वीरगन्जमा पनि मेडिकल कलेजका विद्यार्थीको आन्दोलन «

वीरगन्जमा पनि मेडिकल कलेजका विद्यार्थीको आन्दोलन

वीरगन्ज-नेपाल सरकारले तोकेको शुल्कविपरीत मेडिकल कलेजहरुले विभिन्न बहानामा अतिरिक्त थप पैसा तिराउने गरेको भन्दै शुरु भएको आन्दोलन वीरगन्जमा आइपुगेको छ । सरकारले बढी शुल्क लिएका मेडिकल कलेजहरूलाई शुल्क फिर्ता गर्न दिएको समयावधि सकिन लाग्दा आन्दोलनमा रहेको चिकित्सा शिक्षा संघर्ष समितिले बिहीबार वीरगन्जमा प्रदर्शन गरेको हो ।
वीरगन्जको नेशनल मेडिकल कलेजामा अध्ययनरत विद्यार्थीहरूले शुल्क फिर्ता गर्न पटक पटक माग गर्दै आए पनि कलेजले कुनै सुनुवाई नगरेपछि आन्दोलनका शुरुवात गरेको कलेजका विद्यार्थीहरूले बताएका छन् । उनीहरूले मेडिकल कलेजका विद्यार्थीहरूले मात्रै आन्दोलन गर्दा आपूmहरूलाई कलेजका प्रबन्ध निर्देशकले हातपात समेत गर्न खोजेको आरोप लगाएका छन् । नेशनल मेडिकल कलेजका विद्यार्थीहरूको आन्दोलनलाई साथ दिन प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्दको नेतृत्वमा बिहीबार चितवन मेडिकल कलेजबाट आएका विद्यार्थीहरू सहित वीरगन्जमा प्रर्दशन गरेका हुन् ।
शुल्क फिर्ता गर्न माग गर्दा उल्टै विद्यार्थीहरूलाई नै धम्की दिने र हातपात गर्ने गरेको विद्यार्थीहरूको दुखेसो छ । आन्दोलनका क्रममा अस्पताल खटाइएका बाउन्सरहले विद्यार्थीहरूलाई कुटपिट पनि गरेका छन् । अस्पतालका कर्मचारीहरूले विद्यार्थीहरूलाई कुटपिट गर्ने, एप्रोन समेत च्यातिदिने, छात्राहरूलाई हातपात समेत गरेको आरोप लगाएका छन् । आन्दोलनपछि उनीहरू अस्पतालमा सुरक्षित नरहेको भन्दै चिन्तित भएका छन् ।
उनीहरूले सुरक्षाका लागि स्थानीय प्रशासनसँग सहयोग पनि मागेका छन् । विद्यार्थीहरूले जिल्ला प्रशासन कार्यालय पर्सामा सुरक्षाको माग राख्दै ज्ञापनपत्र बुझाएका छन् । उनीहरूले पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतलाई ज्ञापनपत्र बुझाउँदै शिक्षण अस्पतालमा निर्वाध रुपमा फर्किन पाउनुपर्ने वातावरण बनाउन माग गरेका थिए । ज्ञापनपत्र बुझेपछि स्थानीय प्रशासनले विद्यार्थीहरूको सुरक्षाका लागि सबै सुरक्षा निकायहरूलाई निर्देशन दिइसकेको सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए । उनले नेशनल मेडिकल कलेज शिक्षण अस्पतालका प्रबन्ध निर्देशक वसरुद्दीन अन्सारीलाई पनि विद्यार्थीहरूलाई अस्पतालको तर्फबाट कुनै किसिमको यातना नदिन र दिएमा कारवाही प्रकृया अगाडि बढाउने चेतावनी पनि दिएको बताए ।
सरकारले राजधानी बाहिरका मेडिकल कलेजमा एमबीबीएस अध्ययनका लागि ४२ लाख ५० हजार रुपैयाँ शुल्क तोकेको छ । कतिपय कलेजले ६० देखि ८० लाखसम्म विभिन्न नाममा लिएको गुनासो आएको छ । तर, नेशनल मेडिकल कलेजले एमबीबीएस १८ औं ब्याजको पहिलो वर्षका विद्यार्थीबाट अतिरिक्त शुल्क उठाएको विद्यार्थीहरूको भनाइ छ ।
एक विद्यार्थीका अनुसार होस्टल शुल्क, खाना, रजिष्ट्रेसन, ट्युसन लगायत भन्दै मेडिकल कलेजले मनपरी शुल्क उठाइरहेको हो । शुल्क नबुझाए परीक्षामा समस्या आउने भनेपछि मेडिकल कलेजले भनेबमोजिम शुल्क बुझाउन बाध्य भएको ती विद्यार्थीले बताए ।
विद्यार्थीले बुझाएको विवरणमा पाँच लाख रुपैयाँ लिखित रूपमै उठाएको पाइएको छ । नेसनल मेडिकल कलेजले परीक्षा, रजिष्ट्रेसन बापत ३५ हजार रुपैयाँ उठाएको छ । लाइब्रेरी शुल्क भन्दै ३५ हजार, ल्याब शुल्क ३५ हजार, ‘प्रमोसन’ बापत १ लाख २५ हजार, होस्टल ८५ हजार, मेस शुल्क ९० हजार, बिलम्ब शुल्क १६ हजार ८ सय र अन्य गरेर ४० हजार रुपैयाँ उठाएको छ ।
तोकिएको भन्दा बढी शिक्षण शुल्क लिने मेडिकल कलेजलाई एक महिनाभित्र शुल्क फिर्ता गर्न सरकारले निर्देशन दिएको छ । तोकिएको मितिमा शुल्क फिर्ता नगरे कारवाही गर्ने चेतावनी सरकारले दिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको पहलमा गृहमन्त्री रामबहादुर थापा सहितको सरकारी टोलीको सोमबारको बैठकले यस्तो निर्णय गरेको हो ।
केही समयदेखि सम्वन्धन दिने विश्वविद्यालय र सरकारलाई विद्यार्थीहरूले निजी क्षेत्रका मेडिकल कलेजले तोके भन्दा बढी शुल्क लिएको भन्दै गुनासो गरेपछि सरकारले बैठक नै बसेर औपचारिक रुपमा मेडिकल कलेजहरूलाई शुल्क फिर्ता गर्न निर्देशन दिएको हो । गृह मन्त्री थापाले २०७२ सालमा सरकारले निर्धारण गरेको शुल्क भन्दा बढी रकम लिने कलेजलाई रकम फिर्ता गर्न चेतावनी दिँदै त्यसो नगरे कानुनी कारवाही अगाडि बढाइने बताएका थिए ।

अस्पतालमा आन्दोलन गर्नु अराजकता हो : अध्यक्ष अन्सारी
निजी मेडिकल कलेजहरूले सरकारले गरेको निर्णय ऐन विपरित भएको भन्दै यसको विरोध गरेको मेडिकल कलेज एशोसिएसनका अध्यक्ष एवं नेशनल मेडिकल कलेजका प्रवन्ध निर्देशक वसरुद्दीन अन्सारीले बताए । उनले विद्यार्थीहरूसँग यो विषयमा निरन्तर छलफलमै रहेको अवस्थामा बाहिरबाट विद्यार्थीहरू आएर आन्दोलन गर्नु उचित नभएको बताए ।
उनले भने, “आन्दोलन भनेको प्रकृया नै हो । बाहिरको विद्यार्थी आएर कलेज र अस्पतालमा अवरोध गर्नु अराजकता हो । उनीहरू आफ्नो कलेजमा आन्दोलन गरुन् ।”

प्रतिक्रिया दिनुहोस्