Logo

भूकम्प प्रतिरोधी विद्यालय भवन निर्माण

जुम्ला– सिंजा क्षेत्रका तीन स्थानीय तहका पाँच वटा सामुदायिक विद्यालयमा भूकम्प प्रतिरोधी भवन निर्माण गरिएको छ । सिंजा क्षेत्रका हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकाका पाँचवटा सामुदायिक विद्यालयमा भूकम्प प्रतिरोधी भवन निर्माण गरिएको हो । बढ्दो भूकम्पीय जोखिम तथा बालमैत्री कक्षा कोठाको अभावले विद्यार्थीको आकर्षण घट्दै गएको अवस्थालाई मध्यनजर गर्दै भूकम्प प्रतिरोधी भवन निर्माण गरिएको पेश नेपाल जुम्लाका कार्यकारी निर्देशक किशोर न्यौपानले बताए ।

हिमाको वडा नं. ७ स्थित महादेव आधारभूत विद्यालय र वडा नं. ३ जोगीबाडाको भैरव आधारभूत विद्यालय, सिंजाको वडा नं. ६ जोडुस्थित माध्यमिक विद्यालय र कनकासुन्दरीको वडा नं. ४ लेकपोरको भैयलपाटा आधारभूत विद्यालय र वडा नं. ६ को गुरुचौर आधारभूत विद्यालय गरी पाँचवटा विद्यालयमा सुविधायुक्त भवन निर्माण गरिएको हो ।

प्लान इन्टरनेसनल नेपालको सहयोगमा पेश नेपालद्वारा सञ्चालित आधार परियोजनाको झण्डै तीन करोडको लगानीमा पाँच सामुदायिक विद्यालयमा भूकम्प प्रतिरोधी भवन निर्माण गरिएको कार्यकारी निर्देशक न्यौपानले उल्लेख गरे । जसमा सिञ्जा–६ जोडु गाउँको माध्यमिक विद्यालय ६५ लाख ३३ हजार, हिमा–७ को महादेव आधारभूत विद्यालय र वडा नं. ३ जोगीबाडाको भैरव आधारभूत विद्यालयमा एक करोड २४ लाख लगानीमा भवन निर्माण भएको हो ।

त्यस्तै, कनकासुन्दरी–४ लेकपोरको भैयलपाटा आधारभूत विद्यालय र वडा नं. ६ को गुरुचौर आधारभूत विद्यालयमा एक करोड २२ लाख लागतमा भूकम्प प्रतिरोधी भवन निर्माण भएको छ । पाँचवटै नयाँ निर्माण भएका चारकोठे भवनमा लेकपोरको विद्यालयबाहेक अरु भवनमा भौतिक सामग्रीको पनि व्यवस्थापन पनि गरिएको छ ।

मैत्रीपूर्ण शौचालय, हात धुने स्टेसन, शुद्ध खानेपानी सुविधा, सुधारिएको बच्चा, मोडेल कक्षाकोठा बालमैत्री, अपांगमैत्री, छात्रछात्रामैत्री, अपांगमैत्री शौचालय, बालबालिकाको पहुँचयुक्त धारा, सिकाइमैत्री कक्षाकोठासहितको सुविधा पाँचवटै भवनमा छन् । सामुदायिक विद्यालयप्रतिको आकर्षण बढाउन आधार परियोजनामार्फत बालबालिका आकर्षित हुने खालका संरचना र व्यवस्थापन गरिएको कार्यकारी निर्देशक न्यौपानको भनाइ छ ।

गत वर्ष असोजको बेमौसमी वर्षाले विद्यालय भवनमा क्षति भएपछि खुला चौरमा बसेर पढ्न बाध्य विद्यार्थीलाई नयाँ भवन निर्माणले राहत मिलेको सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए । उनले भने, ‘सबै सुविधासहित भूकम्प प्रतिरोधी भवन निर्माण भएको छ । अब पठनपाठनमा सहज हुने आशा छ । आवश्यकता मध्यनजर गरी भवन निर्माण भएका छन् । सबै पालिकाले संरक्षणसँगै प्रयोगमा ल्याउन आवश्यक छ ।’

धेरै वर्ष पुराना जीर्ण भवनमा पठनपाठन गर्न बाध्य दुर्गमका सामुदायिक विद्यालय नयाँ भवन पाएपछि निकै उत्साहित भएका छन् । हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले भूकम्प, बाढी पहिरोले जीर्ण हुँदै गएका विद्यालयमा नयाँ भवन निर्माणले राहत पुर्‍याएको बताए । सीमित स्रोतले सबै आवश्यकता पूर्ति गर्न पालिकाले लगानी गर्ने अवस्था छैन ।

स्थानीय तहलाई माथि उठाउन, शैक्षिक, आर्थिक सामाजिक विकास र समृद्धिमा गैरसरकारी संस्थाको सहयोग अतुलनीय रहेको उनको भनाइ छ । सरकारले भूगोलअनुसार बजेट नदिँदा दुर्गम क्षेत्रको अपेक्षाकृत विकास हुन सकेको छैन । विकास साझेदार निकायसँग समन्वय गरी पालिकाले गर्न नसक्ने विकासका आयोजना अघि बढाउन जरुरी रहेको अध्यक्ष शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस्