३ अर्ब हिनामिनाको आरोप
सहकारी पीडित फेरि सडकमा
पोखरा– कास्कीका सहकारी पीडितहरू सडक आन्दोलनमा उत्रिएका छन् । हाल ६ वटा सहकारीमा समस्या भएपछि सहकारीका बचतकर्ताहरू एक भई आन्दोलनमा उत्रेका हुन् । सूर्यदर्शन, मित्रमिलन, इमेज, शिवशिखर, बलिदानी र विन्दवासिनी सहकारीका पीडित बचत कर्ताले सोमबार पोखराको जिल्ला प्रहरी कार्यालयको गेट अगाडिबाट विरोध र्याली निकालेका थिए ।
उक्त र्यालीले पोखरा महानगरपालिका हुँदै नगर परिक्रमासहित जिल्ला प्रशासन कार्यालय कास्कीमा पुगेर ज्ञापन पत्र बुझाएको थियो । कास्कीका सहकारी पीडिहरूले आफ्नो रकम फिर्ता गर्न माग गर्दै चरणवद्ध आन्दोलन गर्दै आउने क्रममा हालसम्म कुनै माग सुनुवाई नभएकोले सबै सहकारीका पीडितहरू एक भई सडकमा उत्रिएको कास्की सहकारी बचत पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले बताए ।
एक लाखभन्दा बढी व्यक्तिहरूको करिब ३ अर्ब रुपैयाँ आर्थिक हिनामिना गरेको दाबी गर्दै उनले सहकारीको रकम हिनामिना गर्नेलाई पक्राउ गरी कारबाही गर्न माग गरे । सहकारीका सञ्चालक तथा व्यवस्थापकहरू अधिकांश फरार भएको र उनीहरूलाई राजनीति संरक्षण रहेको पीडितहरूको आरोप छ ।
विभिन्न पार्टी नेतृत्वमा बनेको सरकार प्रमुखदेखि मन्त्रीसम्मलाई समस्याको बारेमा जानकारी गराउँदै आए पनि आफ्ना मागलाई सम्बोधन गर्न नसकेको अध्यक्ष श्रेष्ठले दाबी गरे । प्रधानमन्त्री, गृहमन्त्री, प्रमुख दलका शीर्ष नेतालाई आफूहरूको समस्या जानकारी गराउँदै आएको अवस्थामा कतैबाट पनि मागको सम्बोधन हुने आश्वासन नपाएकोले सामूहिक रूपमा आन्दोलन सुरु गरेको उनले बताए ।
उनले भने,‘गृहमन्त्रीलाई भेटेको दुई हप्ता भयो, अब जीबी राईसहितका सहकारीका आरोपितलाई पक्राउ गर्ने, सहकारी पीडितहरूलाई छिट्टै राज्यकोषबाट भए पनि केही रकम दिने आश्वासन प्राप्त भएको छ ।’ विगतमा जीबी राई नेतृत्वको सहकारीबाट हालका गृहमन्त्री लामिछाने पनि सेयर सदस्य भएको टेलिभिजनमा गैरकानुनी रुपमा रकम लगिएको पीडितहरूको आरोप छ ।
सरकारले चाहेमा सहकारीको रकम हिनामिना गर्नेलाई तत्काल पक्राउ गर्न सक्ने उनीहरूको भनाइ छ । तर, राज्यले नै चासो नदिएको पीडिहरूको गुनासो छ । गृहमन्त्री लामिछानेले जीबी राईलाई मलेसिया सरकारसँग समन्वय गरेर नेपाल ल्याउने तयारी गरेको आफुहरूलाई आश्वासन दिने गरेको अध्यक्ष श्रेष्ठले बताए । संघर्ष समितिले सोमबार पोखरामा विरोध प्रदर्शनसहित पोखरा महानगरपालिकामा समेत ज्ञापन पत्र बुझाएको छ ।
पोखरा महानगरपालिका मेयर धनराज आचार्यले ज्ञापनपत्र बुझ्दै पोखराका सहकारीमा देखिएका समस्याको विषयमा अध्ययन गरेर दोषीलाई कारबाहीको लागि सिफारिस गर्ने बताए । सहकारी पीडितका समस्या समाधान गर्न समिति गठन गरी कानुन संसोधन गरेर भए पनि बचत कर्ताको पैसा फिर्ता दिने व्यवस्था गर्नुपर्र्नेमा मेयर आचार्यले जोड दिए । पीडितहरूको जीबी राई र देवकुमार नेपालीसहितलाई पक्राउ गर्न सरकार चुकेको आरोप छ ।