Logo

गौतबुद्ध विमानस्थल पूर्ण सञ्चालनमा सरकार उदासीन

भैरहवा– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनमा आउन नसक्नुमा सरकार उदासीन रहेको बताइएको छ । सिद्धार्थ उद्योग वाणिज्य संघद्वारा ‘रुपन्देही क्षेत्रका आर्थिक मुद्धा, समस्या र समाधान’ विषयमा आयोजित छलफल कार्यक्रममा सहभागीहरूले सो कुरा बताएका हुन् । उनीहरूले सरकार र राजनैतिक दलप्रति विमानस्थलका कारण वितृष्णा फैलिएको र यस क्षेत्रका व्यवसायी मात्र नभइ सर्वसाधारणमा पनि नैराश्यता छाएको टिप्पणी गरे ।

कार्यक्रमका मुख्य अतिथि रहेका पूर्व मन्त्री एवं नेकपा एसका महासचिब घनश्याम भुसाललाई अभिभावकको रूपमा रही विमानस्थल पूर्ण रुपमा सञ्चालनको लागि पहलकदमी गर्न समेत उनीहरूले आग्रह गरे । सहभागीहरूले भैरहवा र पोखराको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न नखोजी फेरि निजगढमा अर्को अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा सरकार जुटनु भनेको सरकारको नियत सफा नरहेकोमा जोड दिए ।

संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले गत वर्ष बुद्ध पूर्णिमाका दिन प्रधानमन्त्री पुष्पकमल दाहाललाई लुम्बिनीमा ज्ञापन पत्र बुझाउँदै विमानस्थल सञ्चालनको आग्रह गरिएकोमा जेठको अन्तिमबाट मलेसिया–भैरहवा–काठमाडौं साताको एक दिन उडान सुरु भएको बताए । अब त्यसलाई नियमित गर्न नसके पनि तत्कालका लागि दुई तर्फी उडान गराउन पहलका लागि पूर्व मन्त्री भुसाललाई आग्रह गरे ।

अध्यक्ष श्रेष्ठले सहज रुट अभावमा वायुसेवा कम्पनी आउन नचाहेको देखिएकोले भारतसँग नयाँ हवाई रुटको लागि सम्झौता गर्नु पर्ने, उडान अवतरणमा प्रयोग हुने आईएलएस उपकरणको तत्काल प्रयोग, श्रम रोजगारका लागि पहिलो पटक विदेश जानेहरूको स्वस्थ्य परीक्षण काठमाडौमा मात्र हुने गरेकोमा अब भैरहवा, बुटवलका स्वास्थ्य संस्थामा समेत गर्न सकिने व्यवस्था सरकारले तत्काल गर्नु पर्ने बताए ।

सो अवसरमा पूर्व मन्त्री भुसालले २०५४ सालमा १७६ जना सांसदहरूको हस्ताक्षरसहित भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता भएको जानकारी दिँदै निर्माणका लागि ज्ञापन पत्र बुझाएको स्मरण गराए । कोरोनाका कारण विश्वका कतिपय स्थानमा निर्माण सम्पन्न भएका विमानस्थलहरूको अवस्था भैरहवाको जस्तै रहेको भन्दै निराश नहुन उनले सबैमा आग्रह गरे ।

उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले विमानस्थल चलायमान नहुँदा आर्थिक क्षेत्रको झिनो आशा पनि बुझ्न थालेको भन्दै राजनीतिक नेतृत्व विमानस्थलको विषयमा क्रियाशील नभएको जिकिर गरे । संघका निवर्तमान अध्यक्ष एवं उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य भिष्म न्यौपानेले नेता भुसाललाई अभिभावकको रुपमा रही विमानस्थल सञ्चालनमा पहल गर्न आग्रह गरे ।

पर्यटन व्यवसायी एवं सोटो लुम्बिनी प्रदेशका सस्थापक अध्यक्ष सञ्जय बजिमयले विमानस्थल अलपत्र भएको भन्दै सरकारले बाध्यकारी नियम बनाएर भए पनि हवाई सेवा कम्पनीहरूलाई उडान गराउन बाध्य पार्नु पर्ने बताए । काठमाडौंबाट दैनिक ३ भन्दा बढी अन्तर्राष्ट्रिय उडान एकै स्थानमा गर्ने विमान सेवा कम्पनीहरूले एक उडान काठमाडौं बाहिरबाट अनिवार्य गर्नु पर्ने प्रावधान रहे पनि लागु हुन नसकेको उनको भनाइ थियो ।

नाटा नेपाल लुम्बिनी प्रदेशका पूर्व अध्यक्ष एवं पर्यटन व्यवसायी सागर अधिकारीले विमानस्थल सञ्चालनका विषयमा आफूहरूले अध्ययन गरी प्रतिवेदन मन्त्रालयमा बुझाएको भन्दै त्यो प्रतिवेदन अध्ययन गरी अघि बढेमा सञ्चालन गर्न सहज हुने बताए । उनले अहिले एकतर्फी चलिरहेको नेपाल वायु सेवा निगमको जहाज दुई तर्फी उडान हुनु पर्ने बताए ।

संघका पूर्व अध्यक्ष महेन्द्रकुमार श्रेष्ठले चीन, थाइल्यान्ड, जापान, दक्षिण कोरिया, श्रीलंका भियतनाम कम्बोडिया म्यानमार जस्ता बढी बुद्धिष्ट भएका देशहरूबाट सिधैं भैरहवा उडान सुरु गर्न आवश्यक पहल कूटनीतिक स्तरबाट हुनु पर्नेमा जोड दिए ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कुलप्रसाद न्यौपाने, उद्योग व्यापार संगठन रुपन्देहीका राममिलन यादव, व्यवसायीहरू चन्द्रमान श्रेष्ठ, लुम्बिनी निर्माण व्यवसायी संघका अध्यक्ष मञ्जु भुसाल, संघका महासचिव कृष्णप्रसाद घिमिरे, वाणिज्य उपाध्यक्ष नेत्रप्रसाद आचार्यलगायतले भैरहवा क्षेत्रका आर्थिक मुद्धाको पहल गर्न केन्द्रमा बोलिदिने कोही नभएको बताउँदै सरकारले सक्रिय भूमिका निर्वाह गर्नु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्