Logo

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं, सुरक्षा व्यवस्था चुस्त

काठमाडौं- कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणलाई व्यवस्थित र सफल तुल्याउन सुरक्षा व्यवस्थालाई चुस्त तुल्याइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपालको दुई दिने राजकीय भ्रमणका लागि मंगलबार आउँदै छन् ।

उनको भ्रमणका सन्दर्भमा सुरक्षाका लागि नेपाली सेनाका बलाधिकृतरथीको संयोजकत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका विभिन्न टोली परिचालन भएको छ । उक्त संरचना मातहत विभिन्न सुरक्षासम्बन्धी व्यवस्था गरिएको छ । विशिष्ट पाहुनाका स्वागतदेखि बिदाइसम्मका विभिन्न कार्यक्रम र समारोहस्थलमा आवश्यकताका आधारमा सुरक्षा संयन्त्र परिचालन गरिएको नेपाली सेनाले जनाएको छ ।

कतारी अमिरको भ्रमणका सिलसिलामा विभिन्न तयारी बैठक समेत गरी कार्य जिम्मेवारी बाडँफाँट गरिएको छ । सरकारले जारी गरेको विशिष्ट व्यक्ति शान्ति सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ अनुसार सुरक्षा प्रबन्ध मिलाइएको छ । विशिष्ट पाहुनाको सुरक्षाका लागि सुरक्षा व्यवस्थापन चुस्त तुल्याइएको नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार कतारी अमिरको सुरक्षा व्यवस्थालाई मध्यनजर गरी उनको आगमन र प्रस्थानका समयमा हुने अन्य सबै उडान १५/१५ मिनेट स्थगित गरिएको छ । कतारका अमिरको भ्रमणले दुई देशबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास लिइएको छ । मध्यपूर्व एसियाबाट नेपालमा पहिलो पटक हुन लागेको यो उच्चस्तरको भ्रमणमा हो ।

पश्चिम एसियाको महत्वपूर्ण शक्ति राष्ट्रका प्रमुखको भ्रमणलाई महत्वका साथ हेरिएको छ । नेपालको वैदेशिक श्रम गन्तव्यमध्ये कतार एक महत्वपूर्ण देश हो । यस्तै, उनको स्वागतका लागि संघीय राजधानी काठमाडौं सिँगारिएको छ । कतारका अति विशिष्ठ पाहुनाको स्वागतका लागि काठमाडौंको मुख्य सडक, चोकमा स्वागतद्वार, तुल ब्यानरसहित चिटिक्क पारिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि तीनकुने, नयाँ बानेश्वर, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, कालीमाटी, जमल, लैनचौर, त्रिपुरेश्वरलगायत क्षेत्रमा स्वागतद्वारसहित सडक सफाइलगायतका व्यवस्थापन गरिएको छ । काठमाडौं महानगरपालिकाले काठमाडौंका विभिन्न स्वागतद्वारा निर्माण, सडक सरसफाइलगायतका काम गरेको हो ।

काठमाडौंका विभिन्न सडक चोकमा नेपाल र कतारको झण्डा फहराइएको छ । स्वागतद्वारामा नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिरको तस्बिर अङ्कित ब्यानर राखिएको छ । उक्त ब्यानरमा जीवित देवी कुमारीले नमस्कार गरेको तस्बिर पनि आकर्षकरुपमा सजाइएको छ । उपत्यकाका संस्कृति परम्परा झल्कने विभिन्न तस्बिर अङ्कित ब्यानरले सर्वसाधारणको ध्यान आकर्षित गरेको छ ।

‘कतारका मौसुफलाई हार्दिक स्वागत छ, कतारका अमिर र विशिष्ठ पाहुनालाई हार्दिक स्वागत छ’ जस्ता ब्यानरले काठमाडौंको सडक सजिएका छन् । विशिष्ठ पाहुना आवतजावत गर्ने सडकमा विशेष सुरक्षा सतर्कता अपनाइएको छ । प्रत्येक स्वागतद्वारमा सुरक्षाकर्मीले पहरा दिइरहेका छन् । विमानस्थलदेखि राष्ट्रपति कार्यालय शीतलनिवास, राजा बस्ने पाँचतारे सोल्टी होटल, कार्यक्रम हुने स्थल द्वारिकाज होटलसम्मको सडक चिटिक्क पारिएको छ ।

काठमाडौं महानगरपालिका, गैरआवासीय नेपाली संघ र नेपालस्थित कतार राजदूतावासले कतारका अमिरको भव्य स्वागतका लागि स्वागतद्वार निर्माण गरेका छन् । सरकारले कतारका अमिरबाट हुने नेपालको राजकीय भ्रमणका अवसरमा मंगलबार सार्वजनिक बिदा दिएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले कतारका अमिरले यही वैशाख ११ देखि गर्ने नेपालको राजकीय भ्रमणका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्