रैथाने बाली संरक्षण र प्रवर्द्धन गर्दै मकवानपुरगढी
गाउँपालिकाले लिन्छ मूल्यको जिम्मेवारी

हेटौंडा– रैथाने बालीको संरक्षण र प्रवर्द्धनमा मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले उदाहरणीय कार्य गरिरहेको छ । कोदो, फापर, जुनेलोजस्ता हराउँदै गएका पौष्टिकतायुक्त अन्न बाली उत्पादन गर्न किसानलाई प्रोत्साहन गर्नुका साथै मूल्यको समेत निश्चितता गरिदिएपछि किसान दंग परेका छन् । हराउँदै गएका बालीको व्यावसायिक खेती हुन थालेको छ ।
विगत तीन वर्षदेखि गाउँपालिकाले कोदो, जुनेलो, धानकोदो र फापरको न्यूनतम समर्थन मूल्य तोक्दै आएको छ भने गाउँपालिकाले सहकारीमार्फत खरिद गराई किसान र सहकारीलाई थप अनुदानसमेत दिँदै आएको गाउँपालिकाका कृषि शाखाका प्रमुख चन्द्रकान्त चौधरीले जानकारी दिए ।
‘हामीले आर्थिक वर्ष २०७७/०७८ देखि नै कोदो र फापरको न्यूनतम समर्थन मूल्य तोकिदिएर सहकारीमार्फत उत्पादन खरिद गर्ने व्यवस्था गरेका हौँ, अहिले कोदो, फापरसँगै धानकोदो र जुनेलोको पनि समर्थन मूल्य तोकेर खरिदबिक्री भइरहेको छ ।’ कृषि शाखा प्रमुख चौधरीले भने, ‘किसानले उत्पादन गरेका बालीको राम्रो मूल्य पाउने निश्चितता भएपछि व्यावसायिक रूपमा खेती गर्ने बढिरहेका छन् ।’
गढीका किसानले हाल डेढ बिघा क्षेत्रफलसम्म कोदोखेती गर्दै आएका छन् । पालिकाभित्र अनुमानित तीन सय हेक्टर क्षेत्रफलमा कोदोखेती हुँदै आएको कृषि शाखा प्रमुख चौधरीले बताए । गाउँपालिकाले चालु आर्थिक वर्षका लागि कोदो र धान कोदोको मूल्य प्रतिकिलो ५४ रुपैयाँ, जुनेलोको ८४ र फापरको एक सय रुपैयाँ मूल्य तोकेको थियो । न्यूनतम समर्थन मूल्य निर्धारण भएपछि गाउँपालिकाले सूचनामार्फत इच्छुक फर्म र सहकारीलाई आह्वान गर्ने गरेको छ ।
सोअनुरुप गाउँपालिकामै रहेको दुईवटा सहकारीले बर्सेनि ती उत्पादन खरिद र बिक्री गरिरहेका छन् । अपांग तथा विपन्न कृषि सहकारी संस्थाले गाउँलेका सबै कोदो खरिद गरी कोदोको पीठोको ब्रान्डिङ गरी बजार पठाउने गरेको छ भने एकता स्वावलम्बन कृषि सहकारीले फापर र जुनेलो खरिद गरी बिक्री गर्ने गरेको छ । न्यूनतम समर्थन मूल्य तोकिएका अन्नबालीमा गाउँपालिकाले थप प्रतिकिलो १० रुपैयाँ अनुदानसमेत दिँदै आएको छ ।
सो अनुदान रकममध्ये प्रतिकिलो ६ रुपैयाँ किसानले पाउनेछन् भने चार रुपैयाँ खरिद गर्ने कृषि सहकारीले पाउने गरेका छन् । गाउँपालिकाले चालु वर्ष अन्नबाली खरिद बिक्रीका लागि पाँच लाख रुपैयाँ अनुदान छुट्याएको कृषि शाखाले जनाएको छ । चालु आवको चैत समान्तसम्मको तथ्यांकअनुसार सहकारीहरुमार्फत आठ टन फापर, सात टन कोदो र एक टन जुनेलो संकलन भएको छ ।
भेटियो लोपोन्मुख कोदोको प्रजाति
रैथानेवाली प्रवर्द्धन एवम् संरक्षण गर्ने मकवानपुरगढी गाउँपालिका–८ बुढीचौरमा लोपोन्मुख कोदो प्रजातिको घोगे (पर्ल मिल्लेट) फेला परेको हो । बुढीचौरका किसान डेमा स्याङ्तानको घरमा घोगे फेला परेको मकवानपुरगढी गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताए ।
‘हामीले स्थानीयस्तरमा पाइने बीउ संकलन गरिरहेका छौं, यहाँ पाइएको रैथानेवाली र बीउको संरक्षण र प्रवर्द्धन गर्दै आएका छौं,’ चौधरीले भने, ‘यसै क्रममा कोदो बालीको लोपोन्मुख एक प्रजाति पनि फेला पारेका छौँ ।’ मकवानपुरगढीमा हालसम्म विभिन्न ६ थरिका कोदोको प्रजाति भेटिएको उनले बताए । बुढीचौरमा किसान स्याङ्तान घरमा भेटिएको घोगे सीमित भएकाले यसको बीउ संरक्षणका लागि पालिकाले काम गर्ने चौधरीको भनाइ छ ।
किसान स्याङ्तानका अनुसार घोगेलाई तामाङ भाषामा तोड्ने भन्ने गरिन्छ । यसको वैज्ञानिक नाम ‘सेञ्चुरस अमेरिकानस’ हो । नेपालमा पाइने रैथानेबालीमध्ये पर्ल मिलेट एउटा लोपोन्मुख बाली हो । अहिलेका पुस्तामध्ये कतिपयले यस बालीलाई देखेकासमेत छैनन् । पर्ल मिलेट नेपालमा हाल खासै पाइएको छैन । पौष्टिकताको हिसाबले भरिपूर्ण यो बाली सबैभन्दा बढी भारतमा खेती गरिन्छ । भारतपछि यसको सबैभन्दा बढी उत्पादन गर्ने देश अफ्रिका हो । यसको उत्पादन अफ्रिकाबाट सुरु भएको मानिन्छ । यसलाई हिन्दीमा बाजरा भनिन्छ ।
विशेषगरी भारतको तमिल र कर्नाटक क्षेत्रमा पाइने चर्चित परिकारमा यसको प्रयोग गरिन्छ । यसबाट विशेषगरी रोटी तयार पारिन्छ । साथै खानाका अन्य परिकारसँगै बियर बनाउन पनि यसको प्रयोग हुन्छ । यसको अन्नसँगै अन्य भागको पनि महत्व छ । यसको बोट इन्धन तथा अन्य घरायसी कामका लागि पनि प्रयोग गरिन्छ । यसमा प्रशस्त मात्रामा प्रोटिन पाइन्छ । सुक्खा र गर्मी स्थानमा समेत खेती गर्न सकिने भएकोले यो रैथाने बालीको छुट्टै महत्व छ ।
राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्रका अनुसार नेपालमा हालसम्म खेती गरिएका र जंगली गरी कुल २० खाले कोदोजन्य बालीको पहिचान गरिएको छ । त्यसमध्ये ११ खाले कोदोजन्य बाली खेती भइरहेका छन् भने नौ खाले चाहिँ जंगली हुन् । मानव उपभोगका लागि खेती भइरहेका बालीमा कोदो, चिनो, कागुनो, जुनेलो, घोगे, धानकोदो, झुसे कागुनो, बाँसपाते कोदो, भीरगाउँले र कोदीलगायत रहेका छन् । त्यस्तै जंगलीमा बन्सो, टुडे, सामा, कोदेझार, जंगली जुनेलो, वनघोगे, कनिके कागुनो र जंगली चिनोलगायत छन् ।