध्यादेशबाट पारित कानुनी व्यवस्थालाई संसद्ले अनुमोदन गर्ने र संशोधित कानुन कार्यान्वयनमा जाने विश्वास महासंघको छ ।

प्रतिक्रिया दिनुहोस्