कामना बैंकद्वारा स्वास्थ्य प्रयोगशाला हस्तान्तरण

काठमाडौं– कामना सेवा विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पोखरा विश्वविद्यालय, शिक्षण अस्पताल, पोखरामा स्वास्थ्य प्रयोगशाला निर्माण गरी हस्तान्तरण गरेको छ ।
पोखरा विश्वविद्यालय, शिक्षण अस्पतालमा पोखरा विश्वविद्यालयका उपकुलपती प्रा.डा.प्रेमनारायण अर्यालको आतित्थ्यतामा उक्त हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो । स्वास्थ्य प्रयोगशाला उपकुलपती अर्यालको समुपस्थितीमा बैंकका सञ्चालक बलराम बरालले विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा.दिपक वहादुर भण्डारीलाई हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा उपकुलपती अर्यालले विश्वविद्यालयको विकास, कर्मचारीहरुले प्राप्त गर्ने बैंकिङ सेवामा बैंकको उत्कृष्ट योगदान भएको बताए । विश्वविद्यालय स्थापनादेखि नै शिक्षण अस्पताल स्थापनाको सपना देखिएको भए पनि हाल शिक्षण अस्पतालले एक सय शैयाको सञ्चालन अनुमती प्राप्त गरिसकेको जानकारी गराए । कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार भण्डारीले बैंकले आफ्ना विभिन्न कार्यक्रमहरुमा विश्वविद्यालयलाई पुर्याएको योगदानको कदर गरे ।
हस्तान्तरण कार्यक्रममा बैंकका सञ्चालक बरालले सामाजिक उत्तरदायित्वअन्तर्गत विश्वविद्यालयसँग जोडिन पाएकोमा खुशी व्यक्त गरे । विश्वविद्यालयको शैक्षिक विकास, कर्मचारीहरुको वित्तीय पहुँच तथा वित्तीय सेवा, सामाजिक सेवा तथा विद्यार्थीहरुको शैक्षिक भविष्यको साझेदार बन्न पाएकोमा बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले खुशी व्यक्त गरेका थिए । थकालीले आगामी दिनमा विश्वविद्यालयसँग साझेदारी गर्दै अन्य कार्यक्रममा समेत साझेदारी गर्ने बताए ।