मर्मतका लागि मध्यमस्र्याङदीको उत्पादन बन्द गरिने

७० मेगावाटको मध्यमस्र्याङदी जलविद्युत् केन्द्रको मर्मतका लागि उत्पादन बन्द गरिने भएको छ ।
केन्द्रको बाँधको बायाँतर्फको क्षेत्रमा भूक्षयलाई रोक्न राखिएको संरचना मर्मतका लागि १० फागुनबाट बन्द गर्न लागिएको हो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार, मर्मतका लागि ७ देखि १० दिनसम्म उत्पादन बन्द हुने भए पनि यसका कारणले आमउपभोक्तालाई लोडसेडिङ भने हुनेछैन । “उत्पादन बन्दका कारण कथंकदाचित प्रणालीमा कुनै समस्या आएमा विद्युत् आपूर्ति कहींकतै कुनै समय अवरुद्ध हुनसक्छ तर लोडसेडिङ भने हुँदैन,” उनले भने, “यस अवधिमा लोडसेडिङ हुन नदिन कुलेखानी पहिलो र दोस्रो विद्युत्गृह पूर्ण क्षमतामा चलाउनेलगायतका वैकल्पिक व्यवस्था गरेका छौं ।”
प्राधिकरणका अनुसार, कुलेखानी जलाशयमा पानीको सतह १५ सय २१.९८.मिटर छ, जुन गतवर्षको यही अवधिको लनामा करिब ३ं.८३ मिटर बढी हो । कुलेखानी पहिलोबाट ६० मेगावाट र दोस्रोबाट ३२ मेगावाट गरी ९२ मेगावाट विद्युत् उत्पादन हुन्छ ।
मध्यमस्र्याङदीको बाँधको बायाँतिरको भागमा पानीले हिर्काएर खोतल्दा पहिला बनाइएको संरचनामा क्षति पुगेको छ । थप क्षति हुन नदिन मर्मत गर्न लागिएको केन्द्र प्रमुख पशुपति गौतमले जानकारी दिए । “गतवर्ष नै मर्मत गर्न लागेका थियौं तर भार प्रेषण केन्द्र (एलडीसी)बाट विद्युत् व्यवस्थापनमा गाह्रो हुने बताएपछि रोकिएको थियो,” उनले भने, “यस वर्ष पनि गरिएन भने थप क्षति पुग्ने देखिएपछि सात दिनभित्र मर्मत सक्नेगरी एलडीसीबाट सट डाउन पाएका छौं ।” गौतमका अनुसार, मर्मतको काम २४ सै घण्टा तीन सिफ्टमा सञ्चालन हुनेछ ।
केन्द्रबाट विद्युत्को माग बढी हुने साँझ र बिहान (पिकआवर) मा ७० मेगावाट र अन्य समयमा करिब ३० मेगावाट विद्युत् उत्पादन हुन्छ । मध्यमस्र्याङ्दी अर्धजलाशययुक्त (पिकिङ रन अफ रिभर) आयोजना हो ।