Logo

सन्दर्भः विश्व पृथ्वी दिवस

भैरहवाको तापक्रम ४०.९ डिग्री सेल्सियस

भैरहवा– काठमाडौंलगायत अन्य स्थानबाट भैरहवा आउने धेरैको जिज्ञासा भैरहवाको मौसमबारे हुन्छ । प्रिमनसुन सुरु भएयता नेपालमा गर्मी बढ्दै गएको छ । आगामी दिनमा अझै गर्मी बढ्ने पूर्वानुमान छ । नेपालमा मे महिनामा बढी गर्मी हुने गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले भैरहवा मात्र नभइ सिंगो तराईमा अहिले अत्यधिक गर्मी बढेको छ । गर्मीसँगै तातो हावा (हिट वेभ) ले जनजीवन प्रभावित छ । पृथ्वी दिवस (अप्रिल २२) का दिन देशमा सबैभन्दा बढी गर्मी भैरहवामा मापन भएको छ । यो दिन भैरहवाको तापमान ४०.९ डिग्री सेल्सियस मापन भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार वैशाख ११ गते भैरहवाको न्यूनतम तापमान २१.५ डिग्री सेल्सियस मापन भएको छ ।

गत वर्षको जुन ७ मा भैरहवामा सर्वाधिक तातो मापन भएको थियो । यो दिन तापक्रम ४५.७ डिग्री सेल्सियस पुगेको थियो । हरियाली कम, पछिल्लो समय गहुँ भित्र्याएर बाँकी रहेका नल खेतमै डढाउने क्रम उच्च, नदी खोलाको अवैध उत्खनन्, वृक्षरोपण न्यून, बढ्दो प्रदुषण, डढेलो, विभिन्नमाध्यमबाट पृथ्वीको दोहनलगायतका कारण गर्मी बढिरहेको छ ।

त्यसैगरी विकासका नाममा जंगल फँडानी र पानीको स्रोत संरक्षण नहुनुलगायत धेरै कारणले पृथ्वीमा तापमान एवं गर्मी बढदै गएको हो । भैरहवा देशमै अधिक गर्मी हुने ठाउँ हो । पछिल्लो समय शहरलाई हरीयालीमैत्री बनाउने भन्दै सडक किनारामा वृक्षरोपण गर्ने क्रम बढेको छ । ‘शहरलाई ग्रीन, क्लिन र इकोफ्रेण्डली बनाउने हाम्रो अभियान नै हो । शहर हरीयाली भए गर्मी कम हुन्छ ।’ सिद्धार्थनगरका मेयर ईश्तियाक अहमद खान भन्छन्, ‘यही अभियान हाम्रो हो ।’

त्यसो त उनी अघिका मेयर हरि अधिकारीले पनि हरीयाली शहर बनाउने क्रममा राम्रो सुरुवात गरेका थिए । उनैको कामको निरन्तरता अहिलेका मेयरले दिएका छन् । घर घरमा वृक्षरोपण गर्न, फूल बिरुवा लगाउन र आफ्नो घर अघि सडकका किनारामा रोपिएको वृक्षको संरक्षण गर्न र सकेमा पानी समेत हालिदिन नगरबासीमा मेयरको आग्रह छ ।

विश्व पृथ्वी दिवस
प्रत्येक वर्ष अप्रिल २२ लाई विश्व पृथ्वी दिवसका रुपमा मनाइन्छ । सन् २००९मा संयुक्त राष्ट्र संघको ६३औं महासभाले अप्रिल २२मा विश्व पृथ्वी दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । पृथ्वीको बढ्दो तापक्रम अहिले विश्वव्यापी चुनौती बन्दै गएको छ । वर्षेनी ०.१८ सेन्टिग्रेडका दरले पृथ्वीको तापक्रम बढ्दै गएको छ । तापक्रम बढ्दै जाँदा हिमशिखर पग्लँदै काला देखिन थालेका छन् भने गर्मी पनि अत्यधिक बढ्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्