सियारीमा धानबाली प्रवर्द्धन कार्यक्रम
बुटवल– रुपन्देहीको सियारी गाउँपालिकामा ५० प्रतिशत अनुदानमा धानबाली कार्यक्रम सञ्चालन गरिएको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को संघीय ससर्त अनुदानअन्तर्गत यो वर्ष पनि धानबाली अनुदान कार्यक्रम सञ्चालन गरिएको हो ।
जसअन्तर्गत वर्षे धानबालीको खेती गर्न इच्छुक सहकारी संस्था तथा कृषक समूहले आवेदन दिनुपर्नेछ । गाउँपालिकाले सूचना प्रकाशित गरी वैशाख १७ गतेभित्र पालिकाको कृषि विकास एकाइमा आवेदन दिन भनेको हो । कार्यक्रमअन्तर्गत तराई मधेशमा सिफरिस भएका धानका जातमात्र खेती गर्न पाइने गाउँपालिकाले जनाएको छ ।
धानबाली कार्यक्रममा सहभागी हुनेले समूहले कृषकको लालपुर्जा र नागरिकताको फोटोकपी पेस गर्नुपर्नेछ । कृषक समूह तथा सहकारीको निर्णयको प्रतिलिपि, दर्ता, पान नम्बर तथा बैंक खाताको चेकको प्रतिलिपि पनि पेस गर्नुपर्ने हुन्छ । धानबाली कार्यक्रममा सहभागी हुने कृषक समूहले ५० प्रतिशत अनुदान पाउने सियारी गाउँपालिकाका कृषि अधिकृत कमलुद्दिन दर्जीले बताए ।
‘कुनै समूहले फर्म भरेर स्वीकृति भयो भने किसानले धानको बीउ, मलखाद, जैविक मल, आवश्यक परे पम्सेट किन्ने छन्,’ उनले भने, ‘त्यसको बिल भर्पाइ ल्याएर हामी कहाँ पेस गर्छन् । त्यसको निरीक्षण अनुगमन गरेपछि किसानले बिल भर्पाइ पेस गर्छन । कृषक समूहको लागतको ५० प्रतिसत अनुदान हामीले उनीहरूको बैंक खातामा पठाइदिन्छौं ।’
यसबाट व्यावसायिक खेती गर्ने किसानलाई राहत हुने कृषि अधिकृत दर्जीको भनाइ छ । सियारीमा धानबाली प्रवद्र्धन चार वर्ष पुरानो हो । सुरुका वर्ष यो कार्यक्रमका लागि संघ सरकारको ससर्त अनुदानअन्तर्गत ५० लाख आएको थियो । अहिले १० लाख रुपैयाँमात्र आएको गाउँपालिकाले जनाएको छ । अहिले बजेट नभएकाले समूह छनोट गर्न गाह्रो हुने दर्जीले बताए ।
‘पालिकाको कृषि विकास समितिको बैठक बसेर कतिवटा फर्मको परेछ कसलाई दिन मिल्छ आधारमा निर्णय गर्छौं,’ उनले भने । यसअघि सियारी गाउँपालिकाले ५० अनुदानमै आलु प्रवर्द्धन पनि गरेको थियो । तीन ठाउँमा गरिएको कार्यक्रमबाट साढे दुई सय किसानले लाभ लिएको सियारी गाउँपालिकाले जनाएको छ । आलु कार्यक्रमका लागि पनि १० लाखको बजेट विनियोजन भएको थियो ।
गाउँपालिकामा अहिले मकै कार्यक्रम चलिरहेको छ । यो कार्यक्रममा समूहमात्र नभई व्यक्तिगत रूपमा किसानलाई समेत सहभागी गराइएको छ । खेतबारीमा किसानले लगाएको मकै निरीक्षण गरेर उत्पादनको आधारमा उनीहरूलाई अनुदान दिने सियारीका कृषि अधिकृत कमलुद्दिन दर्जीको भनाइ छ ।
‘अब किसानको बाली अनुगमन र निरिक्षण गर्छौं । उत्पादनको आधारमा अनुदान उपलब्ध गराउँछौं,’ उनले भने, ‘गत वर्ष प्रतिकिलो चार रुपैयाँ किसानको खातामा पठाएका थियौं । बजेट पुग्यो भने अहिले त्यसमा बढाउँछौं ।’ मकै कार्यक्रमका लागि नगरपालिकाले नौ लाख रुपैयाँ विनियोजन गरेको छ । जसमा सात सय जति किसान सहभागी रहेको कृषि अधिकृत दर्जीजे जानकारी दिए ।