पूर्वी नाकाबाट जडिबुटी निर्यात बढ्यो

बिर्तामोड– नेपालको पूर्वीपहाडी जिल्लामा उत्पादित जडिबुटीको निर्यातमा वृद्धि भएको छ । पछिल्लो समय नेपालको पूर्वीपहाडी जिल्लामा उत्पादित जडिबुटीको भारत, बंगलादेशमा माग बढेसँगै नेपाल प्रवेशको प्रमुख नाका मानिएको झापाको मेचीनगरस्थित काँकडभिट्टा नाकाबाट जडिबुटी निर्यातमा वृद्धि भएको हो ।
पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८०/०८१ को चैत मसान्तसम्म आठ करोडभन्दा बढी मूल्यको जडिबुटी भारत निकासी भएको मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना अधिकारी तथा भन्सार अधिकृत गणपति कँडेलले जानकारी दिए । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८०/०८१ को चैत मसान्तसम्म आठ करोड ९७ लाख रुपैयाँ मूल्य बराबरको तीन लाख ३३ हजार ६३२ किलोग्राम जडिबुटी निकासी भएको उनले बताए ।
पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८०/०८१ को चैत मसान्तसम्म एक करोड ४२ लाख ५१ हजार रुपैयाँ बराबरको ८६ हजार किलोग्राम जडिबुटी बंगलादेश, ६ करोड ४२ लाख ९१ हजार रुपैयाँ मूल्य बराबरको दुई लाख ४७ हजार ८२ किलोग्राम जडिबुटी भारत तथा एक करोड १२ लाख रुपैयाँ मुल्य बराबरको पाँच सय किलोग्राम जडिबुटी इटली निर्यात भएको उनको भनाइ छ ।
पूर्वीनाका काँकडभिट्टाबाट गत आर्थिक वर्ष २०७९/८० को को चैत मसान्तसम्म तीन करोड ८६ लाख ३८ हजार रुपैयाँ मूुल्य बराबरको २० लाख ८ हजार २६४ किलोग्राम नेपाली जडिबुटी निर्यात भएको उनले बताए । अघिल्लो आर्थिक वर्ष २०७९/०८० को नौ महिनाको तुलनामा चालु आर्थिक वर्ष २०८०/०८१ को सोही अवधिमा पाँच करोड ११ लाख रुपैयाँ बढीका एक लाख २५ हजार ६६८ किलोग्राम नेपाली जडिबुटी निर्यात भएको उनले बताए ।
अघिल्लो आर्थिक वर्ष २०७९/०८० को नौ महिनामा एक करोड १६ लाख रुपैयाँ मूल्य बराबरको ६७ हजार २४५ किलोग्राम जडिबुटी बंगलादेश, दुई करोड ५७ लाख रुपैयाँ मूल्य बराबरका एक लाख ३५ हजार ५४९ किलोग्राम जडिबुटी भारत र १२ लाख ५६ हजार रुपैयाँ मूल्य बराबरका पाँच हजार ४७० किलोग्राम नेपाली जडिबुटी भियतनाम निर्यात भएको उनले बताए ।
पछिल्लो समय भारतले विभिन्न बहानामा नेपालका कृषि तथा कृषिजन्य वस्तुको आयातमा अवरोध गरे पनि विभिन्न प्रकारका समस्या र अवरोधका बाबजुद पनि नेपालको पूर्वीपहाडी जिल्लामा उत्पादित जडिबुटीको निर्यातमा वृद्धि भएको खुशीको कुरा भएको उनले बताए । पूर्वीनाका काँकडभिट्टाबाट बंगलादेश, भारत, इटली र भियतनामलगायतका मुलुकमा नेपाली जडिबुटी निर्यात हुने गरेको बताउँदै उनले नेपालका पूर्वीपहाडी जिल्लामा उत्पादित जडिबुटी चिराइतो, मञ्जिथा, विशजारा, जट्टामसी, चुत्थ्रोजातका नेपाली जडिबुटी सबैभन्दा बढी निकासी भइरहेको जनाए ।
औषधी, साबुन, स्याम्पुजस्ता सामग्री बनाउन प्रयोग गरिने यी जडिबुटी भारतमा मात्र नभई बंगलादेशजस्ता तेस्रो मुलकमा पनि निर्यात भइरहेको उनको भनाइ छ । पछिल्लो समय बंगलादेशमा नेपाली जडिबुटीको माग बढेको र माग बढेसँगै पूर्वीनाका काँकडभिट्टाबाट जडिबुटी निर्यातमा समेत वृद्धि भएको उनको भनाइ छ ।
नेपालले जडिबुटी निकासीमा आन्तरिक तथा बाह्य क्षेत्रबाट झेल्नुपरेको अनेकौँ कठिनाइका बाबजुद नौ महिनामा यति ठूलो परिमाणमा जडिबुटी निकासी गर्न सफल हुनु सकारात्मक भएको मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताए । विविध कारणले जडीबुटी निकासी हरेक वर्ष घट्दै गए पनि यो वर्षबाट पुनः उकालो लाग्ने संकेत मिलेको उनको भनाइ छ ।
नेपाल सरकारले नेपाली कृषि तथा कृषिजन्य वस्तुको निर्यात प्रवर्द्धनका लागि व्यवसायीलाई सहुलियत दिएको उनको भनाइ छ । नेपालबाट भारततर्फ निकासी हुने जडिबुटी निर्यातमा वृद्धि भएको मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना अधिकारी तथा भन्सार अधिकृत गणपति कँडेलले जानकारी दिए । हिमाली क्षेत्रमा पाइने टिमुर, रिठ्ठा, पदम्चाल, चुत्रो, चिराइतो लगायतका जडिबुटी भारत, चीन, युरोपलगायतका देशमा निर्यात भइरहेको उनले बताए ।
भारतमा सबैभन्दा बढी रिठ्ठा, कुट्की, दालचिनी, पाखनवेद, चुत्रो बोक्रा, चुत्रो काठ, अमला, सिकाकाइ, पदमचाल, तेजपात, सुगन्ध कोकिला, अश्वगन्धा पाउडर, जटामसी मार्क, अमलवेद, टिमुर, सुगन्धवाल र क्यामोमाइल लगायतका जडिबुटी निकासी हुँदै आएको उनले बताए । पूर्वीपहाडी जिल्लामा उत्पादन भएका जडिबुटीको भण्डारण र विदेश निर्यातका लागि नेपालको पूर्वीनाका काँकडभिट्टा प्रमुख मानिन्छ ।