Logo

प्रतिदिन झण्डै चार अर्ब व्यापार घाटा

काठमाडौं– चालु आर्थिक वर्षको चैतसम्ममा व्यापार घाटा औषतमा दैनिक झण्डै चार अर्ब रुपैयाँ पुगेको छ । यो अवधिमा मुलुकको कुल व्यापार घाटा भने १० खर्ब ५३ अर्ब नाघेको छ । यो भनेको दैनिक औषत ३ अर्ब ९० करोड रुपैयाँ हो ।

भन्सार विभागका अनुसार यो चैतसम्ममा कुल आयात ११ खर्ब ६७ अर्ब रुपैयाँ पुग्दा निर्यात एक खर्ब १३ अर्बको मात्र भएको छ । चैतमा व्यापार घाटा १ खर्ब २३ अर्ब भएको छ । अघिल्लो महिनासम्म कुल व्यापार घाटा ९ खर्ब २९ अर्ब थियो ।
विभागका अनुसार कुल वैदेशिक व्यापारसहित आयात, निर्यात र व्यापार घाटालगायत सबै सूचकांक नवौं महिनामा पनि ओरालो लागेका छन् ।

कुल वैदेशिक व्यापार अघिल्लो आवको सोही अवधिको तुलनामा २.९२ प्रतिशतले घटेको छ भने आयातमा २.८४ प्रतिशत र निर्यातमा ३.६६ प्रतिशतको गिरावट आउँदा व्यापार घाटामा पनि २.७५ प्रतिशतले कमी आएको छ । नेपालले १७० मुलुकसँग अघिल्लो चैतसम्म १३ खर्ब १९ अर्बको व्यापार गरेकोमा चालु आवको चैतसम्म १२ खर्ब ८१ अर्बको गरेको छ । कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा अघिल्लो वर्ष ८.९६ प्रतिशत रहेकोमा चालु आवमा ८.८९ प्रतिशतमा झरेको छ । यसले वैदेशिक व्यापार कमजोर बन्दै गइरहेको सन्दर्भमा स्वदेशी वस्तुको निर्यात झनै ओरालो लागेको देखिएको छ ।

पूर्व वाणिज्य सचिव पुरुषोत्तम ओझा वस्तुको निकासीमा तलमाथि हुने मुख्य कारण केही सीमित उत्पादनहरु जस्तो– वनस्पति घ्यू तथा तेल, गलैंचालगायत भएको र तिनीहरु पनि दीर्घकालीन नभएको बताउँछन् । ‘नेपाल–भारत व्यापार सन्धिका कारण सुविधा लिएका केही वस्तुमात्रै निर्यात हुने गरेका छन्, अब दायरा बढाउनुपर्छ । स्वदेशमै गुणस्तर सुधार र उत्पादनमा विविधता आवश्यक भइसकेको छ,’ उनले भने, ‘यसका साथै नेपाल व्यापार एकीकृत रणनीति (एनटीआईएस) पहिचान गरेका वस्तुमा फोकस गर्नुपर्छ । देशमै औद्योगिकीरण गरेर ऊर्जा खपतमा जोड सकियो भने यसले रोजगारी पनि बढाउँछ ।’

चैतसम्म २ खर्ब ११ अर्ब रुपैयाँको इन्धन आयात भएको तथ्यांक छ । जसमा १ खर्ब ३ अर्बको डिजेल, ५० अर्ब २५ करोडको पेट्रोल, ४१ अर्ब रुपैयाँको एलपी ग्यास र १५ अर्ब ६१ करोडको हवाई इन्धन छ । यस्तै, ८९ करोड ९२ लाखको मटीतेल आयात भएको तथ्यांक छ । यस अवधिमा अवधिमा नेपालबाट निकासी भएका प्रमुख वस्तुहरुमा फलाम तथा फलामका उत्पादनहरु, यार्न, ऊनी गलैंचा, तयारी पोशाक, जुस, अलैंची, प्लाइउड, जुट तथा जुटका सामान, उनी फेल्टका उत्पादन, पामतेल, चिया, पस्मिना सल, कुकुर बिरालाका आहार, पिना, जडीबुटी, कपडा, पास्ता तथा चाऊचाऊ, सिमेन्ट–क्लिंकर र तामा तथा तामाका उत्पादन प्रमुख रुपमा रहेका छन् ।

पूर्व उद्योग तथा वाणिज्य सचिव चन्द्र घिमिरे देशभित्र आन्तरिक र बाह्य दुवै लगानीको वातावरण नबनाई उत्पादन नबढ्ने र व्यापार घाटाको ‘ग्याप’ घटाउन नसकिने बताउँछन् । ‘माइक्रोइकनोमिक पोलिसी’ तथा अन्य क्षेत्रगत नीतिहरुले पनि उत्पादनशिल क्षेत्रको आवश्यकतालाई सम्बोधन गर्न सक्ने भएमात्रै उत्पादन बढाउन सकिन्छ । अन्यथा औद्यागिक नीतिले मात्रै उत्पादन बढ्दैन, आयात प्रतिस्थापन गर्न सक्दैन । निर्यात बढाउने सवालमा आर्थिक कूटनीति कमजोर भयो । कूटनीतिक नियोग र कर्मचारी थप्ने तर परिणाम त्यसअनुसार हुन सकेन । यसमा सुधार गर्नैपर्ने आवश्यकता देखिएको छ,’ उनले भने ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल वर्षेनी व्यापार घाटा बढ्दै गएकोले सरकारले वित्तीय तथा मौद्रिक नीतिमार्फत नै उत्पादन वृद्धि गर्ने र स्वदेशमै रोजगारी सिर्जना गर्ने खालका नीतिगत व्यवस्थामा ध्यान दिनुपर्ने बताउँछन् । ‘निजी क्षेत्रले पनि आफ्नो ठाउँबाट लगानी गरिरहेको छ । थप हौसला र सहजीकरणमा सरकारको भूमिका महत्वपूर्ण हुन्छ । सरकारले उद्यममैत्री कानुनी व्यवस्थामा सहजता प्रदान गर्ने हो भने धेरै लगानी निकट भविष्यमा बढ्न सक्ने पर्याप्त ठाउँ छ,’ उनले भने ।

अमेरिकासँग घाटा झन् फराकिलो
चालु आर्थिक वर्षको सुरुदेखि नै नेपालले अमेरिकासँगको व्यापारमा नाफा कमाए पनि फागुनबाट सुरु भएको घाटा चैतमा झन् फराकिलो बनेको छ । फागुनसम्मको व्यापारमा नेपालले अमेरिकासँग ८० करोड ३६ लाख घाटा व्यहोरेको थियो भने चैतमा १ अर्ब २० करोड थपिएर २ अर्ब ४० लाख रुपैयाँ पुगेको छ । अमेरिकाबाट १४ अर्ब ५० करोडको आयात भएको छ भने १२ अर्ब ५० करोडको निर्यात भएको छ ।

नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार भारतसँग चैतसम्म नेपालले ६ खर्ब ५१ अर्ब घाटा व्यहोरेको छ । फागुन मसान्तसम्म भारतसँगको घाटा ५ खर्ब ६९ अर्ब थियो । भारतबाट ७ खर्ब २९ अर्बको वस्तु आयात गर्दा ७७ अर्ब ८५ करोडको निकासी गरेको छ । दोस्रो ठूलो व्यापारिक साझेदार मुलुक चीनसँगको व्यापार घाटा २ खर्ब १४ अर्ब पुगेको छ । चीनबाट २ खर्ब १६ अर्बको सामान आयात हुँदा निकासी भने २ अर्ब ११ करोडमा सीमित छ ।

प्रतिक्रिया दिनुहोस्